भद्रपुर, ११ पुसः 'खाने मुखलाई जुंगाले छेक्दैन' भन्ने उदाहरण पेश गरेकी छिन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले ।
उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट आफैंले बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् ।
घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि अशिकाले एक्लै आँटगरी चर्पी निर्माण गरेको देखेर गाउँका मानिस पनि छक्कपरेका छन् । शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो ।
चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाउन सहयोग गरेका थिए । सुकुम्बासी अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरिन् र सधैँ खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यतालाई पनि सधैँका लागि बिदा दिइन् ।
“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुको मद्दत लिएर खाडल खन्यौं।”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले खाडल बनाउन र रिङ राख्न मद्दत गर्नुभयो, यसरि चर्पी बन्यो ।”
अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ । चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ-बिहान दिसा हुने खुल्ला ठाउँमा स्थानमा गस्ती गरिरहेका छन् ।
जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाले चर्पीमा मात्र दिसापिसाब गर्न र साबुन पानीले हात धुन सुझाइरहेका छन् । समुदायका युवा र वडास्तरीय समितिका प्रतिनिधि खुल्ला दिसामुक्त घोषणाको तयारीमा लागेका छन् ।
“एक जुगमा एक पटक हुने खुल्ला दिसामुक्त घोषणालाई सभ्य र भव्य तरिकाले मनाउने तयारीमा वडाहरु लागेका छन्”, पाँचगाछीमा नै रहेर अभियान सहजीकरण गरिरहेको सगरमाथा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्यले बताए ।
दुई हजार ४३२ घरधुरी रहेको पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि एक हजार ४८७ घरधुरीमा सुरक्षित चर्पी थिए भने खुल्ला दिसामुक्त अभियानका क्रममा ९४५ घरमा सुरक्षित शौचालय निर्माण गर्नुपर्ने भए पनि बसाइँ सराइ र संयुक्त शौचालय प्रयोग गरेकाकारण ८१८ घरायसी शौचालय निर्माण गरी पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पुर्याएको वडा नं ४ का अध्यक्ष अधिकचन ताजपुरियाले जानकारी दिए ।
–––



