काठमाडौं । प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएसंगै दलहरूमा मुख्य मन्त्री को बन्ने भन्ने छलफल र इच्छितहरूको दौड पनि सुरु भएको छ । प्रदेश १ र प्रदेश ३ मा एमालेको एकल बहुमत आउने स्थिति पछि एमालेका नेताहरू नै मुख्यमन्त्रीको दौडमा कस्सिएका छन् । वाम गठन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा सरकार बनाउने स्थिति छ ।
त्यसमा प्रदेश १ र प्रदेश ३ एमालेको एकलौटी सरकार बन्न सक्छ । त्यसले गर्दा वाम गठबन्धनपभित्र पनि कुन दलले कुन प्रदेशको मुख्य मन्त्री पाउने सहमति अहिलेसम्म जुटेको छैन ।
निर्वाचन पहिला एमाले र माओवादीबीच एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने गरी सहमति भएको थियो । तर, चुनावी परिणामले प्रदेश १ र ३ मा एमालेको एकल बहुमत आयो र अन्य प्रदेशमा पनि एमालेलाई एक÷दुई सीटमात्रै अपुग भएको छ । त्यसले गर्दा मुख्यमन्त्री दावी गर्न माओवादीलाई समस्या देखिएको छ ।
एमाले र माओवादीबीच के सहमति हुदैछ ?
एमाले र माओवादीबीच अहिले मुख्यमन्त्री बाँडफाँडबारे गम्भीर छलफल सुरु भएको छैन । तर, केही छलफल र बहस भने सुरु भएको छ । यी दुई दलबीच प्रदेश नम्बर २ मा बाहेकका अन्य प्रदेशका भागवण्डामा उनीहरूबीच छलफल हुँदैछ ।
त्यसले गर्दा बाँकी रहेका ६ वटा प्रदेशमध्ये एमालेले ५ वटा प्रदेशमा मुख्यमन्त्री पाउने संभावना छ । माओवादीले पहिला प्रदेश ६ र ७ को मुख्यमन्त्री दावी गरे पनि प्रदेश ७ मा माओवादीले १२ सीटमात्रै जितेको छ । उक्त प्रदेशमा एमालेले नै धेरै सीट जितेपछि अहिले माओवादीले उक्त प्रदेशको मुख्यमन्त्री पाउने संभावना कम भएको छ ।
अहिलेसम्म माओवादीले प्रदेश नम्बर ६ मा मात्रै मुख्यमन्त्री दावी गर्ने अवस्था छ । एमालेले पनि उक्त प्रदेशमा मात्रै सजिलै मुख्यमन्त्री दिने संभावना छ । एमालेले प्रदेश १ र ३ मा एकल सरकार बनाउनेछ । प्रदेश १ मा ९३ सदस्यीय प्रदेश सभामा ४७ सीट आवश्यक पर्छ प्रदेश सरकार बनाउन । तर, एमालेले उक्त प्रदेशमा समानुपातिकसहित ५२ सीट जित्ने संभावना छ । प्रदेश २ भने संघीय समाजवादी फोरम र राजपा गठबन्धनको सरकार बन्नेछ ।
त्यो अवस्थामा प्रमुख तीन दल सरकारबाहिर रहनसक्नेछ । १०७ सदस्यीय प्रदेश सभा दुईमा फोरमको २९ र राजपाको २४ सीट हुने यो प्रदेशमा सरकार बनाउन ५४ सीट आवश्यक पर्छ । त्यो अवस्थामा एक सीट अपुग हुन्छ । एक जना स्वतन्त्र निर्वाचित भएकोले ती सदस्यलाई मन्त्री नै दिने सर्तमा आफ्नो पक्षमा लिएर सरकार बनाउन सक्छन् । त्यो अवस्थामा तीन प्रमुख दल सरकारबाहिर बस्न पर्ने हुन्छ । त्यसैगरी, प्रदेश नम्बर ३ मा एमालेको एकल सरकार बन्नेछ ११० सदस्यीय प्रदेश सभामा एमालेको ५९ सीट हुनेछ ।
प्रदेश ४ मा एमाले र माओवादी मिलेर सरकार बनाउन सक्छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सीट आवश्यक पर्छ सरकार बनाउन । एमाले र माओवादीले यो प्रदेशमा २७ र १२ सीट जितेका छन । साथमा नयाँ शक्ति र जनमोर्चाका पनि सीट छन । प्रदेश नम्बर ५ मा पनि एमालेलाई केही सीटमात्रै अपुग देखिन्छ । ८७ सदस्यीय प्रदेश सभामा ४४ सीट आवश्यक पर्छ सरकार बनाउन ।
एमाले र माओवादीको यो प्रदेशमा ४१ र २२ सीट छ । साथै, ४० सदस्यीय ६ नम्बर प्रदेश सभामा २१ सीट आवश्यक पर्छ सरकार बनाउन । त्यो अवस्थामा एमाले र माओवादीको २० र १३ सीट छ । सोही कारण एमाले र माओवादी गठबन्धनको सरकार बन्न सक्छ । र, प्रदेश नम्बर ७ मा पनि एमाले र माओवादी गठबन्धनको सरकार बन्न सक्छ । ५३ सदस्यीय प्रदेश सभामा २७ सदस्य आवश्यक पर्छ सरकार बनाउन । त्यसमा एमालेसंग २४ र माओवादीसंग १२ सीट छ ।
को को दावेदार
अहिले मुख्यमन्त्रीका दावेदारकारुपमा पार्टीभित्र नेताहरू सार्वजनिक दावी गर्दै आएका छन् । पहिला पनि मुख्यमन्त्रीको संभावित दावेदार भनेर एमालेले प्रदेश १ मा भीम आचार्य र शेरधन राई अगाडि सारेको थियो ।
शेरधन राईमाथि संचार मन्त्री हँुदा एमाले पार्टीको हितमा काम गर्न नसकेको, संचार क्षेत्रका राजनीतिक नियुक्तिहरू गर्न नसकेर कार्यक्षमतामा असफल, असक्षम सावित भएकाले शेरधनलाई मुख्यमन्त्री जस्तो गहन जिम्मेवारी दिनु हुन्न भन्ने मत एमाले पार्टीभित्र उठिरहेको छ । राई चारित्रिकरुपमा पनि आलोचित पात्र भएकाले कार्यक्षमतामा नालायक र असक्षमलाई मुख्यमन्त्री दिनु हुन्न भन्ने मत रहेको छ ।
शेरधन जस्तो असक्षमलाई मुख्यमन्त्री जस्तो जिम्मेवारी दिएमा प्रदेशको प्रारंभिक संरचना, विकास निर्माण, साधन स्रोतको ब्यवस्थापन, कर्मचारी, सुरक्षा निकायको समन्व र सन्तुलन कायम गर्न सक्ने छैनन् ।
अनेरास्ववियूका पूर्व अध्यक्ष, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको टीममा बसेर काम गरेको अनुभव, वैकल्पिक केन्द्रीय सदस्य र हालसम्म कुनै पनि अवसर नपाएका स्वच्छ छविका युवा प्रदेश सभा सदस्य राजेन्द्र राईलाई एमालेले प्रदेश नम्बर एकको मुख्यमन्त्रीको जिम्मेवारी दिएमा कतैबाट पनि आलोचना नहुने र युवा जोश जाँगरका साथ एक नम्बर प्रदेशलाई एक नम्बर बनाउन एमाले सफल हुने विश्वास गरिएको छ ।
प्रदेश २ मा फोरम र राजपाले सरकार बनाउने अवस्था देखिएकोले फोरमबाट लालबहादुर राउत र राजपाबाट मनिष सुमन र जीतेन्द्र सोनल दावेदवार छन् । कुन दलले मुख्य मन्त्री लिने भन्ने टुंगो लागेपछि राउत वा सोनलको संभावना टुंगो लाग्नेछ । त्यसैगरी, प्रदेश ३ मा एमालेबाट अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल र पशुपति चौलागाई दावेदार देखिएका छन् । अहिले केशव स्थापितले पनि दावी गरिरहेका छन् ।
प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले दावी गरिरहेका छन् । त्यसमध्ये भनुभवी, सक्षम ब्यक्तित्व र बलियो दावेदारकारुपमा पृथ्वीसुव्बा गुरुङ देखिएका छन् । प्रदेश ५ को मुख्यमन्त्रीमा भने एक्लो दाबेदारकारुपमा शंकर पोखरेल देखिएका छन् । माओवादीबाट दावी गर्दा कुलप्रसाद केसी भए पनि यो प्रदेशमा पनि एमालेले पाउने भएपछि पोखरेल दावेदार बनेका हुन् ।
प्रदेश ६ को मुख्यमन्त्रीमा भने माओवादीले नरेश भण्डारी र महेन्द्रबहादुर शाहीलाई दावेदारकारुपमा अगाडि सारेको छ । कांग्रेसबाट जीवनबहादुर शाही दावेदार भएपनि यो प्रदेशमा कांग्रेस कमजोर भएपछि शाही रिङ्आउट भएका छन् । प्रदेश ७ मा भने एमालेले कर्णबहादुर थापालाई मुख्यमन्त्रीकोरुपमा अगाडि सारेको छ । तर, थापा समानुपातिकमा रहेकाले महिला र अन्य क्लस्टरको हिसाब मिलाउन गर्दा सांसद बन्छन् कि बन्दैनन् भन्ने आशंका छ ।



