दैलामा आएको तिहार। तयारीमा जुटेका छन् सबै जना, तर रौनक भने बिलकुल हराएजस्तो देखिन्छ । “ तिहार आएजस्तो पनि लाग्न छाड्यो बाबै मलाई त” कपाल सेतै फुलेकी चार बीस पाँच नाघेकी बुढी हजुरआमाले खुईया सुस्केरो गर्दै भन्दै हुनुहुन्थ्यो।
उहाँको गंभीर कुराले मेरो मानस्पटल सोँचमग्न गरायो। मस्तिष्क एकतमासले घोरिन थाल्यो र अन्तरमनको उदेकलाग्दो चेतनाले महसुस गर्यो कि रमाइलो झिलिमिलीयुक्त, सदभावपूर्ण स्नेही तिहार त यस युगले दशक अगाडि नै बागमतीमा सेलाइसकेछ ।
अब त हार मात्र बाँकी रहेछ। संस्कारको हार, सभ्यताको पराजय, मौलिकताको बिनाश। अनि कसरी छुन सकोस् त चौरासी गरिसकेकी हजुरआमालाई हालको भड्कावले दशक अगाडि , जब हाम्रो उमेरले दोहोरो अङ्क छोइसकेको थिएन, त्यतिखेरको तिहारको सम्झना हृदयले गर्न थाल्यो।
बालक किशोर र बयस्कहरू आफ्ना दमालीहरू जम्मा गरेर देउँसी र भैलो खेल्न जाँदा पछि लाग्थ्यौँ हामी भुराहरू पनि। रौनक नै बेग्लै, उमङ्ग नै छुट्टै, चन्द्र देखा नपर्ने रात्रीको अन्धकारलाई पालाका झिलिमिली बत्तीले सर्लक्कै निलेका, जताततै पानसमा तेलको सहायताले झल्झलाएका तेज प्रकाशमान दियो।, बाबियोले बाटिएको तोरनमा फूल सिहुरिएको रङ्गमय वातावरण !
अहिलेका भाई मसलाको सट्टा घरकै दही ओख्खरको प्रयोग, गलामा कृतिम माला होइन बरु मखमली सयपत्री र गोदावरीको मालाले घाँटी नै भरिलो, त्योभन्दा रमाइलो सांस्कृतिक पहिचान, मादलको ताल, मुरेलीको सुर, देउँसी भट्टाउनेको लयबद्द सांगीतिक छाल ।
यमपञ्चकको पहिलो दिनदेखि सबैलाई तिहारले छुन्थ्यो । मान्छे मात्र होइन, जनावरहरू पनि चाडको उमङ्गमा रङ्गिन्थे, कागलाई मिष्ठान्न आँगनमा राखिन्थ्यो, कुकुरले पनि कहिल्यै नपाएको माया स्नेह र मिष्ठान्न भोजनको स्वाद चाख्थ्यो, गाई गोरुको पनि उत्तिकै सम्मान, नेवारी समुदायमा म्हपूजाको विशेष रङ्ग, मान्छे भन्दा पहिले पशुहरूको पूजा, उनीहरूप्रतिको सदभाव र सद्ब्यवहारको छुट्टै महत्व, बालकदेखि बुढ्यौलीले छोइसकेका समेत पर्वको उमङ्गमा रम्थे, छुट्टै प्रफुल्लता , बेग्लै आनन्द, रोमाञ्चक अनुभूति, नौलो उत्साह, नवीन उमङ्ग र मनोहर दृश्यावली।
जीवनयात्राका पंचासी तिहारका खुड्किलाहरूलाई पार गरिसकेकी हजुरआमा अनायसै बाल्यकालतिर फर्किनुभयो- “देउँसी र भैलो खेल्ने रङ्गले सबैलाई छुन्थ्यो, देउँसी भट्टाउने र नाच्नेको प्रतिस्पर्धा, कोभन्दा को के कम, एउटा टोली बनाईन्थ्यो, सुरिलो भाका, सुमधुर स्वर, मनमोहक नृत्य, कहानीसंग जोडिएको भैलीगीतले गाउँदै हिँड्दा सेल रोटी पकाउन लागेका आमाहरू पीठो मुछ्न छोडेर भैली हेर्न आउँथे, पिँडीमा तमाखु खाँदै बसेका बुढाहरूले अझै केहीबेर रमाइलो गर भन्दै धाप मार्थे। हामी पनि उनीहरूको प्रशंसा र सुकीर्ति फैलिने आशीर्वाद भैलो गीतबाटै दिन्थ्याै।
घरबेटीलाई फुर्काउन सके बढी दक्षिणा पाइने पनि आश, भैलोटोलीको प्रशंसा पाउने पनि हेतु । सुपाभरी सेलरोटी, तिहारमा पकाइएका पाक्वान्न, दक्षिणाको रुपमा रहेको चामल, कहिँकहिँ नगद पनि। बिचमा पालामा धिपिक्क बलेको दियो।
झोलाभरी खन्याएर बोकेर हिँड्ने जमाना थिए पहिले त। घाटुमा सजिएका कलाकारहरू, मारुनी बनेर केटीको पहिरन लगाएर महिला बनेर नृत्य देखाउने मारुनी पुरुषहरूको सङ्गितबद्द नृत्यकला, सोरठीको स्वरमा घन्किएका भाकाहरूले गाउँ नै रमाइलो हुन्थ्यो। मान्छेहरू पनि रमाउँथे, दुखका भारीहरूलाई केही समय कतै बिसाएरै भए पनि जम्घटमा जोडिन्थे,। तर अहिले जमाना पनि फेरियो, मान्छेहरू फेरिए। समाजका राम्रा कुराहरू पनि बदलिए। न रह्यो बाँस, न बज्यो बाँसुरी। सर्प पनि मरेन लौरो पनि भाँच्चियो बाबै।
हामी दक्षिणाको आशले नभै रमाइलोका निम्ती भैलो खेल्थ्यौँ । दिए लिईन्थ्यो, नदिए हाँसीखुसी आफ्नो बाटो हिडिन्थ्यो। तर अहिले त देउँसी टोली आउनुभन्दा पहिले नै दक्षिणाको मागपत्र आउँछ। क्यासेटले मनको शान्ती नै खलबलाइदिएजस्तो लाग्छ बा मलाई त! हजुरआमा बोल्न रोकिनुभयो। "
हजुरआमाको निरश कुराले मन एकतमासको भयो। भोलिको तिहार, तर तिहारको छनकजस्तो केही पनि छैन। संस्कारको हार, सभ्यताको पराजय, मौलिकताको बिनाश। मात्र त देखिन्छ अहिले। प्रत्यकको भान्साबाट आउनुपर्ने सेलरोटी र मिस्ठान्नको मघमघाउँदो स्वादिलो बासनाले नाकलाई छेँडेको छैन। न त सोको कल्पनामा मुख नै रसाएको छ। बजारिया मिष्ठान्नले मौलिक पाक्वान्नलाई बिस्थापित गरिसके।
साथीसंगीसंग रमाइलो गर्न र आपसी स्नेहको बिनिमय गर्न पारिवारिक जम्घटमा खेलिने तास जितहारसंग जोडिन थालेको छ । रातभरी कौडा हानेर भातृत्व बलियो बनाउने भन्दै कौडा खेल्ने बा'हरू सम्पत्ति नै गुमाएर पुरपुरोमा हात राखेर बसेका देखिन्छन् ।
बजारपट्टीका भट्टीहरूमा जड्याहा र रक्स्याहाहरूको गाईँगाईँ, जुवाडेहरूको गुईँगुइँ न उडेका छन् चङ्गाहरू, पिङको झोक्कासंगै मच्चिनुपर्ने बालकहरू मोबाइलमै थेँच्चिएका छन्। मौलिक सांस्कृतिक पहिचान मानिने देउँसी र भैलोको कतै गुन्जायज छैन। बरू अल्लारेहरू क्यासेटमा चिसो बियरको भाकामा सबैलाई थर्काउँदै चन्दा असुले सरह देउँसीको दक्षिणा असुलिरहेछन्।
तिहार मात्र होइन, हरेक चाडको मौलिकता समयक्रमसंगै सङ्कटमा पर्दै मात्र गएको छैन, पुस्ता हस्तान्त्रणसंगै बदलिएको परिवेशले सांस्कृतिक सभ्यतालाई समेत बिकृत तुल्याउँदै गएको छ।
आत्मियताको सम्बन्धलाई नाफा घाटाको ब्यापारमा निर्लिप्त उपभोक्ताबादी सोँचको कालो छिद्रले निलिसक्यो। मौलिक पहिचानलाई विश्वब्यापिकरणको तुफानले पल्टाइदियो।
बैज्ञानिक संस्कृति समेत आयातित बिकृतीको प्रभावले ओझेलिँदै गयो।। नविनतासंगै भित्रिएका अनेकौँ भड्कावहरूले सामाजिक संयन्त्रका सम्यक परम्पराहरूको घाँटी निमोठियो । बाह्य सभ्यताको प्रतिलिपी गर्ने सोँचसंगै संशोधनमुखी चरित्रको हाँगो झाङ्गियो । बिकृती र बिसङ्गतीको जरो पनि अझ दरिलो बन्दै गयो ।
हो, समयको गतीशीलतासंगै देखा पर्ने परिवर्तनलाई पक्कै अंगाल्नुपर्छ । बदलिँदो परिवेश र बदलिँदो दुनियासंगै आफू पनि अनुकूलित हुनुपर्छ । तर परिवर्तनका नाममा देखिएका विकृति र बिसङ्गतिका काला धब्बाहरूलाई सभ्यताको उपहार भनेर कहिलेसम्म स्वीकार्ने ?
मूल अस्तित्वमा नै ह्रास आउने खालका भड्कावपनलाई बढोवा दिने असभ्यतालाई कहिलेसम्म जन्मन दिइरहने ? परम्परा भण्दैमा सबै चीज छोड्नुपर्छ भन्ने मान्यता राख्नु त्यति उपयुक्त नहोला । प्रतिगामी तत्वहरुलाई छोड्नु पनि पर्छ ।
सामाजिक असमानतालाई प्रवर्धन गर्ने खुराकहरूलाई पक्कै रिडी राम्दी वा आरेघाटमै लगेर चिता बनाएर जलाउनै पर्छ। तर, भाइचारा प्रबर्ध्दन गर्ने, अपनत्व बोध गराउने, आफ्नोपनको पहिचान दिलाउने, नेपाली पहिचानको वैशिष्टियता झल्किने तिहार लगायतका अन्य सांस्कृतिक पर्वमा प्रस्तुत गरिने सांगीतिक पक्षको मौलिकतामाथि बन्चरो प्रहार गर्नु संवृध्द चेतना भएका मानव जातिका निम्ति कत्तिको सुहाउँदो हो ? सोँच्नुहोस् त।
नखेल्नु, जुवा र तास, धनको नास, जीवनको बनबास भनेर जनचेतना फैलाउँदै गाइने लोकलयमा आधारित झ्याउरे गीतहरू सुनिन छाडेका छन् । डडर्याम्म डुडुरुम्म, ढड्याम्ढुडुम्म ड्याङड्याङ गर्दै बजाइने बाजाहरूले मौलिक लोक बाजाहरूको अस्तित्व स्वाहा भएका छन् । दीप प्रज्वलित गरेर मनाइने दीपावलीलाई भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगले बिकृत तुल्याएको छ ।
दिदी भाईको सम्बन्धलाई आर्थिकतासंग तुलना गर्ने गलत मानसिकताबाट ग्रसित आडम्बरी मानवीय चरित्रले पर्वको पवित्रतालाई डङ्गुरमा मिसाएर डुङ्डुङ्ति गन्हाउने बनाउँदै लगेको दृश्यले मौलिक पहिचानमा रमाउने सभ्यताप्रेमी मानवीय मस्तिष्कहरू भने चिन्तित छन् ।
अव जागरुक गराउनुपर्छ सम्बृद्द मानसिकताले ओतप्रोत सक्रिय सामाजिक प्राणीहरूलाई अपनत्व प्रवर्ध्दनका निम्ति । जागरण पैदा गर्नुपर्छ सचेत बर्गमा मौलिकता संरक्षणका खातिर।
मौलिक अस्तित्व जोगाउने सङ्घर्षमा होमिएको तिहारको मानवीय अन्तरसम्बन्धका नवआयामहरूलाई पौराणिक दृष्टिकोणले भन्दा त्यसको सामाजिक सांस्कृतिक, आत्मिक, र बैज्ञानिक तरिकाले विश्लेषण गर्न सकियो भने यसको गरिमाले थप उचाई पाउन सक्छ।
पशुप्रतिको सद्भाव, कृषि उत्पादनप्रतिको कृतज्ञता लगायतका गौण पक्षहरूलाई उजागर गर्दै जीवन परिवर्तन, आत्मियता बिस्तार , विश्वबन्धुत्व प्रवर्ध्दन, मनोरञ्जनमा विशिष्टता, लगायतका पक्षहरूसंग तिहारलाई विश्लेषित गर्न सकियो भने बिकृतिका धब्बाहरू बिस्तारै कम हुँदै जान सक्छन् ।
संस्कृतिविद् र सचेत अग्रज बर्गले अनुज पुस्तालाई सही दीक्षा दिन सक्यो भने तिहारलगायतका चाडपर्वको नाममा देखिएका बिकृति, बिसङ्गति, गलत ब्यबहार, तडकभडक र गैर सामाजिक अवाञ्छित गतिबिधिहरूमा कमी ल्याइ मौलिक र बिकसित अवस्था पुन कायम गर्न नसकिएला जस्तो चाहिं मलाई लाग्दैन।
अनि तपाईँलाई नि ?



