२०७६ असोज २६ गते (हिजो)बाट यो बर्षको बडादशैं हामीबाट बिदा भएको छ । यो दशैंभरी प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा घरघरमा तातो चर्चाको विषय बन्न पुगे । २०७६ असोज १२ गते साँझ संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महरा घरघरमा चर्चाको विषय बन्न पुगेका हुन् । रोशनी शाहीमाथि बलात्कारको प्रयासको आरोप लागेपछि महराले सभामुख पद गुमाएका छन् भने उनको प्रतिनिधिसभा सदस्य पद पनि निलम्बनमा परेको छ ।
अहिले उनी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । प्रहरी र सरकारी वकिलले बयान सकेपछि अबको केही दिनमा नै नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेता समेत रहेका महरामाथि बलात्कार प्रयासको मुद्दा चलाइने छ ।
यसरी फसे सभामुख महरा
२०७६ असोज १२ गते आइतबार बेलुका तीनकुनेस्थित आफ्नो निवासमा आएर आफूमाथि बलात्कार प्रयासको जाहेरी नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएपछि काठमाडौं जिल्ला अदालतले २०७६ असोज १९ गते सभामुख महरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । २०७६ असोज १२ गते बेलुका यो घटना भएलगत्तै शाहीले प्रहरीलाई सूचना गरेपछि तत्काल नयाँ बानेश्वरबाट प्रहरी टोली उनको निवासमा पुगेको थियो । तर, प्रहरी घटनास्थलमा पुग्दा सभामुख महरा भने बाहिरिसकेका थिए ।
यो घटना रातारात डढेलो झैं सल्किएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको निर्देशनमा भोलिपल्ट २०७६ असोज १३ गते सोमबार नै महराले सभामुख पदबाट राजीनामा गरे । तर, अध्यक्षद्वयले यस सम्बन्धमा जिज्ञासा राख्दा पनि महराले आफू शाहीको निवासमा नगएको दाबी गरिनैराखेका थिए । तर, घटनाक्रमले उनको यो दाबीलाई पुष्टि गर्न सकेन र अहिले पूर्वसभामुख महराको राजनीतिकसँगै सामाजिक प्रतिष्ठासमेत लगभग भताभुंग अवस्थामा पुगेको छ ।
शंकास्पद भूमिकामा रोशनी
तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भनेर नयाँ बानेश्वर प्रहरी वृत्तमा लिखित जाहेरी दिएकी रोशनी शाहीको भूमिका पनि यो मामिलामा शंकास्पद र रहस्यमय देखिएको छ । किनभने उनले पटक पटक आफ्नो बयान बदल्दै आएकी छिन् । २०७६ असोज १२ गते बेलुका आफूमाथि तत्कालीन सभामुख महराले बलात्कार प्रयास गरेको जाहेरी दिएकी शाहीले यो घटना भएको भोलिपल्ट एउटा अनलाइनसँग कुराकानी गर्दै महराले आफूलाई बलात्कार नै गरेको दाबी गरेकी थिइन ।
यो दाबीमा उनी २४ घण्टा पनि टिक्न सकिनन् र २०७६ असोज १४ गते मंगलबार नयाँ बानेश्वर प्रहरी वृत्तमा तत्कालीन सभामुख महरा आफ्नो निवासमा नआएको र आफूलाई कुनै प्रकारको अभद्र व्यवहार पनि नगरेको दाबी गर्दै महरा आफ्नो बाबु समान भएको उल्लेख गरेर निवेदन दिएकी थिइन । तर, यो निवेदनमा राखेको आफ्नो अडानमा पनि उनी दुई दिन पनि टिक्न सकिनन् र २०७६ असोज १९ गते नयाँ बानेश्वर प्रहरी वृत्तमा नै तत्कालीन सभामुख महराले आफ्नो निवासमा आएर असोज १२ गते बेलुका बलात्कार प्रयास गरेको निवेदन दर्ता गराइन ।
शाहीले यो निवेदन दर्ता गरेपछि नै प्रहरीले काठमाडौं जिल्ला अदालतको सहमति लिएर पूर्वसभामुख महरालाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइराखेको छ । प्रहरीले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहँदा शाहीले फेरि आफ्नो बयान परिवर्तन गर्दै हिमाल खबर पत्रिकासँग त्यो जाहेरी प्रहरीको दबाबमा प्रहरीले भनेअनुसार दिएको भनेर आफ्नो जाहेरीप्रति नै इन्कारी गरेकी छिन् ।
यो पाटोमा प्रहरीले किन गर्दैन अनुसन्धान ?
रोशनी शाहीले दिएको बलात्कार प्रयासको जाहेरीको आधारमा प्रहरीले पूर्व सभामुख कृष्णबहादुर महरामाथि आफ्नो अनुसन्धान अगाडि बढाइराखेको छ । तर, यो घटनाका सम्बन्धमा पटक पटक बयान बदल्ने रोशनी शाहीका सम्बन्धमा भने प्रहरीले अहिलेसम्म अनुसन्धान सुरु गरेको छैन । रोशनी शाहीले तत्कालीन सभामुख महरामाथि बलात्कारको आरोप लगाएको लगत्तै आफू डिप्रेसनको रोगी भएकोले त्यो अवस्थामा आफूले के बोलें भन्ने आफूलाई नै थाहा नभएको भनेर समेत पूर्व सभामुख महराको बचाउ गरेकी थिइन र यही व्यहोरा उल्लेख गरेर नयाँ बानेश्वर प्रहरी वृत्तमा निवेदनसमेत दिएकी थिइन ।
तर, यो निवेदन दिएको दुई दिन पछि नै महराले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएर जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । तर, पटक पटक बयान किन बदलिराखेकी छिन् भन्ने सम्बन्धमा भने प्रहरीले अहिलेसम्म अनुसन्धान सुरु गरेको छैन । त्यसकारण यो प्रकरणमा रोशनी शाहीको सँगै प्रहरीको भूमिका समेत सन्देहको दायरामा आएको छ । किनभने कानूनीरुपमा पनि पटक पटक कसैले आफ्नो बयान बदल्न पाउँदैन र बयान बदल्नेमाथि कानूनी कारवाही हुने व्यवस्था छ ।
महरा–शाही सम्बन्ध नयाँ होइन
तत्कालीन सभामुख कृष्णबहादुर महरा पहिलो पटक २०७६ असोज १२ गते बेलुका संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको निवासमा गएका होइनन् । पूर्व सभामुख महरा र रोशनी शाहीका बिचको सम्बन्ध धेरै अगाडिदेखि रोलबाटै कायम रहेको रोशनी शाहीको भनाईले पनि पुष्टि गर्दछ । त्यो दिन दुई जना बीचमा झगडा भएपछि स्थितिले विकराल र विस्फोटक रुप लिएको अनुमान जसले पनि गर्न सक्दछ । त्यसकारण यो घटनाका सम्बन्धमा शाहीको जाहेरी अनुसार बलात्कार प्रयासमा मात्र सीमित रहेर प्रहरीले अनुसन्धान अगाडि बढाउने स्थिति छैन ।
अब महराको भविष्य
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शीर्ष स्थानमा रहेका पूर्व सभामुख महराको यो घटनासँगै राजनीतिक र सामाजिक हैसियत समाप्त भएको छ । अदालतले उनलाई यो घटनाका सम्बन्धमा दोषी ठहर ग¥यो भने उनको भविष्य जेल हुँदै अँध्यारो नेपथ्यमा जाने निश्चित छ । अदालतले यो घटनामा सफाइ दिएपनि राजनीतिक हैसियत प्राप्त गर्न भने महरालाई कठिन हुनेछ । अदालतले सफाइ दिएको स्थितिमा नेपाल कम्युनिष्ट पार्टीले पनि अनुसन्धान नै नगरी महरालाई सभामुख पदबाट राजीनामा गर्न निर्देशन दिनु गलत रहेको भन्ने निष्कर्ष निकाल्यो भने महरा सक्रिय राजनीतिमा फर्कन पनि सक्दछन् । तर, सक्रिय राजनीतिमा फर्किए पनि २०७६ असोज १३ गते सभामुख पदबाट राजीनामा गर्नु अगाडिको राजनीतिक हैसियत भने उनले कहिले पनि प्राप्त गर्नसक्ने छैनन् ।



