काठमाडौं । नेपाल प्रहरीले ६४ औं प्रहरी दिवसमा प्रदान गरेको ‘लाइफ टाईम अच्भिमेन्ट अवार्ड’ विवादमा परेको छ । यो अवार्ड दिने पात्र चयन जसरी गरिएको छ, त्यसले यसको महत्व नै घटाउने काम गरेको प्रतिक्रियाहरू प्रहरी फोर्सबाटै आइरहेका छन् । नेपाल प्रहरीमा सेवा गर्दा उल्लेखनीय र राम्रा काम गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि निर्माण गरेका पुराना डीएसपीदेखि आइजीपीसम्मलाई यो अवार्ड दिन सकिन्छ ।
पेशा वा ब्यवसायमा हुँदा राम्रो योगदान गरेकालाई उसको जीवनको आखिरी अवस्थामा यो लाइफटाइम अचिभमेन्ट अवार्ड दिएर सम्मानित गरिन्छ । भारतीय फिल्म नगरीमा देवानन्द, विनोदकुमारलाई अभिनय छाडेको २० बर्षपछि सम्मानित गरिएको हामी पाउँछौं । तर, नेपाल प्रहरीमा पदमा हुँदा बर्दीमै मदिरा सेवन गरेको आरोप लागेका पूर्वएआइजी यादव अधिकारीलाई लाइफटाइम अवार्ड दिइएकोमा मूल्यांकनकर्तामाथि नै प्रश्न उठेको छ ।
प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी(पीसीसी)को बैठकबाट निर्णय गरी पदमा हुँदा गौरवपूर्ण काम गरेका पूर्वअधिकृतलाई यो अवार्डबाट सम्मानित गनुपर्ने हो । जसबाट अवकाश पाएकाहरूले पनि सही पात्र छनोट भएकोमा गौरबबोध गरुन् र बहालवालाहरूले पनि प्रेरणा लिऊन् । तर, २०७६ सालको अवार्ड पीसीसीको बैठक नै नराखी आइजीपी सर्वेन्द्र खनालको एक्लो निर्णयमा पूर्व एआइजी अधिकारीको नाम सचिवालयका डीआइजीलाई टिपाएर प्रमाणपत्र बनाउन लगाएको प्रहरी स्रोतले बताएको छ ।
यो अवार्डको लागि चयन गरिएका पात्रले विगतमा कुनै पनि उल्लेखनीय र गौरवपूर्ण काम नगरे पनि आइजीपी खनालले सम्मानित किन गरे भन्ने प्रश्न उठेको छ । जसका कारण यो अवार्डलाई नै सस्तो बनाइएको चर्चा फोर्सभित्र हुने गरेको छ । र, अवार्डलाई नै सस्तो बनाइएको महसुस प्रहरीका अधिकारीले गरेका छन् । तत्कालीन मध्यक्षेत्रको डीआइजी हुँदासम्म पनि अधिकारी बिहानैदेखि मदिरामा मस्त भएको उजुरी प्रहरी प्रधान कार्यालयमा आउने गर्दथ्यो भनेर उनीसंग काम गरेकाहरू नै भन्ने गर्दछन् ।
‘लाइफ टाइम अवार्ड हरेक बर्ष दिनुपर्ने जरुरी पनि छैन । प्रहरीमा गौरबपूर्ण काम गरेका राम्रा अधिकृत वा दिवंगत अधिकृतलाई पनि दिन सकिन्छ ।’ प्रहरीकै एक पूर्व अधिकारी बताउँछन् । उनका अनुसार, स्व. पूर्वआइजीपी पहलसिंह लामालाई पनि अवार्ड दिन सकिन्थ्यो । उनकी श्रीमती अहिले पनि जीवित छिन् । उनले प्रहरीसेवामा हुँदा पनि धेरै राम्रा काम गरेका थिए, अवकाशपछि पनि सम्मानित थिए । तर, अवकाशपछि जग्गा दलालीमा लागेकाहरूलाई यस्तो सम्मान दिनुले यसको गरिमा नै घटाउने काम गरेको प्रहरी हेडक्वार्टरका वरिष्ठ अधिकृतहरू बताउछन् । पूर्वआइजीपी खड्गजीत बरालले यसबारेमा आफ्नो फेसबुक वालमा लेखेका छन् ‘‘प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने पात्रको छनोट’’प्रति असन्तुष्टी जनाएका छन् ।
उनले प्रहरी दिवस २०७६ असोज २६ गते नै फेसबुकमा लेखेका छन्–‘आज ६४ औं प्रहरी दिवस तथा ४६ औं प्रहरी पुनर्मिलन दिवसको पावन अवसरमा समस्त प्रहरी परिवारलाई सादर जय नेपालका साथै हार्दिक शुभकामना व्यक्त गर्दछु । वीर तथा अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’’
‘‘प्रहरी दिवस जस्तो ऐतिहासिक समारोह नेपालमा उदाहरणीय छ । प्रहरी एकताको परम उद्देश्यले २०३१ सालमा तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालको कार्यकालमा थालनी गरिएको प्रहरी पुनर्मिलन दिवस र २०५२ सालमा तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको कार्यकालमा थालनी गरिएको प्रहरी दिवसलाई नेपाल प्रहरीले हालसम्म निरन्तरता दिइरहेको कार्य प्रशंसनीय छ ।
यस महान अवसरमा वार्षिक रूपमा पूर्व एवम् वहालवाला प्रहरीहरू भेला हुनका साथै अमर प्रहरी परिवारलाई प्रदान गरिने आवश्यक सहयोग र उत्कृष्ट छविका प्रहरीलाई विभूषित गर्ने प्रचलन उल्लेखनीय छ । यसका अतिरिक्त विगत केही वर्ष अघिदेखि प्रहरी दिवसको अवसरमा सेवाकालमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई नेपाल प्रहरीको तर्फबाट ‘लाइफ टाईम अच्भिमेन्ट अवार्ड’ प्रदान गर्ने परम्परा तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीबाट थालनी गरिएको थियो ।
वार्षिक रूपमा दशैंको टीका वा विशेष निवृत्ति भत्ताझैं नेपाल प्रहरीको ‘लाइफ टाईम अच्भिमेन्ट अवार्ड’ अनिवार्य रूपमै प्रत्येक वर्ष प्रदान गर्नु भनेको यो विभूषणको अवमूल्यन गर्नु हो । यो विभूषण त त्यस्तो व्यक्तित्वलाई मात्र प्रदान गर्नु पर्ने हो जसको छवि र देनहरू सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै मुक्तकण्ठले प्रशंसा गरिन्छ । दुर्भाग्यवश यस विभूषणका प्रणेता रमेश चन्द ठकुरी अहिले धमिलो अपराधको आधारमा बन्दी जीवन बिताउन बाध्य छन् । ईश्वरले उहाँमाथि अहिले आइलागेको समस्या धैर्यता र दृढताका साथ सामना गर्न बल प्रदान गरून् ।’’
‘‘अन्त्यमा नेपाली जनताको अपेक्षा अनुरूप खरो उत्रन प्रहरी सेवालाई थप सुधार उन्मुख बनाई वर्तमान विसंगतिहरूलाई पार लगाउँदै नागरिकमैत्री प्रहरी विकसित हुनेमा म पूर्ण रूपमा विश्वस्त छु र भातृत्वको भावनालाई अभिप्रेरित गर्ने सुपरिचित संगठनको सदस्य हुन पाउनुमा आज ६४ औं प्रहरी दिवस तथा ४६ औं प्रहरी पुनर्मिलन दिवसमा म आफैं पनि गौरवान्वित छु ।’’



