काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्ग आयोजना(फाष्टट्रयाक) आयोजनाका प्रमुखबाट २०७६ असार १२ गते अवकास भएका योगेन्द्रबहादुर खाँडलाई अहिले भ्रष्टाचारको सम्पत्ति ब्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको चर्चा सेनाभित्र हुने थालेको छ । स्रोतका अनुसार, फाष्टट्रयाक आयोजनामा आर्जित सम्पत्ति उनले ब्यवस्थापन गर्न नसकेर हुन्डीमार्फत् अमेरिकामा रहेका दाजुलाई पठाएको चर्चा पनि चलेको छ । नेपालगंजमा रहेका उनका सालाका नाममा पनि लगानी गरेको चर्चा छ ।
२०७४ बैशाखमा सरकारले फाष्टट्रयाक निर्माण सेनालाई जिम्मा दिएको थियो । र, आयोजना प्रमुखमा तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँडसंग थर मिलेकोमात्र नभई ठूलै रकम बुझाएर उपरथी खाँड तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको सिफारिस विपरीत राजनीतिक दवावमा आयोजना प्रमुख भएका थिए । आयोजना प्रमुख भएपछि जर्नेल खाँडले निर्माणलाई भन्दा कमाउधन्दालाई प्रश्रय दिए । फाष्टट्रयाकको प्रगति मन्द, तर उनको प्रगति दिन दुई गुना रात चौगुनाका दरले बढ्दै गएको स्रोत बताउछ ।
श्रीमती सरिता शाहदेखि ससुराली खलकका नाममा काठमाडौं उपत्यकामा १ सय रोपनीभन्दा बढी जग्गा जमिन र जायजेथा जोड्न सफल भएको चर्चा उनी अवकास भएपछि सुरु भएको छ । स्रोतका अनुसार, ललितपुरको टीकाथली क्षेत्रमा मात्रै श्रीमती सरिता शाहको नाममा बीसौं रोपनी जग्गा जोडेको दावी पनि स्रोतको रहेको छ ।
काठमाडौं–तराई द्रुतमार्ग आयोजना(फाष्टट्रयाक) भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड (आइएलएफएस)लाई दिंदा महंगो पर्ने भनेर सेनालाई जिम्मा दिइएको थियो । तर, हालसम्म डीपीआरको पत्तोअत्तो नभएको र नेपाली सेनाको प्रतिष्ठासंग जोडिएको सेनाका जर्नेल खाँडले गरेको अनियमित कामको रफ्तारले निरन्तरता पाउने हो भने फाष्टट्रयाकको लागत आइएलएफएसको भन्दा बढी पर्नसक्ने अनुमान गर्न थालिएको छ ।
आइएलएफएसले फाष्टट्रयाक निर्माणको लागि १ खर्ब ११ अर्ब रुपैयाँको स्टीमेट निकालेको थियो । भारतीय कम्पनीलाई सरकारले ९० अर्ब अनुदान र ऋण दिएर बनाउने र टोल ट्याक्स उसले उठाउने कुराको चर्को बिरोध भएपछि सरकारले सेनालाई दिएको थियो । तर सेनाले जिम्मा लिएको फाष्टट्रयाक भ्रष्टाचारका कारण भारतीय कम्पनीको भन्दा बढी लागत पर्न जाने चिन्ता प्रकट गर्न थालिएको छ ।
सेनाले प्रमुख सेनानी कर्णेल केशवराज कार्कीलाई ४९ लाख भ्रष्टाचार गरेको आरोपमा कोर्टमार्सल गरी ३ महिना जेल संजाय तोकी जागिरबाट बर्खास्त गरेको छ । तर, फाष्टट्रयाक आयोजनामा साँढे ५ अर्ब भ्रष्टाचार भएको सम्बन्धमा सेनाको नेतृत्व मौन रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त जर्नेल/कर्णेलहरुको अकूत सम्पत्ति छानबिन गर्ने कानूनी ब्यवस्था छ । सेनाका जर्नेल/कर्णेलहरुको सम्पत्ति अख्तियारले छानबिन गर्नुपर्ने माग पनि सेनाबाटै भइरहेको छ ।
मोटो कमिसन लिएर खाँडले फाष्टट्रयाकको ठेक्का दिने गरेको आरोप पनि लागेको थियो । १ अर्ब ४० करोडको परामर्शको ठेक्का पनि उनले इआरएमसीसंग मोटो रकम लिएर दिन खोजेका थिए । तर, मिडियामा चर्को बिरोध भएपछि उक्त ठेक्काको निर्णय नगरी जर्नेल खाँड बिदा भएका थिए ।
खाँडमात्र होइन, नेपाली सेनाको इन्जीनीयरीङ विभागका कर्णेलदेखि माथिल्लो पदका सबै फाष्टट्रयाकको भ्रष्टाचारमा मुछिएका छन् । छानबिन गरेमा कर्णेलदेखि माथिल्लो पदका हरेकसंग स्रोत नखुलेको करोडौंको सम्पत्ति भेटिने दावी स्रोको छ ।
काठमाडौं–तराई द्रुतमार्ग आयोजना(फाष्टट्रयाक) आयोजनाका कर्णेल कमलविक्रम शाह, विकास पोखरेल, इन्दवीर गुरुङदेखि धर्मेन्द्र झासम्म पनि यही कोटीमा पर्ने दावी स्रोतको रहेको छ ।
(२०७६ साउन २७ गते साँघु साप्ताहिकबाट)



