🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 अब सरकारले सबै ट्रक भारतीय नै चलाओस् : राजेन्द्र महत

(जहाँ असमानता हावी हुँदै जान्छ त्यहाँ अधिकारको लडाइँ हुन थाल्छ । समानताका लागि मानिसले साम–दाम सबै अपनाउँछ । नेपालमा भएका विभिन्न समयका आन्दोलनले पनि यही विषयलाई केन्द्रित गरिरहेका छन् । तर समयसंगै जतिसुकै लोकतान्त्रिक भएको देशमा पनि आन्दोलनको कुनै न कुनै अवशेष बाँकी नै हुन्छ । नेपालमा पनि त्यस्तै छ हालत । सबै मिलिसक्यो भने पनि सडक पाइलट राजेन्द्र महत यसमा सहमत छैनन् । किनकि उनको रोजीरोटी नै खोसिने अवस्थामा पुगिसकेको छ । त्यसैले त उनी विद्रोही भाषा बोल्न बाध्य छन् । २६ वर्षीय सिन्धुपाल्चोकका बा १ ख ९९०८ नम्बरको ट्रकका चालक महतमा यो भावना किन पलायो त ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसंग उनले यसरी आफ्नो भावना पोखेका छन्–सम्पादक) 

० गाडीलाइनमा कहिलेदेखि हुनुहुन्छ ? 

–तीन वर्ष भयो । 

० कसरी आउनु भयो गाडीलाइनमा ? 

–पहिले गाउँतिरै थिएँ । २/ ३ कक्षामात्रै पढियो । त्यसपछि गाउँतिरै खेतीकिसानी गरियो । अनि साथीभाइको संगतले गाडीलाइनमा आकर्षित भएँ । तीन वर्षअघि म गाडीलाइनमा छिरें । सीप केही जानेको थिइन । ट्रकको हेल्पर भएर काम गरें । एक वर्षजति ढोकामा बसेपछि ट्रक नै चलाउन थालें । 

० कस्तो छ त ट्रक लाइन ? 

–ठीकै छ । यो लाइनमा लागेर मलाई कुनै पछुतो आजको दिनसम्म त भएको छैन । तर भोलिका दिनमा हुन सक्ने अवस्था भने आइरहेको छ । 

० के भएर त्यस्तो अवस्था आउन लाग्यो त ? 

–नीति नियम नै त्यस्तै बनिरहेको छ । नीति नियम सुन्दाखेरी अबको गाडीलाइनमा काम गर्न गा¥हो  छ । धेरै समस्या छ । ट्राफिक पुलिसकै समस्या छ । गाडीवालालाई ट्राफिक पुलिसले देखिसहँदैन । हामीलाई कैदीसरह व्यवहार गर्छ । हामीले रिक्वेष्ट गर्दा तँ तँ र म म को व्यवहार गर्छ । जरिवाना पनि अनावश्यक लिन्छ । 

० कसरी दुःख दिन्छ ट्राफिक प्रहरीले ? 

–गाडीमा हेल्पर नभएको बेलामा आफू सिंगलमात्र भइन्छ । अनि कागजपत्र ठीक राखिन्छ । कागजपत्र हेरेर कुनै कमजोरी नदेखेपछि साइड लाइट चेक गर्न थाल्छ । आफू ड्राइभरको सिटमा बसेको बेलामा पछाडि साइडलाइट हेर्न त मिलेन । उसले भनेको सही गलत जे पनि हुन सक्छ । अनि खाइहाल्छ सय, डेढसय रुपैयाँ । चिट माग्यो भने पाँच सयदेखि हजार रुपैयाँको काटिहाल्छ । फेरि पुलिसको के काम बाटोमा ? तैपनि अनावश्यक टेन्सन दिन्छ । खानकै लागि त होला नि । 

० के रहेछ त ड्राइभरको जिन्दगी ? 

–तनाव नि । तनाव रै’छ जिन्दगी । रहरले आएको थिएँ । अहिले बाध्यतामा परेको छु । यो लाइनमा आएपछि अन्त जानै सकिँदैन । 

० आम्दानी छैन र ? 

–ज्यान पाल्न र परिवारलाई खर्च चलेको छ । तर भोलिका दिनमा यही गति भयो भने विदेश भासिनु पर्ने हुन्छ । 

० त्यस्तो सोच गर्नुभएको छ र ? 

–सोच छ । कुवेततिर जान खोजेको हो । हेरौं के हुन्छ । 

० भोलि भोलि भनेर किन डराउनु भएको ? 

–सबै सरकारले गर्दा हो । सरकारले हामी सबैको रोजीरोटी खोस्दैछ । अहिले ७५ प्रतिशत भारतबाट आउने सामग्री सीधै भारतबाटै आउने ट्रकले पु¥याउँदै आएका छन् । कलकत्ताबाट सीधै काठमाडौं डेलिभरी भएपछि नेपाली ट्रकहरू त सीधै मरे । सरकारका कारणले नै यस्तो भएको हो । कमसेकम सीमासम्म भारतीय र त्यसपछि नेपाली ट्रकले सामान ओसारपसार गर्न पाउने भए नेपाली ट्रक ड्राइभर र ट्रक लाइनका परिवारले भोकै मर्नुपर्ने थिएन । सरकारले सक्छ भने सबै ट्रक भारतीय नै चलाओस् । हामी सबै थन्किन्छौं । मारोस् सरकारले हामीलाई । 

० सरकारले थालेको अनलाइन सिष्टम पनि खराव ? 

–यो सिष्टम ठीकै छ । गाडी कता जान्छ के गर्छ भनेर सरकारले त्यसको निगरानी गर्नु राम्रो हो । ड्राइभरको चासो राख्नु राम्रो हो । तर, हामीलाई बाँच्ने आधार दिनुप¥यो । भारतबाट आउने र भारत पु¥याउने सामानहरूको सीमासम्म सबै हामीले गर्न पाउनु प¥यो । रोजगारी खोस्न त मिलेन नि । 

० सरकारको विश्वास लाग्दैन ? 

–सरकारले अहिलेसम्म हाम्रो हकहितका लागि केही पनि गरेको छैन । जिरोमा जिरो विश्वास छ । केही ग¥यो भने भनौंला । 

० ट्रक ड्राइभरलाई किन राम्रो नजरले हेरिँदैन ? मान्छे मार्ने साधन भन्छन् नि ? 

–ट्रकलाई भन्दा पनि टिपरलाई त्यस्तो गरिएको होला । ट्रकको त आफ्नै शान छ । टिपरहरूले रफ चलाउँछन् । राम्रोसंग ट्राफिकले चेक गर्ने हो भने कतिपयको लाइसेन्स नै हुँदैन । असुरक्षित ड्राइभिङ गरिरहेका छन् । ठूला मान्छेहरूको लगानी हुन्छ । अनि पक्राउ परे पनि छुटाइहाल्छन् ।