काठमाडौं । नेपाल प्रहरीका डीआइजी हरि पालले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)मा सरुवा हुन चाहेका थिए । त्यसका लागि उनले प्रधानमन्त्री केपी ओलीलाई पनि भनसुन गराएका थिए । तर, उनको सरुवा आईजीपी सर्वेन्द्र खनालले विशेष ब्यूरोमा गरिदिए । विशेष ब्यूरोमा खासै काम नभएकाले डीआईजी पाल असन्तुष्ट रहेको स्रोत बताउछ ।
आईजीपी खनाल सीआइबीमा निरजवहादुर शाहीलाई नै किन राखिरहन चाहन्छन् ? भन्ने प्रश्न गृहतिर उठ्ने गरेको छ । बैंकिङ कसूर, संगठित अपराध नियन्त्रणदेखि जटिल प्रकृतिका अपराध अनुसन्धान गर्ने सीआइबी पछिल्लो समयमा गतिहीन देखिएको छ । आइजीपी खनालले यसअघि नारायणसिंह खड्कालाई सीआइबीमा खटाएका थिए । उनले पनि केही गर्न नसकेको भनी आलोचना भएपछि उनलाई प्रबन्धमा लगी शाहीलाई लगिएको थियो । शाहीले खड्का जति पनि कार्यक्षमता प्रदर्शन गर्न नसकेको स्रोत बताउछ ।
सीआइबीले विगतमा बैंकिङ कसुरका घटनादेखि अन्तर्राष्ट्रिय कल चोरी, बन्यजन्तुको चोरीतस्करी, आखेटोपहारको बिक्री गर्नेदेखि अवैध सुन तस्करी रोक्न भूमिका खेलेको थियो । तर पछिल्लो समयमा सीआइबीले यी र यस्ता अपराधमा गम्भीरतापूर्वक अनुसन्धान गर्न सकेको छैन । सीआइबी नेतृत्व कमजोर हुँदा बैंकिङ कसूरका करोडौं रुपैया“का मुद्दामा चलखेल हुन सक्ने आशंका गर्न थालिएको छ । तत्काल शाहीलाई सीआइबीबाट हटाउने पक्षमा आईजीपी खनाल नरहेको गृह स्रोत बताउछ । सीआइबीका शाही र महानगरीय आयुक्त शैलेश थापा क्षेत्रीको ७ महिना मात्र पदावधि बाँकी भएकाले केही महिना त्यहीँ कायम रहने गृह स्रोत बताउछ ।
सीआइबीमा पाललाई पठाउने पक्षमा प्रधानमन्त्री ओली भए पनि आईजीपीले उनलाई विशेष ब्युरोमा थान्को लाइदिएका छन् । प्रधानमन्त्री ओली प्रद्युम्न कार्कीलाई पनि २ नम्बर प्रदेशमा सरुवा गर्ने पक्षमा सकारात्मक थिएनन् । तर, आईजीपीले उनलाई २ नम्बरमा पठाइछाडेका छन् । मोरङ प्रहरीको एसपी हुँदा परशुराम बस्नेतलाई पक्राउ गरेकोमा प्रधानमन्त्री उनीसंग रुष्ट थिए । डीआइजी कार्कीलाई प्रदेश नै दिए पनि सुदूरपश्चिममा पठाउनुपर्ने पक्षमा प्रधानमन्त्री रहेको स्रोत बताउछ ।
पछिल्लो समयमा बढुवा भएका डीआईजी विश्वराज पोखरेल अब सीआइबी वा महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रमुख हुने चर्चा छ । हरि पालले पनि यी दुवै ठाउँमध्ये एक ताकिरहेका छन् । प्रहरी प्रवक्ता पोखरेल सीआइबी वा मेट्रोमा गएर काम देखाउने र ठाकुर ज्ञवालीपछि नै आइजीपी हुने रणनीतिमा रहेको चर्चा प्रहरीमा छ । जसका कारण शैलेश थापा र हरि पालको मनमा चिसो पसिसकेको प्रहरीहरु चर्चँ गर्दछन् ।
आगामी २०७६ माघमा वर्तमान आईजीपीको अवकाशपछि करीब ५ महिना ठाकुर ज्ञवाली आइजीपी बन्ने सम्भावना छ । उनीपछि शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाही र प्रद्युम्न कार्कीमध्येबाट एक आइजीपीका दाबेदार हुन् । तर, थापा र पाललाई नै पल्टाएर पोखरेल आईजीपीको कुर्सीमा पुग्ने हुन् कि भन्ने त्रास पनि उनको बढुवापछि देखिएको छ ।
जसरी आफ्ना समूहकामात्रै होइन, आईजीपी खनालका ब्याची वीरेन्द्र श्रेष्ठलाई समेत माथ खुवाएर पोखरेल डीआइजी बढुवा भए, अब थापा र पालहरुलाई पछि पार्दै नेतृत्वमा पुग्ने चर्चा प्रहरीमा ब्याप्त छ । डीआईजीपी पोखरेल अब बढीमा ३ देखि ४ महिनामा मेट्रो र सीआइबीमध्ये एकको प्रमुख बन्नेछन् । मेट्रो र सीआइबी काम विशेष गरेर देखाउने र अर्को बर्ष नै आईजीपी पड्काउने दाउ डीआईजीपी पोखरेल रहेको चर्चा प्रहरीले गर्ने गरेका छन् ।



