काठमाण्डौ ५ चैत्र । वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई जना सदस्यको नाम दिएपछि नेपाली कांग्रेसको अनुशासन समितिले पूर्णता पाउने भएको छ ।
२०७५ चैत्र ४ गते सोमबार राति सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय सदस्य भीष्मराज आङदाम्बेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरिएको थियो ।
समितिमा नवलपरासीका देवेन्द्रराज कँडेल र बर्दियाका किशोरसिंह राठौरलाई सदस्य बनाइएको थियो । संयोजक आङदाम्बे र सदस्यहरु कँडेल र राठौर सभापति शेरबहादुर देउवा निकट मानिन्छन ।
बाँकी दुई सदस्यकालागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नाम दिने सहमति भएको थियो ।
उक्त सहमति बमोजिम वरिष्ठ नेता पौडेलले दुई जनाको नाम दिइसकेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले साँघुलाई बताए । शर्माले भने "वरिष्ठ नेता पौडेलले नाम दिइसक्नु भएको छ । संभवत आजै घोषणा हुन्छ ।"
वरिष्ठ नेता पाैडेल र पूर्व महामन्त्री सिटौला पक्षका केही नेता तथा कार्यकर्ताहरुले संस्थापन पक्षले झेल गरेर अनुशासन समिति गठन गरेको आरोप लगाएका थिए ।
तल महामन्त्री पूर्णबहादुर खड्कासंग अल्मलाई राखेर माथि 'बहुमत' झुक्याएर अनुशासन समिति बनाएको पौडेल खेमाका नेता कार्यकर्ताको आरोप थियो । पाैडेल र सिटौला पक्षधरहरुले मंगलबार दिउँसाेसम्म अनुशासन समिति नस्वीकार्ने बताउँदै आएका थिए ।
तर, शीर्ष नेताहरुको सहमतिमै अनुशासन समिति गठन गरिएकोले कुनै विवाद नरहेको प्रवक्ता शर्माले साँघुलाई बताए ।
यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा स्थगन हुदै आएको थियो।
यही चैत ४ गते पनि बिहान ११ बजै नै बैठक बस्ने भनिएपनि दुबै पक्षबीच समिति गठनमा सहमति जुटाउन नसक्दा राति साटसुट र असहमतिबीच नै घोषणा भएको थियो । कांग्रेसमा अनुशासन समितिलाई महत्वका साथ लिइन्छ ।



