काठमाडौं, २४ फागुन : अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ पाइरेसी भएको छ । ‘प्रेम किंग चान’ नामक एक युट्युब च्यानलबाट उक्त फिल्म लिक भएको हो ।
नेपालमा बलियो कानून नहुँदा बढिरहेको अनलाइन पाइरेसीको पछिल्ले शिकार ‘क्याप्टेन’ पनि बनेको हो । हलमा राम्रो दर्शक पाएर प्रदर्शन भइरहेका फिल्म एक्कासी अनलाइनबाट पाइरेसी हुनु भनेको निर्माताले लाखौंको घाटा बेहोर्नु हो ।
यसअघि पनि प्रदर्शनरत अवस्थामा रहेका फिल्महरु बाटो मुनिको फूल, छड्के, छक्का पञ्जा लगायत थुप्रै फिल्म पाइरेसीको मारमा परेका थिए ।
फिल्म ‘क्याप्टेन’ पाइरेसी भएपछि निर्माण युनिट तनावमा छ । अब त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ । फिल्मले पहिलो हप्ता राम्रो व्यापार गरेको थियो ।
फुटबल खेलाडीको कथामा आधारित फिल्म क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राई लगायतको अभिनय देख्न सकिन्छ ।



