बनेपा, १० कात्तिक : एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन ।
गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निर्क्यौलमा पुग्न नसकिने बताए ।
भिसेरा परीक्षणका लागि ताकेता गर्न नसकिने तर अब केही दिनभित्रै रिपोर्ट आउने अनुमान गर्दै उनले सो रिपोर्ट आएपछि मात्रै अन्य अनुसन्धान शुरु हुने जानकारी दिएका छन् ।
भिसेरा परीक्षणबाट सेल्फास नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुन कुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत विवरण आउने बताइएको छ ।
बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृतवस्थामा फेला परे पछि स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । सम्पत्ति र घरायसी विवादका कारण उनीहरूले सामूहिक आत्महत्या गरेको आशङ्का गरिएको थियो ।
मृत फेला परेका व्यक्ति बाबु, आमा, छोरा र छोरी हुन् । गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरूले विष सेवन गरेको र सेल्फास नामक विषादीको शिशासमेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो । रासस



