काठमाडौं, ६ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसाे सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।



