इटहरी । नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई थप उचाइ दिएको बताएका हुन् । उनले लेखेका छन्, ‘फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ ।’
राईका अनुसार राजनीतिमा धूर्त, फट्याई र चाकडीबाजहरुको वर्चस्व रहेको बताए । राईले भने, ‘धूर्त, फट्याई र चाकडीबाज’हरुले वर्चस्व जमाएको भान भइरहेका बेला पनि सत्य र निष्ठाको पक्षमा उभिन जनताको साथले आफूलाई थप उचाइ दिएको छ ।’
उनी थप लेख्छन्,‘जब म माथि १ वर्षेसहितको कारवाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेदप्रकट र म माथि देखाएको सदाशयताले पुनः मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाइ प्राप्त गरेको अनुभूति पाईरहेछु ।’
अभिव्यक्तिमा राईले आफ्ना पुराना राजनीतिक स्मृतिहरु पनि साटेका छन् ।



