काठमाडौं । नेजो नेपालले संचालन गरेको स्वयम्भु १५ स्थित मनमोहन अस्पताललाई संस्थाको उद्देश्य र नियम विपरीत साधारणसभाबाट अनुमति नलिई भाडामा दिएको समाचार छ । सहकारी ऐन २०७४ मा भएको ब्यवस्था अनुसार एकजना व्यक्ति एकै पदमा २ कार्यकाल भन्दा बढी समय बस्न नपाउने व्यवस्था विपरीत लामो समयदेखिे एकै पदमा रहि कार्य गर्दा बेथिति बढेको स्रोतले जानकारी दिएको छ ।
नेको नेपालको उद्देश्य विपरित विभिन्न व्यापारीहरुलाई अप्राकृतिक रुपमा शेयर विक्री गरी शेयर सदस्य बनाई संस्थालाई व्यापारिक करण गरेको चर्चा चुलिएको छ । संचालक समितिले १९ बर्षसम्म संस्थाका शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्न नसकेको बताइएको छ । संस्थाका लागि रू. १ अर्व २५ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा र ब्याज समयमा नबुझाउन सकिरहेको छैन ।
जसका कारण हरेक वर्ष साँवाामा जोड्दै जाँदा रू २ अर्ब ७५ करोड भन्दा माथि ऋण पुगेको बताइन्छ । सहकारी ऐन २०७४ को परिच्छेद ६ को ३९ को (२) मा भएको व्यवस्था अनुसार संस्थाको साधारण सभा हरेक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र गरिसक्नु प्रावधान रहेको छ । उक्त नियम विपरीत आर्थिक बर्ष समाप्त भएको मितिले वर्षौंसम्म पनि साधारण आयोजना गर्न सकेको छैन ।
साधारण सभा, लेखा परीक्षक र संस्थाका सेयर सदस्यहरुबाट समय समयमा संचालक समितिलाई दिइएका सल्लाह सुझावलाई वेवास्ता गर्ने गरिएको गुनासो आवद्ध सेयरधनीहरुले गरेका छन् । संचालक समितिले संस्थालाई आवश्यक पर्ने जग्गा, सामान तथा उपकरण खरिद गर्दा पारदर्शिता नअपनाई भ्रष्टाचार तथा अनियमितता गरेको आरोपसमेत लाग्ने गरेको छ ।
संचालक समितिले नेको नेपालका शेयर सदस्यहरुको सहमतिवेगर संस्थाका संचालक समितिका केहि सदस्यहरुका नाममा तथा कथित कम्पनी खडा गरी रकम हिनामिना गर्ने कार्य भइरहेको समाचार प्राप्त भएको छ । संचालक समितिले साधारण सभाको निर्णय र शेयर सदस्यहरुको सहमति विना र संस्थाको उद्देश्य विपरीत केबुलकार, जलविद्युत्त, ईट्टा उद्योग, टेलिभिजन, सहकारी, ईन्भेष्मेन्ट कम्पनी, जग्गा आदि क्षेत्रमा असुरक्षित रुपमा लगानी गरेर शेयर सदस्यहरुको डुबाएको गुनासो पीडितहरुले गरेका छन ।
यसरी लगानी गरिएका कम्पनी तल उल्लेखित रहेको बताइन्छ । समाचारस्रोतका अनुसार भैरव कुण्ड हाईड्रो पावर लि., चम्पादेवी इको फ्रेन्नी डेभलोपमेन्ट प्रा.लि.,जनता टेलिभिजन प्रा.लि. रहेका छन । केन्द्रीय स्वास्थ्य सहकारी लि.मनमोहन मेमोरियल सेभिङ एण्ड क्रेडिट इनभेष्मेन्ट र माथिल्लो थोपल हाईड्रो पावर रहेका छन । होटल को–अपरेटिभ लि.लॉली गुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. राट्रिय सहकारी बैंक, शुभ उत्तम ईट्टा उद्योगलगायतमा शेयर लगानी गरेको बताइन्छ ।
संचालक समितिले संस्थाको बास्तविक आर्थिक कारोवारको विवरण बार्षिक अडिट प्रतिबेदनमा उल्लेख गर्ने गरेको छैन । रोचक प्रसंग त सहकारी ऐन २०७४ को परिच्छेद ६ को ४१ को (२) मा भएको व्यवस्था अनुसार संचालक समितिमा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने भनिएको छ । तर, समितिमा हाल ९ प्रतिशतको मात्र प्रतिनिधित्व रहेको छ । संचालक समितिले संस्थाका विभिन्न गतिविधिहरुका सुचना शेयर सदस्यहरुलाई समयमै सम्प्रेषण नगरेको गुनासाहरु बाहिर आएका छन ।
साथै, गुमराहमा राखेर शेयर सदस्यहरुलाई सुचनाको हकबाट बन्चित गर्ने गरेको सम्वद्ध स्रोतले जानकारी दिएको छ । संस्थाको सत्रौ साधारण सभाबाट तीन महिनाका लागि बनेको छानबिन समितिलाई चाहिने आवश्यक कागजात हालको सञ्चालक समितिले दुई बर्षसम्म पनि उपलब्ध नगराएको स्रोत बताउँछ । समितिको सहयोगका कारण साधारणसभामा आफ्नो प्रतिवेदन दिन नसकेको बताइएको छ । (साँघु साप्ताहिक, २०८२ असार २३)
प्रतिकृया दिनुहोस