• मंगलबार-असार-२४-२०८२

एसमा विद्रोहः झाँक्री एमाले फर्किने संकेत

 

काठमाडौं । एकीकृत समाजवादी (एस)मा नेतृ रामकुमारी झाँक्रीका कारण विवाद बढ्न थालेको छ । लुम्बिनी प्रकरणपछि झाँक्रीको विषयले एसभित्र भूकम्प नै ल्याएको छ । झाँक्रीले लुिम्बनीमा युवा संघको प्रदेश भेलामा अध्यक्ष माधव नेपालविरुद्ध विषवमन गरेकी थिइन् । २०८२ असारको १४ गते लुम्बिनीमा भएको उक्त भेलामा सम्बोधन गर्ने क्रममा झाँक्रीले पार्टीको अर्ली महाधिवेनकोमात्रै माग गरेकी थिइनन्, भ्रष्टाचारको मुद्दा लागेका कारण अध्यक्ष नेपालको विकल्प खोज्नुपर्ने बताएकी थिइन् । त्यसक्रममा अध्यक्ष नेपालले अध्यक्ष पद नछोडेको प्रति आक्रोश पोख्दै  ‘सिनो’सँग तुलना गरेकी थिइन् । उनले सिनो बोकेर हिड्न नसकिने बताएकी थिइन् । झाँक्रीको त्यही अभिव्यक्तिले एसमा भूकम्प ल्याएकी थिइन् । 


 झाँक्रीले अध्यक्षलाई नैतिकताको पाठमात्र पढाएकी थिइनन्, सिनो धेरै बोक्न नसक्ने बताएपछि एसभित्र गएको भूकम्पको कम्पन अझै चर्किने संभावना देखिएको छ । उनले त्यसो भन्नु केही अघिमात्रै अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध भएको निष्कर्ष निकालेको थियो । पार्टीको सचिवालय बैठकले सामुहिक प्रतिरोध गर्ने भन्दै सर्वसम्मतिमा प्रतिशोध भन्ने निष्कर्ष निकालेको थियो ।

 

अनि, अध्यक्ष छोड्न नपर्ने निर्णय लिएको थियो । अध्यक्ष नेपालको नैतिकतामाथि कसैले पनि त्यसदिनको बैठकका कुरा उठेको थिएन । त्यसैले, झाँक्रीले आक्रोश पोख्दै अर्ली महाधिवेशनको माग गरेको देखिन्छ । तर, त्यही आक्रोशपछि एकीकृत समाजवादीमा उनलाई कारबाही गर्नुपर्ने माग उठेको  छ । पार्टीको सचिवालय बैठकमा नै उक्त माग उठेपछि अहिले झाँक्री थप आक्रोशित भएकी छिन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले झाँक्रीलाई स्पष्टीकरण सोधिएको सार्वजनिक टिप्पणी गरेपछि झाँक्री अहिले पाण्डेविरुद्ध पनि खनिएकी छिन् । 


पाण्डेलाई नेताको रुपमा पनि उनीले अस्वीकार गरेकी छिन् । पाण्डे वरिष्ठ उपाध्यक्ष भएको पनि उनले स्वीकार नगरेको देखिएको छ । उनले सार्वजनिक रुपमा नै को कसरी उपाध्यक्ष भएका छन् भन्ने थाहा छैन ? तिनलाई कसले नेता मान्छन् ? को हो नेतृत्व ? भन्दै आक्रोश पोखिरहेकी छिन् । 


अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष पाण्डेविरुद्ध चर्को रुपमा लागेकी झाँक्रीलाई सचिवालयका अधिकांश नेताहरुले कारबाही गर्नुपर्ने कुरा उठाएका छन् । सम्मानित नेता झलानथ खनाल, महासचिव घनश्याम भुसाललगायतका केही नेताले भने बोलेका छैनन् र अध्यक्ष माधव नेपालले पनि अहिलेसम्म मुख खोलेका छैनन् । तर, झाँक्रीका पछिल्ला गतिविधिले भने एसमा उनी रहने कि नरहने भन्ने जस्तो अवस्था देखिन थालेको एसका नेताहरुले बताइरहेका छन् । कतिपयले भने उनले पार्टीबाट निस्कनका लागि पनि त्यसरी चर्को आवाज गर्न थालेको अनुमान गरिरहेका छन् । 


झाँक्री पहिला नै एमालेमा जान चाहेकी थिइन् । चुनाव हारेलगत्तै अध्यक्ष केपी ओलीसँग भेटेर माफी पनि मागेकी थिइन् । दुईपटकसम्म माफी मागेर झाँक्रीले एमालेमा फर्किने वातावरण बनाउने प्रयास गरेकी थिइन् तर अहिलेसम्म उनलाई एमालेले स्वागत गर्ने वातावरण भने बनाइसकेको छैन । उनको समूहभन्दा एक्लै पार्टीमा आए स्वागत गर्न सकिने अध्यक्ष ओलीको आशय रहेको पनि बताइन्छ । त्यसैले, पहिला समूहसहित एमालेमा जान खोजेकी झाँक्री अहिले एक्लै जाने सोचमा रहेर चर्को अभिव्यक्ति दिन थालेको टिप्पणी भइरहेको छ । (साँघु साप्ताहिक, २०८२ असार २३) 
 

प्रतिकृया दिनुहोस