• बिहीबार-असार-२६-२०८२

स्थानीयको चन्दा र सहयोगमा लहानमा पक्की प्रहरी चौकी निर्माण

 

सिरहा, २५ असार : यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् ।

 

करिब रु २५ लाखमा निर्माण गरिएको सो भवनको आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश–प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “समाजका अगुवाहरूले जग्गा दान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि बरदान सावित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति पनि गरेका छन् ।” 

 

त्यसैगरी प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरी र समुदायको सहकार्य अपराध न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । प्रहरीले सेवाग्राहीलाई दिने सेवाबारेमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “प्रहरी सेवा निःशुल्क हो । हामी विचौलियाविहीन, पारदर्शी र समुदायमैत्री सेवामा प्रतिबद्ध छौँं ।”

 

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भन्नुभयो, “शान्ति र सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुरसम्बन्ध स्थापित गरेको छ ।”

 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्तराम सर्माले समुदायसँगको सहकार्यलाई शान्ति सुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राख्नुभयो । 

 

भवन निर्माण समितिका अध्यक्ष तथा समाजसेवी अस्मिनकुमार राउतका अनुसार विसं २०६७ मा गृहमन्त्री भीम रावलको पालामा गाउँमा डकैती जस्ता आपाराधिक घटनाले सताएको बेला पक्कीटोलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो ।

 

अहिले जीर्ण संरचनालाई स्थानीयले सहयोग जुटाएर पक्की भवनमा रूपान्तरण गरेका हुन् । अब उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी रुप दिन उहाँले माग गर्नुभयो । यस कार्यमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आर्थिक सहयोग रहेको जनाइएको छ । 

 

 

प्रतिकृया दिनुहोस