• बुधबार-जेठ-२८-२०८२

सडकहरुको दुर्दशा र डीजीहरुको सरुवा जात्रा ! : भौतिक मन्त्रालयको नेतृत्वप्रति बढ्यो गुनासो

 

काठमाडौं । विगत दुई वर्षदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वले आर्थिक मसान्तको आसपासमा सडक विभागको महानिर्देशक फेरबदल गरेर जेठ महिनामा नै गाइजात्रा देखाएको आरोप कर्मचारीहरुले लगाएका छन् । संयोग नै मान्नुपर्छ २०८२ जेठ मसान्तमा तत्कालीन महानिर्देशक सुशीलबाबु ढकाल र भरखरै रामहरि पोखरेललाई हटाउँदा पनि सो मन्त्रालयको नेतृत्व नेकपा एमालेका मन्त्रीहरुले नै गरेका थिए र छन् । अघिल्लो वर्ष मन्त्रालयको नेतृत्व रघुवीर महासेठले गरेका थिए भने हाल देवेन्द्र दाहालले गरिरहेका छन् ।


वर्तमान सरकारले सुशासनलाई आफ्नो बटमलाइन बनाउँदै आएको छ । यदि साँच्चै सरकार यो विषयमा प्रतिवद्ध थियो र छ भने जेठ महिनाको बिकास निर्माण कार्य हुने मध्य समयमा महानिर्देशकको सरुवा केका लागि भन्ने प्रश्न कर्मचारीहरुले गर्दै आएका छन् । जसले गर्दा मन्त्रालयको नेतृत्वले उचित ढंगले काम गर्न नसकेको गुनासाहरु बाहिर आउन थालेका छन् । अझ पूर्व–पश्चिम राजमार्गको काकरभिट्टा–भण्टाबारी, कञ्चनपुर–कमला सडक खण्ड निर्माणमा ढिलाई भइरहेको छ ।


नारायणगढ–बुटवल सडक खण्डको काम समयमा नहुँदा पनि सिङ्गो सरकार नै आलोचित भइरहेको छ । यो सडक भएर यात्रा गर्ने यात्रु र वरपर बसोबास गर्ने स्थानीय बासिन्दाहरुले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्दै आएका छन् । यी विषय हल गर्नेतर्फ मन्त्रालयको नेतृत्वको ध्यान खासै जान सकिरहेको पाइँदैन । पृथ्वी राजमार्गको नौबिसे–मुङलिङ सडक खण्डको विस्तार कार्य पनि अति सुस्तगतिमा भइरहेको छ । जसका कारण यात्रु, सवारी चालक र स्थानीय जनताले ठुलो सास्ती व्यहोर्नु परेको बताइन्छ ।


यस्तै मुङ्लिन–पोखरा सडकको काम पनि निकै ढिलाई हुँदा २०८२ असार मसान्तभित्र पनि विस्तार सम्पन्न नहुने प्रष्ट भइसकेको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम गति लिन सकिरहेको छैन । सानो वर्षा हुँदासमेत माथिबाट पहिरो आउँदा सवारी साधन चल्न नसकेर अलपत्र पर्नुपर्ने अवस्थामा रहेको छ । गतवर्ष २०८१ असोज ११ र १२ गते परेको अरिवल वर्षा र त्यसपछि आएको बाढीले काभ्रेको रोशी खोलाले बगाएको विपी राजमार्गको १२ किमी सडक खण्डको निर्माण कार्य द्रुतगतिमा मर्मत गर्न सकिएको छैन ।


यो अवस्थामा मन्त्री दाहालले नयाँ महानिर्देशक नियुक्ति गरेपनि वर्षा सुरु भइसकेकोले पनि अपेक्षाकृत रुपमा काम अगाडि बढाउन नसक्ने मन्त्रालय स्रोतले दावी गरेको छ । पहिला विभागमै डीजी भइसकेका सचिव केशव कुमार शर्मा, नवनियुक्त महानिर्देशक डा. विजय जैसी र मन्त्री दाहालले चाहेर पनि समयमा सडक निर्माण, मर्मत, मौसम प्रतिकूलताका कारण सम्पन्न गर्न कठिनाई हुने स्रोतको दावी छ । मन्त्रिस्तरीय निर्णय गरेर उनीहरुले बाधा व्यवधान फुकाउन त सक्लान् तर मनसुन सुरु हुने समय भइसकेकोले पनि आशातित रुपमा काम भने गर्न नसक्ने बताइन्छ ।


यो बिचमा मन्त्री दाहालले निवर्तमान महानिर्देशक पोखरेललाई यीलगायतका कामका फाइल तुरून्त पठाउन भनेर निर्देशन दिएका थिए । तरपनि उनले विभिन्न कठिनाइका कारण सडक विस्तारका काम तीव्र रूपमा अगाडि बढाउन सकेका थिएनन् । उनले विनियोजित बजेट नै आधा खर्च गर्न नसकेको आरोप लगाइएको छ ।  


२०८१ बैशाख मसान्तसम्म सडक विभागको कामको प्रगति र बजेट खर्च ५० प्रतिशतसम्म पनि हुन सकेको छैन । त्यसपछि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको इशारामा सडक विभागको महानिर्देशक पोखरेललाई हटाएको जानकार स्रोत बताउँछ ।


पोखरेलले पनि २०८१ जेठमा तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठले २०७९ फागुनमा महानिर्देशकको जिम्मेवारी दिएका सहसचिव ढकाललाई हटाएर सो पद हात पारेका थिए । गतवर्ष यही समयमा भौतिक पूर्वाधार मन्त्री रहेका  महासेठले विभागकै योजना महाशाखाकामा कार्यरत सुई पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । 


त्यसबखत पोखरेललाई महानिर्देशक नियुक्ति गर्न खोज्दा सचिव गोपाल प्रसाद सिग्देलले आर्थिक वर्षको अन्तिममा महानिर्देशक परिवर्तन गर्नु राम्रो नहुने सुझाव नदिएका पनि होइनन् । जसले सडक निर्माण र मर्मतको काममा असर पार्छ भनेर सम्झाउदा पनि तत्कालीन मन्त्री महासेठले नसुने झै गरी आफू अनुकूल जबर्जस्ती निर्णय गरेको स्रोतले दावी गरेको । हाल मन्त्रालयले पुनः त्यही घटना दोहोराएकोमा सडक विभागका कर्मचारीहरू आश्चर्य व्यक्त गरेका छन् । 


मन्त्रालय स्रोतका अनुसार, मन्त्री दाहालकै चाहनामा विभागमा महानिर्देशक फेरिएका हुन् । भौतिक सचिव शर्मालगायत केही उच्च कर्मचारीहरूले आर्थिक वर्ष सकिने बेला विभागको नेतृत्व फेर्दा गलत सन्देश जाने भन्दै सुझाव दिएको बताइन्छ । बरु आर्थिक वर्ष सकिएपछि साउन पहिलो हप्तामा नै महानिर्देशक फेर्न मन्त्री दाहाललाई सुझाव दिएका थिए । तर, मन्त्री दाहाल कुनै पनि हालतमा महानिर्देशक फेरेर भएपनि सडक निर्माण र विस्तारका कामलाई अगाडि बढाउने अडानमा अलिकति पनि लचक नभएको मन्त्रालय स्रोतले बताएको छ ।


मन्त्री दाहाल निकट स्रोतले कामको गति देखाउन आर्थिक वर्ष सकिनै लाग्दा महानिर्देशक परिवर्तन गर्नु परेको बताएका छन् । मन्त्री दाहाललाई कार्यप्रगति बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि दबाब आएको थियो । सडक निर्माण र विस्तारको प्रगति देखाउनकै लागि महानिर्देशक फेर्नु परेको स्रोतको दावी छ । (साँघु साप्ताहिक, २०८२ जेठ २६) 
 

प्रतिकृया दिनुहोस