• बुधबार-जेठ-२८-२०८२

सशस्त्रको एआईजीमा मगरले कसरी मारे बाजी ?

 

काठमाडौं । ०८२ बैशाख २ गते सशस्त्र प्रहरी बलमा एक एआईजी पद रिक्त हुन पुगेको थियो । तत्कालीन एआइजीपी चन्द्रप्रकाश गौतम उमेर हदका कारण अवकाशमा गएसँग सो पद रिक्त रहेको थियो । २०८२ जेठ १५ गते राति गृह सचिव गोकर्णमणि दुवाडी अध्यक्ष रहेको बढुवा सिफारिस समितिले सिनियरलाई पन्छाएर हेडक्वार्टरमा कार्यरत दोस्रो वरीयताका डिआईजी गणेश बहादुर ठाडा मगरलाई बढुवा सिफारिस गरेको थियो । जबकि, हाल एआईजी बढुवा गरिएको पदलाई भने भावी संगठनको नेतृत्वसँग जोडिएको छ ।


त्यसैले गर्दा आन्तरिक प्रतिस्पर्धा र शक्तिकेन्द्रले पनि दुई महिना भन्दा बढी समयदेखि बढुवा प्रक्रिया अवरुद्ध गरेको आरोप खेप्नु परेको थियो । २०८१ बैशाख १४ गते एआईजी बढुवाका लागि सात दिन सूचनासहित आवेदन माग गरिएको थियो । एक एआईजी बढुवाका लागि आठ जना सिनियर डिआईजीहरू आकांक्षी रहेका थिए । जसमा पहिलो दावेदारका रुपमा कमल गिरी रहेका थिए । दोश्रोमा मगर र त्यसपछि अन्य डिआइजी दावेदार मानिएका थिए । डिआइजीपीहरु कुल बहादुर नेम्बाङ, शम्भु सुवेदी र कालिदास धौवजीले दावी पेश गरेका थिए ।


साथै, २०८२ बैशाख २१ गते नै कुमार न्यौपाने, लक्ष्मण बहादुर सिंह, प्रदीप कुमार पाल, अञ्जनी कुमार पोखरेल, सुरेश श्रेष्ठलगायतले बढुवाका लागि आवेदन पनि दिएका थिए । जसमध्ये गिरी, मगर, नेम्बाङ र सुवेदीबीच मुख्य प्रतिस्पर्धा रहेको चर्चा बाहिर आएको थियो । तर, यसपटक संगठनमा सिनियर डिआईजी गिरीलाई पन्छाएर मगरले एआईजी बढुवामा बाजी मारेका छन् । एसएसपीमा ५ नम्बरमा रहेका गिरी डिआईजी बढुवा हुँदा भने एक नम्बरमा परेका थिए ।


बढुवा स्वभाविक !
तर, अहिले एआईजी बढुवामा दोस्रो नम्बरका डिआईजी ठाडा मगरले बाजी  मारेपछि अरु भने हेरेको हेरै हुन पुगेका छन् । भरखरै एआइजीपीमा बाजी मारेका मगर यसअघि एसएसपी हुँदा ककनी तालिम केन्द्र, इन्टेलीजेन्स महाशाखा प्रमुख भएर जिम्मेवारी संहालेका थिए । उनी डिआईजीमा बढुवा भएपछि मधेस र बागमती प्रदेशको कुशलतापूर्वक जिम्मेवारी सम्हालेर बाहिनीपतिमा उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएका थिए । मगरको बढुवा स्वभाविक रहेको संगठन स्रोतले दावी गरेको छ । धनकुटा निवासी मगर विद्यार्थीकालमा आदिवासी जनजाति विद्यार्थी संगठन र नेपाल जनमुक्ति पार्टीमा आवद्ध भएर केही समय राजनीतिमासमेत अग्रसर भएको बताइन्छ । तत्कालीन गृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवी लामिछाने हुँदा उनीहरू दुवैजनासँग निकट भएर उनले काम गरेको स्रोतले दावी गरेको छ ।


यही कारण उनी संगठनमा कुशल र व्यवसायिक अधिकृत मानिन्छन् । यद्यपि, उनी मधेस प्रदेशको २ नं  बाहिनीपति हुँदा नेपाल–भारत सीमा क्षेत्रमा सिभिल सुराकी परिचालन गरेर तस्करी लाइन खुलाई करोडांै उठाएको आरोप लागेको थियो । तर, त्यसको स्वतन्त्र रुपमा कतैबाट पनि पुष्टि हुन सकेको थिएन । मधेस प्रदेशको प्रमुख हुँदा पनि उनी उत्कृष्ट बाहिनीपतिका रूपमा पुरस्कृत हुन पुगेका थिए ।


२०८२ असोजमा संसदमा पेश गरिएको सशस्त्र प्रहरी विधेयक पारित भयो भने वर्तमान आईजीपी राजु अर्यालको चार वर्षे कार्यकाल घटेर तीन वर्षमा सीमित हुनेछ । त्यसपछि संगठनमा सिनियर एआईजी सुर्खेत निवासी नारायणदत्त पौडेल भावी आईजीपीको लाइनमा रहनेछन् । उनले करिब एकवर्ष संगठनको नेतृत्व सम्हाल्ने समाचार स्रोत बताउँछ । त्यसपछि  एआईजीपी वंशीराज दाहाल वा मगरमध्ये कसले संगठनको नेतृत्व गर्ने हुन् अहिले नै अनुमान गर्न हतारो हुने गृह स्रोतले बताएको छ ।


दाहालले आईजीपीको नेतृत्व गर्ने अवसर पाएको खण्डमा १० महिना मात्र गर्न पाउने स्रोतको दावी छ । यदि, हालै बढुवा भएका एआइजीपी मगरले बाजी मारेको खण्डमा भने पुरै तीन वर्ष संगठनको नेतृत्व गर्नसक्ने बताइन्छ । त्यसकारण पनि एआईजी बढुवा ढिलाई मात्र भएनकि पेचिलोसमेत बन्न पुगेको स्रोतको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस