• शुक्रबार-जेठ-३०-२०८२

महालेखा नियन्त्रकको कार्यालय पनि नेतृत्वविहीन !

 

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालय २०८२ जेठ २३ गते शुक्रवारदेखि नेतृत्वविहीन हुन पुगेको छ । कार्यालयका प्रमुख नियन्त्रक एवम् सचिव रघुराम विष्ट ५८ वर्षे उमेर हदकारण अवकाशमा गइसकेका छन् । उनलाई सरकारले यसअघि करिब १२ दिनको लागि मात्र गण्डकी प्रदेशको प्रमुख सचिवबाट उक्त कार्यालयमा सरुवा गरेको थियो । उनको अवकाशसँगै उक्त स्थानमा हाल श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिव डुण्डुराज घिमिरेको बढुवा हुने बताइन्छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त सचिव पदबारे लोकेसेवा आयोगलाई जानकारी गराइसकेको खबर छ । अब आयोगले तीनजना वरिष्ठ सहसचिवको नाम बढुवाका लागि सिफारिस गर्ने तयारी अगाडि बढाइसकेको छ । संभवत रिक्त सचिवमा यही हप्ताभित्र मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका वरिष्ठ तीन सहसचिवहरुमध्ये घिमिरेलाई बढुवा गर्नसक्ने जानकार स्रोत बताउछ । उता, अर्थ र बन तथा वातारण मन्त्रालयमा एक–एकजना सहसचिवको दरवन्दी रिक्त रहेका छन् ।


रिक्त पदमा मन्त्रिपरिषद बैठकले आजक दिनसम्म पनि नयाँ सहसचिवहरु खटाउन सकिरहेको छैन । ती मन्त्रालयमा कार्यरत दुवैजना सहसचिव बढुवा भएर प्रमुख प्रदेश सचिवमा पदस्थापनसमेत भइसकेका छन् । अर्थमा कार्यरत रहेकै बखत शोभाकान्त पौडेल सचिव बढुवा भएर गण्डकी प्रदेशमा पदास्थापन भइसकेका छन् । वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेकै बखत भुपाल वरालको सचिवमा बढुवा भएसँगै लगत्तै बाग्मती प्रदेशको प्रमुख सचिवमा पदास्थापन भइसकेको छ ।


यही कारण यी दुई महत्वपूर्ण मन्त्रालयमा दुई सहसचिवको दरवन्दी रिक्त हुँदासमेत सरकारले नयाँ सहसचिवहरु खटाउन सकिरहेको छैन । जबकि, सामान्य प्रशासन र गृह मन्त्रालयमा गरी डेढ दर्जन भन्दा बढी सहसचिवहरु जिम्मेवारी नपाएर बरण्डामा हाजिर गरेर तलव पड्काउँदै आएका छन् । यो विषयलाई यी दुवै मन्त्रालयका नेतृत्वले अनदेखा गरी बसिरहेकोमा आलोचना भएको छ । (साँघु साप्ताहिक, २०८२ जेठ २६)

प्रतिकृया दिनुहोस