• बिहीबार-जेठ-२९-२०८२

कब्जियत, ग्यास र अपच भएमा के नखाने ? 

 

गर्मी मौसममा मानिसहरू प्रायः पेट सम्बन्धी समस्याबाट ग्रस्त हुन्छन् । गर्मीमा विशेषगरी  ग्यास, कब्जियत र अपच जस्ता समस्याले हैरान पार्ने गर्दछ । गर्मी मौसममा पाचन प्रक्रिया सुस्त हुने गर्दछ । त्यसैगरी, गर्मीमा खानाहरु छिटो बिग्रने र बासी हुने गर्दछ । बासी खाना खाँदा स्वास्थ्यलाई हानी पु¥याउन सक्छ र अपच, ग्यासको समस्या हुन सक्छ । गर्मीमा कब्जियत, ग्यास र अपच जस्ता समस्याबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ । 


के नखाने ?
तेलयुक्त खाना :
 गर्मीमा कब्जियत, ग्यास र अपचको समस्याबाट बच्नको लागि तारिएका खानाबाट टाढा रहनु महत्वपूर्ण हुन्छ । तारेका खानाहरु अधिक चिल्लो हुने गर्छन्, जसलाई पचाउन शरीरलाई धेरै समय लाग्छ । यस्तो अवस्थामा पेट फुल्नुका साथै पेट जलन र छाती पोल्ने समस्या पनि हुन सक्छ ।


प्रशोधित खाना : गर्मीमा कब्जियत र अपचको समस्याबाट बच्न प्रशोधित खाना पनि खानु हुँदैन । प्रशोधित खानामा अखाद्य चिजहरुको मिसावट हुन्छ र यसमा सोडियमको मात्रा पनि उच्च हुने गर्दछ । यसले शरीरमा पानीको मात्रा न्यून गर डिहाइड्रेट गराउँछ । यस्तो अवस्थामा प्रशोधित खाना सेवन गर्नाले पेटको समस्या हुन सिर्जना हुन सक्छ र पेट फुल्ने समस्या बढ्न सक्छ ।


मसालेदार खाना : गर्मीयाममा मसलादार खाना खानबाट पनि बच्नुपर्छ । धेरै मात्रामा मसालेदार खानाको सेवनले पेटमा जलन र दुखाई बढाउन सक्छ । साथै, यसले शरीरलाई डिहाइड्रेट गर्छ, जसले गर्दा अन्य पाचन समस्याहरू पनि हुन सक्छन् ।


क्याफिनयुक्त पेय पदार्थहरू : धेरै मानिसहरू दिनको सुरु हुँदा कफी पिउने गर्छन् । त्यसैगरी, शरीरलाई उर्जावान राख्नका लागि इनर्जी ड्रिंक्सहरु पिउने गरिन्छ । तर, यस्ता चिजहरुको अत्यधिक सेवनले पेटको समस्या सिर्जना हुन्छ । 


बोसोयुक्त र क्रिमी खाने चिजहरु : बोसोयुक्त र क्रिमी खानेकुराको सेवनले पाचन प्रक्रियालाई ढिलो बनाउँछ । यसले पेटमा ब्याक्टेरिया बढ्न सक्छ । गर्मीको दिनमा यस्ता चीजहरू खानबाट बच्नुपर्छ । यस्ता चीजहरूको अधिक सेवनले पेटमा ग्यास बढ्ने, पेट फुल्ने र अपच जस्ता धेरै समस्याहरू उत्पन्न हुन सक्छन् । यसबाट झाडापखाला लाग्ने जोखिम पनि हुन्छ ।


–पेटमा ग्यास भएको अवस्थामा बन्दा, काउली, सिमी, दाल, प्रशोधित पीठो र दूध तथा दुग्धजन्य पदार्थको सेवन कम गर्नुपर्छ । 


–कब्जियत र ग्यासको समस्याबाट राहत पाउन सुप र तरकारीको जुस पिउन सकिन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ, जसले अपच र कब्जियतको समस्या हटाउँछ ।


–बिहान खाली पेटमा ज्वानोको पानी, मनतातो पानीमा कागतीको रस, दही आदि खान सकिन्छ । यसको सेवनले पेटमा ग्यास बन्न दिँदैन । (साँघु साप्ताहिक २०८२ जेठ २६) 
 

प्रतिकृया दिनुहोस