काठमाडौं । मधेशमा राजनीतिक ध्रुवीकरणको संकेत दिँदै आएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको बहुप्रतिक्षित एकता २०८२ वैशाख १७ गते अन्तिम घडीमा पुगेर असफल भएको छ । वैशाख १७ गते प्रज्ञा भवनमा एकता घोषणा गर्ने भनिएको कार्यक्रम अन्तिम क्षणमा स्थगित भएको हो । एकता घोषणा गर्ने दिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अचनाक विरामी परेको र संस्थापक अध्यक्ष एवं संरक्षक रेशम चौधरी सोही दिन सर्बोच्च अदालतका एकजना अधिकृतको नक्कली पत्रका आधारमा प्रहरीले पक्राउ गरेपछि सो दिन पाँच घण्टासम्म राजनीतिक, प्रशासनिक, प्रहरी फोर्स र न्यायिक क्षेत्रमा हंगामा मच्चियो । सो दिन चौतर्फी हंगामा मच्चिएपछि सर्बोच्च अदालतको पत्र नै नक्कली भएका पुष्टि भएपछि सर्बोच्च अदालत नै रेशम चौधरीलाई रिहा गर्न नेपाल प्रहरीलाईपत्र लेखेपछि उनी पाँच घण्टा डिल्लीबजार खोरको हिरासतबाट रिहा भएका थिए ।
अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनामा पठाउने सर्र्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला अदालत काठमाडौंले २०८२ वैशाख १९ गते चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोपमा पक्राउ परेका विष्टलाई २०८२ वैशाख १९ गते जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
दुई दलको एकता चाहिं किन भाँडियो त ?
स्रोतका अनुसार, एकताको संरचना र नेतृत्व बाँडफाँटका विषयमा सहमति जुट्न नसक्दा एकता प्रक्रियामा अवरोध आएको हो । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू अध्यक्ष, रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष, रेशम चौधरीलाई संरक्षक बनाउने गरी एकता घोषणाको प्रस्ताव गरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टीले नयाँ नाम, नयाँ संरचना र समान प्रतिनिधित्वको आधारमा पार्टी एकता गर्नुपर्ने अडान राखेको थियो ।
भागबण्डाको प्रस्ताव यस्तो छ
नागरिक उन्मुक्ति पार्टीले २६ सदस्यीय सचिवालय, ५१ सदस्यीय कार्यकारिणी समिति र ३५० सदस्यीय केन्द्रीय समितिमा दुवै पक्षलाई समान ५०–५० प्रतिशत भागबण्डा गर्ने प्रस्ताव अघि सारेको थियो । सो प्रस्ताव सीके राउत पक्षलाई अस्वीकार्य भएको स्रोत बताउँछ । एकतामा अवरोध आएपछि नागरिक उन्मुक्ति पार्टीभित्र रञ्जिता श्रेष्ठ र रेशम चौधरीबीचको निकटता अझ बलियो बनेको देखिन्छ । पछिल्ला निर्णयमा दुवै नेताबीच खासै मतभेद नरहेको पार्टीभित्रको धारणा छ ।
जिम्मेवारी बाँडफाँड गर्दा
चितवनबाट पूर्व–पश्चिम विभाजन
एकता सफल भएको खण्डमा पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने सहमति भइसकेको थियो। चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टीको ‘ढकिया’ रहने प्रस्तावमा पनि दुवै पक्ष सहमत थिए। संरक्षक रेशम चौधरी चितवनबाट पश्चिमको पार्टी नेतृत्व गर्ने र सीके राउत पूर्वको जिम्मेवारी सम्हाल्ने सहमतिमा समेत पुगिएको थियो ।
संरचनामा असहमति, विश्वासमा चिसोपन
१. पार्टी एकता प्रस्तावको संरचना तुलना
पक्ष जनमत पार्टी (सीके राउत) नागरिक उन्मुक्ति पार्टी (रेशम÷रञ्जिता)
अध्यक्ष सीके राउत नयाँ नाम, नयाँ अध्यक्ष प्रस्ताव
सह–अध्यक्ष रञ्जिता श्रेष्ठ सह–अध्यक्ष सहमति
संरक्षक रेशम चौधरी संरक्षकमा सहमति
निर्णय संरचना स्पष्ट नगरेको २६ सचिवालय, ५१ कार्यकारिणी, ३५० केन्द्रीय समिति
भागबण्डा स्पष्ट छैन ५०–५० प्रतिशतको प्रस्ताव
२. सांसद संख्या र शक्ति सन्तुलन
संभावित नयाँ पार्टीः १० सांसद
नागरिक उन्मुक्तिः ४ जना
जनमत पार्टीः ६ जना
मधेश क्षेत्रका प्रमुख दलहरूको सांसद संख्या (२०८०)
पार्टी सांसद संख्या
जनता समाजवादी (उपेन्द्र यादव) ७
नागरिक उन्मुक्ति + जनमत (संयुक्त) १०
(यदि एकता हुन्थ्यो)
एकीकृत समाजवादी (अशोक राई) ७
मधेशको शक्ति सन्तुलनमा धक्का
संसदमा यी दुई पार्टीको एकताबाट १० जना सांसदसहितको शक्ति बनेर उदाउने लक्ष्य थियो, जसले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभन्दा ठूलो शक्ति बन्ने थियो। नयाँ शक्ति मधेशमा उपेन्द्र यादवको विकल्पका रूपमा स्थापित हुने सपना बोकेको थियो, जसलाई राउतले लामो समयदेखि अगाडि सार्दै आएका छन् ।
हालसालै जनता समाजवादी पार्टीबाट टुटेर ७ जना सांसदसहित अशोक राईको नेतृत्वमा छुट्टै समूह बनेको छ । यस्तो अवस्थामा मधेशमा शक्तिको सन्तुलन पुनः परिभाषित हुने स्पष्ट संकेत देखिँदैछ ।
निष्कर्ष
एकता असफलताले मधेशको क्षेत्रीय राजनीतिमा तत्कालीन ध्रुवीकरणलाई स्थगनमा पारे पनि रेशम चौधरी र सीके राउतका आकांक्षाहरू मरेका चाहिं छैनन् । आगामी दिनमा पुनः एकताको सम्भावना जीवित रहन सक्ने अनुमान विश्लेषकहरू गर्छन् । सिकेले आफ्नो दलभित्र सन्तुलन र एकतामा सहमति लिनु जरुरी छ । अनि, नेतृत्वमा ‘को अगाडि, को पछाडि’ भन्ने द्वन्द्व समाधान नगरेसम्म मधेश केन्द्रित दलहरूबीच दीर्घकालीन सहकार्य कठिन हुने देखिन्छ ।
प्रतिकृया दिनुहोस