• बुधबार-बैशाख-१०-२०८२

डीआईजीमा बढुवाको प्रतिस्पर्धामा को को ? : प्रहरीमा यी डीआईजी बरालमाथि किन भयो अन्याय

 

काठमाडौं । ०८२ बैशाख ४ गते बिहीवार नेपाल प्रहरीमा रिक्त रहेका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सिनियर प्रहरी नायव महानिरीक्षकहरूलाई बढुवा सिफारिस गरिएको छ । जसमा डीआईजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी रहेका छन् । उक्त बढुवा सिफारिसमा केसीलाई एक तह तल र अधिकारीलाई माथि पारेर एआईजी बढुवा सिफारिस गरिएको छ । एआईजी बढुवामा यसअघि रवि लामिछाने गृह मन्त्री हुँदा व्याच टपेर २०५४ सालका कार्की, केसी र अधिकारीलाई बढुवा गरिएको छ ।


तर, २०५३ को व्याचका राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका नमस्ते टोलीका सिद्धि बिक्रम शाह, उमाप्रसाद चतुर्वेदी, डम्बर विक, सुशील सिंह राठौर र हिमालय श्रेष्ठलाई बढुवा रोकेर न्याय दिन अपेक्षा गरिएको गुनासो उनीहरुले गरेका छन् । आइजीपी दीपक थापाले त्यसो नगरी सिनियर डीआईजीहरू सबैलाई बढुवा गरेर संगठनमा यसअघि बिगारिएको थिति बसाल्न खोजेको अर्थमा हेरिएको छ ।


नमस्ते टोलीका डिआईजीहरू शाह, चतुर्वेदी, विक, राठौर र श्रेष्ठ अहिले बढुवामा छुटेपनि २०८२ को जेठ, भदौ र कार्तिक महिनासम्ममा उनीहरु सबै एआईजीमा बढुवा हुने लाइनमा रहेको बताइन्छ । २०८२ जेठ अन्तिममा पोखरेल अवकास भएर रिक्त हुने एक एआईजीमा सिद्धि बिक्रम शाह बढुवा हुने स्रोतले बताएको छ । 


डीआईजी बरालमाथि अन्याय 


नेपाल प्रहरीमा २०७८ पुस १४ मा प्राविधिक डीआईजीमा बढुवा भएका इन्जिनियर फणिन्द्र बराल वैशाख ४ गते बिहीवारको एआईजीमा बढुवा सिफरिसमा नपर्दा उनीमाथि अन्याय हुन पुगेको चर्चा छ । २०७९ असार ८ मा उनीपछि डीआईजीमा बढुवा भएका वसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेशराज जोशी, भीम बहादुर ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरूङ, दुर्गा सिंह र किरण राणा सबै एआईजी बन्न सफल भएर घर गए । दीपक थापा आईजीपी, सुदीप गिरी र टेक बहादुर तामाङ एआईजीपीमा रहेकै छन् ।     


त्यसपछि बढुवा भएका कुबेर सिंह कठायत र जनक भट्टराईसमेत एआईजी बढुवा भएर पनि अवकासमा गइसकेका छन् । तर, बराल भन्दा ६ महिनापछि डीआईजीमा बढुवा भएका दीपक थापाले संगठनको नेतृत्व गर्न अवसर प्राप्त गरे । कुनै समय आफू भन्दा ६ महिना जुनियर रहेका थापालाई यतिखेर आईजीपी मानेर सलाम ठोक्दै उनी तन्किन बाध्य  छन् । अझ रोचक विषय त आफू भन्दा तीन वर्ष जुनियर डीआईजीहरूलाई एआईजीका रूपमा सलाम गर्नुपर्ने बाध्यतामा बराल परेका छन् ।


बराललाई परेको यो अन्यायलाई सम्बोधन गर्न प्राविधिक एक एआईजीको  विशेष दरबन्दी सिर्जना गरी बढुवा गर्न तत्कालीन आईजीपी कुँवरले गृह मन्त्रालयमा सिफारिस पनि नगरेका भने होइनन् । तर, तत्कालीन गृह सचिव (हाल मुख्यसचिव) एक नारायण अर्याल, वर्तमान सचिव गोकर्णमणि दुवाडी र गृहमन्त्री रमेश लेखकले कुनै तत्परता नदेखाउँदा उनी अन्यायमा पर्दै आएका छन् । जसले गर्दा उनी प्रहरीमा अपमान र पीडा सहेर जागिर खान बाध्य भएको संगठन स्रोतले जानकारी दिएको छ ।


डीआईजी बढुवाको प्रतिस्पर्धामा को को ?


प्रहरी हेडक्वाटरले रिक्त ६ एआईजीमा बढुवा सिफारिस गरिसकेको छ । त्यसैले रिक्त रहेका १० डीआईजीमा बढुवा हुन यतिखेर तीव्र प्रतिस्पर्धा र चलखेल सुरु भएको बताइन्छ । प्रहरी संगठनले डीआईजीमा बढुवाका लागि कार्य सम्पादनमा उत्कृष्ट, योग्य, क्षमतावान, वरिष्ठ र कुनै कारवाहीमा नपरेका एसएसपीहरूको सूची तयार पार्न थालेको बताइएको छ । एआईजी बढुवा सिफारिसमा कुनै उजुरी परेन भने संभवत अर्काेसाता सम्ममा १० जना डीआईजीको पनि बढुवा सिफारिस हुने प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ ।

 

हाल १० डीआईजीको पद रिक्त रहेको छ । यी पदमा बढुवाका लागि १५ जना सिनियर एसएसपीहरू स्वाभाविक दावेदार मानिएका छन् । कतिपयले ब्याच उछिनेर बढुवा हुन चलखेल गरिरहेको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार, डीआईजीपी बढुवाका लागि २०५६ असार ३ गते प्रहरी निरीक्षकमा भर्ना भई आधारभूत तालिमको १ सय १२ नम्बर टोली प्रमुख दावेदार मानिन्छ ।

 

यो टोलीका पनि तीन चरणमा एसएसपी बढुवा भएका अधिकृत नै खरो प्रतिस्पर्धामा उत्रिएकाछन् । यस बाहेक अन्य लटका एसएसपीहरू पनि बढुवा हुन चलखेलमा सक्रिय रहेको स्रोतको भनाई रहेको छ । डीआईजीपी बढुवामा वरिष्ठता मिचिएन भने १ सय १२ नम्बर टोलीकोबीचमा नै चर्को प्रतिस्पर्धा हुने बताइएको छ । डीआईजीमा बढुवाको वरिष्ठ सूचीमा रहेका एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी रहेका छन् ।

 

यसैगरी, एसएसपी शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा पनि बढुवाका दावेदार मानिन्छन् । डीआइजीपीमा बढुवाको दावेदारहरुमा गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि रहेका छन् । माथि उल्लेखित नामहरुमध्येबाट नै १० जना डीआईजीपीमा बढुवा हुने प्रहरी संगठन स्रोतले जानकारी दिएको छ । स्रोत भन्छ ‘यो टोली २०८० वैशाख २४ गते एसएसपी बढुवा भएको थियो ।’


डीआईजीपीमा बढुवापछि रिक्त १० सीटमा बढुवा हुन एसएसपीहरूले राजनीतिक शक्ति केन्द्रहरूबाट पहुँच पु¥याएर बढुवा हुन चलखेल गरिरहेको चर्चा छ । तर, आईजीपी थापाले भने एआइजी बढुवामा जस्तै वरिष्ठ र वरीयताबाटै बढुवा गर्ने अडान लिइरहेको बुझिएको छ । (साँघु साप्ताहिक, २०८२ वैशाख ८) 
 

प्रतिकृया दिनुहोस