• बिहीबार-बैशाख-११-२०८२

नन्द पुन माओवादीका अवैधानिक उपाध्यक्ष  

 

काठमाडौं । माओवादी केन्द्रको उपाध्यक्ष मनोनित भएका नन्दबहादुर पुनको विषय माओवादीमा एकपछि अर्को गर्दै चर्चामा रहेको छ । अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्ष बनाउने प्रयास निकै पहिला गरेका थिए तर पार्टीभित्र सहमति जुट्ने संभावना कम भएका कारण केही समय रोकिएका थिए । तर, जब उपाध्यक्ष भए अनि चियोचर्चो बढेको छ । माओवादी नेताहरुले पुनलाई उपाध्यक्ष बनाएको विषयमा विरोध भने औपचारिक रुपमा गर्न सकेका छैनन् ।

 

नैतिकरुपमा निकै तल्लोस्तरको निर्णय पुन स्वयम्ले लिएका हुन् । उपराष्टपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु आफैमा पदको गरिमामाथि प्रश्न उठाउने निर्णय थियो । माओवादीभित्रै पनि यस्तो निर्णयले गणतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताइरहेका छन् । तर, पुनको विषयमा बोल्न सकेका छैनन् । 


अहिले पुनको त्यो नैतिक प्रश्नसँगै व्यवस्थामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको प्रकरणबाहेक माओवादीको विधानको कुरा पनि उठेको छ । अहिले पुनलाई उपाध्यक्ष बनाउने निर्णय विधानविपरीत पनि रहेको छ । माओवादी स्रोतका अनुसार, उनलाई उपाध्यक्षमध्ये कुन नम्बरमा राख्ने भन्ने पनि विवाद रहेको छ । माओवादी नेताहरुको भनाइमा पार्टीको विधानमा अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्ष, र तीन जना उपाध्यक्ष बनाउने व्यवस्था रहेको छ । तर, पुनलाई ल्याएपछि ४ जना उपाध्यक्ष हुने भएका छन् ।

 

त्यो विधानविपरीत भएको छ । विधानको विपरीत हुने गरी अध्यक्ष प्रचण्डले निर्णय लिएको विषयमा अहिलेसम्म औपचारिक रुपमा प्रश्न कुनै पनि नेताले उठाएका छैनन् । त्यसो त, उनको वरीयता पनि कुन हुने भन्नेमा प्रश्न रहेको छ । कतिपयले पार्टीको चौथो नम्बरमा रहने गरी वरीयता तय भएको चर्चा गरेका छन् । त्यसो हुँदा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछि पुनलाई उपाध्यक्ष बनाउने तयारी भएको छ । 


उपाध्यक्ष अग्नि सापकोटा र पम्फा भुसालभन्दा अघि पुनलाई राख्न खोजिएको छ । महराभन्दा पछि बस्न भने पुन नै राजी भएका हुन् । महरालाई पुनले गुरुको रुपमा मान्ने गरेका छन् । सोहीकारण उनीभन्दा पछि रहने गरी वरीयता स्वीकार गर्न खोजेका छन् । त्यसो हुँदा भावी नेतृत्वको रुपमा दावी गरिरहेका वर्षमान पुन र नारायणकाजी श्रेष्ठभन्दा अघि पुन हुनेछन् । त्यसले पनि उनीहरुलाई थप समस्या भने पारेको छ । अहिले उनीहरु पुनको विषयमा मौनजस्तै अवस्थामा रहेका छन् ।

 

त्यसैले, माओवादीभित्र पुनलाई विधानविपरीत बनाएको उपाध्यक्ष र वरीयता नै विवादको विषय बन्ने देखिएको छ । पुन प्रचण्डको चाकडी पनि खुबै लागेका छन् । प्रचण्डसँग मधेश जागरण अभियानमा सँगसँगै एकसाथ हिंडिरहेका छन् । अन्य शीर्ष नेताहरु भने पुनसँग जोडिएका छैनन् । (साँघु साप्ताहिक, २०८२ वैशाख ८) 
 

प्रतिकृया दिनुहोस