• बुधबार-बैशाख-३-२०८२

गणतान्त्रिक हिन्दू राष्ट्रको सन्दर्भ पुनः उठ्ने ? : मोदीको ‘संस्कृति’ ट्वीटले ल्यायो हलचल 

 

काठमाडौं । २०७२ सालको असोज ३ गते जारी भएको नेपालको संविधानले धर्म निरपेक्षता अंगाल्दै लामो समयदेखि चलिआएको हिन्दू राष्ट्रको परिचयलाई परिवर्तन ग¥यो । यही परिवर्तनले त्यो बेला भारत सरकार, विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई असन्तुष्ट बनाएको देखिएको थियो । संविधान जारी भएपछि भारतले नेपालमाथि नाकाबन्दीसमेत गरेको स्मरणीय छ–जुन न केवल राजनीतिक, तर मानवीय संकटको रूपमा समेत नेपाली जनताले अनुभूति गरेका थिए ।


यसै सन्दर्भमा, २०८१ चैत २२ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैंककमा भएको ४५ मिनेट लामो भेटवार्ता र त्यसपछिको मोदीको ट्वीटमा आएको ‘संस्कृति’ भन्ने शब्द अब गहिरो विश्लेषणको विषय बन्न पुगेको छ । सामान्य कूटनीतिक शिष्टाचारजस्तो देखिने यो शब्दले नेपाली राजनीतिक र कूटनीतिक वृत्तमा हलचल ल्याएको छ ।


‘संस्कृति’ शब्दको संकेत के हो ?
भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका थिए कि “नेपालका प्रधानमन्त्री ओलीसँग समृद्ध आपसी सम्बन्ध, धार्मिक र सांस्कृतिक सहकार्यबारे सकारात्मक छलफल भयो ।” ‘धार्मिक र सांस्कृतिक सहकार्य’ भन्ने वाक्यांश नेपाली संवेदनशील राजनीतिक सन्दर्भमा निकै सशक्त संकेतको रूपमा देखिएको छ ।


विशेषगरी, गणतान्त्रिक हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा रहेको धारणा राख्ने समूहहरू र भारत सरकारबीचको सम्बन्धलाई हेर्दा, यो एक राजनीतिक संकेतको रूपमा बुझ्नेहरू बढेका छन् । न केवल ट्वीटमा प्रयोग गरिएको शब्दले, तर पछिल्लो समय भारतले नेपालका संविधानप्रति स्पष्ट समर्थन नजनाएको व्यवहारले पनि आशंका बलियो बनाएको छ ।


के नेपालतर्फ संविधान संशोधनको दवाव ?
पछिल्ला घटनाक्रमहरूले देखाउँछ कि भारत अझै नेपालका संविधानप्रति ‘सन्तुलित मौनता’ अपनाइरहेको छ । न त उसले संविधानको स्पष्ट स्वागत गरेको छ, न त धर्म निरपेक्षता स्वीकार गरेको स्पष्ट संकेत दिएको छ । यस्तो अवस्थामा, संविधानमा हल्का संशोधनमार्फत ‘गणतान्त्रिक हिन्दू राष्ट्र’को खाका कोर्ने दबाब भारततर्फबाट पुनः आउन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा यस विषयमा गम्भीर बहस सुरु भएको छ–के भारत सांस्कृतिक सहकार्यको नाममा नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने पक्षमा कूटनीतिक रूपले काम गरिरहेको हो ?


निष्कर्ष
बैंककमा भएको छोटो समयको भेटवार्ताले नेपाल–भारत सम्बन्धमा धेरै गहिरा प्रश्नहरू उब्जाएको छ । ‘संस्कृति’ शब्द कूटनीतिक सन्दर्भमा हलुका होइन, यो शब्दले नेपालका भूराजनीतिक समीकरणमा नयाँ तह खोल्नसक्ने सम्भावना रहेको छ । अब नेपाली नेतृत्वको कूटनीतिक सतर्कता र नागरिक समाजको विवेकले मात्र यो बहसलाई सन्तुलनमा राख्न सक्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १)


 

प्रतिकृया दिनुहोस