काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार ईसेवा अकाउन्ट ह्याक गरेका छन् ।
ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको छ ।
उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए । चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए । ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने ।
ईसेवाको अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए । ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने । बुढाले ती चार हजार व्यक्तिलाई एसएमएस पठाए । उक्त म्यासेज 'द अलर्ट', 'एटी अलर्ट' नामका थिए । ती ठगीका लिंक थिए ।
बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न भनेका थिए । ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्याएर रकम चोरीको जिसीको भनाइ छ ।
यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
प्रतिकृया दिनुहोस