• बुधबार-फाल्गुण-२८-२०८१

बौद्धिक जमात नै पार्टीको झन्डामुनि बस्नु राम्रो होइन : हामी कुनै दलको झोला बोकेर हिंड्दैनौं

 

(ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुमा जन्मिनुभएका सुशील बोगटीले अंग्रेजी विषयमा एम.फिलसम्मको अध्ययन गर्नुभएको छ । शैक्षिक सेवामा क्रियाशील बोगटी २६ वर्षदेखि ललितपुर महालक्ष्मी नगरपालिका–८, लुभुमा रहेको बालकुञ्ज अंग्रेजी माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । पछिल्लो समय कतिपय  निजी विद्यालयहरुले  शिक्षालाई कमाइको भाँडो  बनाइरहेको पाइन्छ ।  शिक्षामा भइरहेको व्यापार, निजी विद्यालय र सरकारी विद्यालयको विकृतिलगायतका विभिन्न शैक्षिक विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रिकेश रिजाल ‘क्षितिज’ले प्रधानाध्यापक बोगटीसँग गरेको कुराकानीको सम्पादित अंश–सम्पादक ।)

 

० तपाईंलाई शिक्षा के हो जस्तो लाग्छ ?
छोटकरीमा भन्नुपर्दा शिक्षा देश र समाज विकासको आधार स्तम्भ हो ।


० तपाईं विगत २६ वर्षदेखि निजी विद्यालयमा शिक्षण गर्दै आउनु भएको छ । समयमै उच्च शिक्षा प्राप्त गरेको भए तापनि सरकारी जागिरमा नलागेर निजी क्षेत्रको शिक्षण पेशा नै किन रोज्नु ुभयो ?
बालकुञ्ज स्कुल वि.स २०४१ सालमा  मेरो बुबाले नै स्थापना गर्नुभएको हो । मेरो बुबा  पनि शिक्षण पेशामै भएकोले कहिलेकहीँ शिक्षकहरू उपस्थित नहुँदा विद्यार्थीहरुलाई पढाउन लगाउनु हुन्थ्यो । त्यसपछि म निजी विद्यालयमै  पढाएर आएको हुनाले अन्य पेशामा जाउँ जस्तो लागेन । एउटा मालीलाई फूल फुल्दा जति खुसी लाग्छ । म पनि यसैमा खुसी भएर  निजी विद्यालयमा नै  निरन्तरता दिँदै गएँ । 


० शिक्षाको व्यापारमा एकदम फाइदा हुन्छ भनिन्छ । शिक्षामा गरेको लगानीको प्रतिफल कस्तो हुने रहेछ ?
हामीले आर्थिक फाइदाको लागि  मात्र लगानी गरेको होइन । विद्यार्थीहरुलाई राम्रो शिक्षा दिनको लागि बौद्धिक लगानी गरेको हो । बच्चालाई राम्रो  शिक्षासँगै संस्कार पनि सिकाइयो भने उसको व्यवहारमा परिवर्तन गर्न सकिन्छ भन्ने हेतुले नै हामीले बौद्धिक लगानी गरेका हौं । धनाढ्य बन्न यो पेशा रोजेका होइनौ । 


० तपाईंले शिक्षा क्षेत्रमा यत्रो प्रयासहरु गर्दैगर्दा राज्यको साथ कत्तिको पाउनु भएको छ त ?
सरकारले निजी विद्यालयलाई  कुनै पनि चासो दिएको छैन । निजी स्कुलले आफ्नै स्रोत र साधनबाट राज्यको सेवा गरेको छ । दुखद पक्ष राज्यको केही कुनै साथ सहयोग छैन ।


० निजी विद्यालयहरुले आफ्नो विद्यालयको नतिजा  राम्रो देखाउनको लागि बाहिर जति स्टन्ट देखाएपनि भित्र भनेको जस्तो हुँदैन भनिन्छ नि ?
  हामी हरेक कुरा यथार्थमा देखाउँछौं । हरेक विद्यार्थीमा हरेक किसिमको प्रतिभा हुन्छ ।  हामी विद्यार्थीहरुलाई इच्छा अनुसार चल्न, सिक्न दिन्छौं । अन्त जस्तो यो त गर्नैपर्छ भनेर हामी ढिपी पनि गर्दैनौं । हाम्रो विद्यालय बाहिर जस्तो रुपमा चिनिएको छ भित्र पनि त्यहीँ नै छ ।


० एउटा राम्रो सरकारी स्कुलमा पढाउने शिक्षकले आफ्ना छोराछोरी किन निजी विद्यालयमै पढाउन चाहन्छ्न् ?
अभिभावकले छोराछोराछोरी पढाउनको लागि निजी विद्यालयमा जति पैसा खर्च गर्नुभएको छ । त्योभन्दा  बढी प्रत्येक सरकारी विद्यालयमा सरकारले लगानी गरेको देखिन्छ । हामी हाम्रो विद्यालयमा  विद्यार्थी भर्ना भइसकेपछि राम्रो मान्छे बनाउनुपर्छ भन्नेतर्फ लाग्छौं । यदि राम्रो भएन भने अभिभावकले पनि हामीलाई आएर प्रश्न गर्नुहुन्छ । त्यसैले निजी  स्कुलका शिक्षकहरूले विद्यार्थीलाई आफ्नै बालबच्चा जस्तै गरेर पढाउनुहुन्छ । निजी विद्यालयमा चिन्ता, चासो र मेहनत हुने भएकोले अभिभावकहरूले निजी विद्यालय रोज्नु भएको हो । 


० निजी विद्यालयका शिक्षकले थोरै तलबमा पनि राम्रो पढाउछन् तर सरकारी विद्यालयका शिक्षकलाई धेरै तलब दिँदा पनि राम्रो पढाउँदैनन् भनिन्छ । यो के कारण हो ?
निजी विद्यालयमा  राम्रो पढाइ भएन भने विद्यार्थीहरू स्कुल आउँदैनन् । स्कुलको भविष्य पनि अन्योलमा हुन्छ । त्यसैले विद्यार्थीको रुची अनुसार राम्रो शिक्षकलाई छनोट गरेर राखिन्छ । यदि विद्यार्थीले मन पराएनन् भने हामीले शिक्षकलाई  सुध्रिन वा अर्कै  विकल्प रोज्न लगाउछौँ । तर, सरकारी स्कुलमा प्राय स्थायी शिक्षकहरू भएकोले उहाँहरुको जागिर जाने डर  हुँदैन । राज्यले पनि उहाँहरुलाई छुट्टै नजरले हेर्छ त्यसैले पनि सरकारी विद्यालयमा समस्या आएको हो ।


० उसो भए  सरकारी विद्यालयलाई कसरी सुधार्न सकिन्छ त ?
 सबभन्दा पहिला  हामीले विश्वमा शिक्षा प्रणाली कतातिर जाँदैछ भन्ने कुराको ज्ञान लिनुपर्छ । जहाँ प्रधानाध्यापक राम्रो हुन्छ त्यहाँ शिक्षण प्रणाली पनि एकदम राम्रो हुन्छ । सबैले चार जिपिए नै ल्याउनुपर्छ भनेर घोकन्ते शिक्षा दिनुभन्दा पनि विद्यार्थीको प्रतिभा पहिचान गरेर पढाउनुपर्छ  ।


० शहरमा भएका महँगा निजी विद्यालयहरु शिक्षाको विकास, वितार र सुधारको लागि हुन् कि व्यावसायको लागि ?
 राज्यले शिक्षामा समानता हुनुपर्छ भनेपनि  नीतिगत तहमा चुकेको देखिन्छ । अभिभावकमा पनि बढी पैसा ति¥यो भने क्वालिटी एजुकेसन पाइन्छ भन्ने भ्रम छ । विद्यालय खोल्दैमा सबै व्यक्तिहरू बालबालिकाको भविष्यलाई राम्रो बनाउँछु भनेर आएका हुँदैनन् भन्ने कुरालाई अभिभावकले राम्रोसँग बुझ्नुपर्छ ।


० भनेपछि महँगो विद्यालय व्यापारको लागि हो त ?
 हो, कतिपयले धनार्जन गर्ने व्यावसाय पनि बनाएका छन् । यसमा अभिभावकहरू  सचेत हुनुपर्छ  । अभिभावकहरूले विद्यालय कति समयदेखि अगाडि बढिरहेको छ ? सञ्चालकहरु कस्ता, कुन  मनस्थितिका छन् ? त्यहाँबाट उत्पादन भएका विद्यार्थीहरू अहिलेसम्म कहाँ कहाँ पुगे ?  विद्यार्थीहरूमा परिवर्तन छ कि छैन ? बौद्धिकता के कस्तो छ ।  यी  कुराहरू अभिभावकले बुझ्नुपर्छ । विद्यार्थीले अंग्रेजी मात्रै बोलेर पनि भएन । परीक्षामा चार जीपीए आएर मात्र हुँदैन, विद्यार्थीको संस्कार र व्यवहारमा पनि परिवर्तन आउँनुपर्छ । यो काम उसले स्कुलबाट शिक्षाकासाथसाथै पाउनु पर्छ । 


० तपाईं लामो समयदेखि प्रधानाध्यापक हुनुहुन्छ । सार्वजनिक सुधारका अस्त्रहरू  के के रहेछन् त ?
सबभन्दा पहिला त हामीले शिक्षण विधिलाई ध्यान दिनुपर्छ । हिजोको शिक्षकहरू धेरै बोलेर पढाउनुहुन्थ्यो भने अहिले शिक्षण विधि परिवर्तन भइसकेको छ ।  विद्यार्थीहरूलाई घोकाएर पढाउनेभन्दा पनि गराउने  प्रविधि आएको छ ।  विद्यार्थीको भविष्य बनाउनको लागि दक्षतासँगै  शिक्षाप्रति मोह र क्षमता भएको शिक्षक छनोट गर्नुपर्छ ।


० निजी विद्यालयहरुलाई राज्यले पनि त्यति वास्ता गरेको पाइँदैन भनिन्छ, सत्य के हो  ?
कनेक्सन र पहुँच हुनेलाई मात्र प्राथमिकतामा राखेको छ । हामी कुनै पार्टीको झोला बोकेर हिंड्दैनौं । त्यसैले राज्यले हामीलाई वास्ता गर्दैन ।


० तपाईं शिक्षकको कुनै पनि राजनीतिक संगठनमा हुनुहुन्न त ?
शिक्षकहरू जब पार्टीको झोला बोकेर हिँड्छन् तब  समाजमा शिक्षा खण्डीकरण हुन्छ । म त्यस्तो  कुनै पनि संगठनमा छैन । शिक्षकहरू भनेको एउटा बौद्धिक जमात हो । बौद्धिक जमात नै पार्टीको झण्डामुनि बस्नु राम्रो हुँदैन ।

 
० राजनीतिक संगठनमा जोडियो भने के हुन्छ ?
जब शिक्षक राजनीतिक संगठनको झन्डामुनि बस्छ, तब पार्टीले गरेको ठिक बेठिक जे होस् हरेक निर्णयलाई उसले स्वीकार गर्नै पर्छ । यसले गर्दा शिक्षामा वास्तविक सुधार आउन सक्दैन ।  शिक्षकहरू झोला बोकेर हिँड्नुपर्ने प्राथा  खारेज नै गर्नुपर्छ । यो प्रथा बन्द गरियो भने शिक्षामा दोब्बर सुधार हुन्छ, शिक्षाको गुणस्तर ह्वात्तै बढ्छ । सरकारी विद्यालयमा राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छेलाई छनोट गर्नुको कारणले नै राजनीतिक घुसेर शिक्षाको गुणस्तर गिरेको हो ।

 
० सरकारी विद्यालयका शिक्षकहरू राज्यले भनेको जस्तो सुविधा दिएन भनेर आन्दोलन गरिरहन्छन् । तपाईंहरु चाहिँ आन्दोलन गर्नुहुन्न ?
सबैभन्दा धेरै तलब दिनुपर्ने शिक्षकहरुलाई हो ।  उहाँहरूको ठाउँमा अन्याय त होला तर उहाँहरूमा अलिकति अव्यवस्थित छ । स्कुल नै बन्द गरेर बालबालिकाको भविष्य अन्धकारमा राखेर शिक्षक सडकमा जानु चाहिँ राम्रो होइन । हामी त्यस्तो गर्दैनौं ।


० राज्यले तपाईंहरुलाई कुनै किसिमको तालिमहरु उपलब्ध गराएको छ कि छैन ?
हामीलाई अहिलेसम्म कुनै तालिम दिइएको छैन । सरकारी विद्यालयको शिक्षकलाई भत्तासहितको तालिम दिँदा हामीलाई राज्यले तालिम मात्र दिएको भए पनि हुन्थ्यो तर दिइँदैन । हामीले हरेक तालिम आफैले गर्ने हो ।


० राज्यले किन यसरी विभेद ग¥यो होला जस्तो लाग्छ त ?
त्यो त राज्यलाई थाहा होला । तालिमहरू सबैभन्दा बढी त सरकारी विद्यालयहरूमा जान्छ । फेरि सरकारी विद्यालयहरुले नै राम्रो आउट पुट दिन सकेको छैन ।

 
० के कारण यस्तो भइरहेको  होला त ?
 यहाँ राम्रा मान्छेलाई भन्दा पनि हाम्रा मान्छेलाई अवसर  दिने चलन छ ।  तालिममा जाने मान्छे योग्य छ कि छैन ? सिकाएको कुरा  कतिको ग्रहण गर्न सक्छ ? ग्रहण गरेको कुरा ल्याएर कक्षामा कार्यान्वयन गर्न सक्छ कि सक्दैन ? त्यो कुरा विचार गरिँदैन । जसको ठाउँमा आफ्नो मान्छे छ उसलाई सबै अवसर दिइन्छ । राम्रो गर्न खोज्ने मान्छेलाई खुट्टा तानेर लडाउन खोजिन्छ । यसले गर्दा बालबालिका भविष्यसमेत अन्धकारतर्फ धकेलिन्छ ।


० तपाईंले यी कुराहरू भन्दैगर्दा तपाईंको विद्यालयमा  तपार्ईंले भन्नुभएको सम्पूर्ण कुरा लागु भएका छन् त ?
यसमा आआफ्नो निजी जीवन र निजी आस्था त होला  ।  तर हामी राजनीतिक संगठनलाई समर्थन गर्नुपर्छ भनेर विद्यार्थीको भविष्य अन्धकार बनाउदैनौं ।


० आम अभिभावकले बालकुञ्जलाई कसरी चिन्नुहुन्छ ?
 बाल्कुञ्जले  विद्यार्थीलाई राम्रो केयर गर्छ भन्ने अभिभावकलाई विश्वास छ  । लामो समयदेखि अनुभवी र दक्ष शिक्षकहरू हुनुहुन्छ जसले गर्दा बालकुञ्जमा विद्यार्थी आइसकेपछि उनीहरू आउट अफ ट्रयाकमा कहिले पनि जाँदैनन् ।  समय अनुकूल बालकुञ्जले राम्रो शिक्षा दिएकै कारण आजसम्म अभिभावकले खोट लगाउने ठाउँ पाउनुभएको छैन ।


० विद्यार्थीहरुलाई कसरी अपडेट गराइरहनुभएको छ ?
हामीले अन्तर्राष्ट्रिय शिक्षकहरूसँग पनि समन्वय गरेर कसरी पढाउँदा  बालबालिकाहरूको भविष्य राम्रो हुन्छ ? भनेर शिक्षा प्रदान गरिरहेका छौँ । यहाँसम्म आइपुग्दा शिक्षक तालिम र सबलीकरणमा  सबैभन्दा नै अगाडि छौँ । 


० बालकुञ्जका शिक्षकको सिकाउने शैली र अरु स्कुलको सिकाउने शैलीमा के फरक छ ?
एकदमै फरक छ ।  हाम्रो विद्यालयका शिक्षकहरूले विद्यार्थीको मनोभावना बुझेर त्यो अनुसार पढाउने गर्नुहुन्छ । यो कुरा अभिभावकहरूले पनि बुझ्नुभएको छ । तर अन्य विद्यालयमा त्यस्तो पाइँदैन ।


० अभिभावक र शिक्षकको सम्बन्ध कस्तो हुनुपर्छ ?
अभिभावकहरूले पनि शिक्षण कुन विधिमा भइरहेको छ । विद्यार्थीको रुचि अनुसार पढाइएको छ कि छैन ? घरमा कस्तो व्यवहार गर्ने ? भन्ने कुरा पनि बुझ्नुपर्छ । अभिभावक चेतना र अभिभावकको शिक्षालाई पनि बालकुञ्ज माविले  लगेको छ । हाम्रो धेरै कार्यक्रममा अभिभावकसँग साक्षात्कार पनि हुन्छ । हामीले चुकेका कुराहरू अभिभावकले पनि हामीलाई सम्झाउनुहुन्छ । यो दुई बीचको सम्बन्ध रामो भएन भने त भनेजस्तो शिक्षा प्रदान गर्नै सकिन्न ।


० बालकुञ्ज आउँदो दिनहरुमा  कसरी अगाडि बढ्छ ?
बालकुञ्ज स्कुलले यहाँका विद्यार्थीहरुलाई अस्ट्रेलिया, अमेरिकाका र पाकिस्तानका विद्यार्थीहरूसँग कनेक्सन गरेर उनीहरुले के सिकेका  छन् ?  हाम्रो विद्यार्थीहरुले अहिलेसम्म के सिकिरहेको छ ? भन्ने कुरालाई तुलना गरेर अगाडि बढिरहेको छ । आगामी भविष्यमा त्यसलाई हामी अझ घनिभूत रुपले लानेछौँ । 


० बालकुञ्ज यो बेलासम्म आइपुग्दा गरेको सबैभन्दा राम्रो काम कुनै छ ?
धेरै छन् । जानुपर्ने बाटो अझ पनि लामो छ । बालकुञ्जले गरेको वाउ वाउ भन्ने चिज र अरुले पनि सिक्नुपर्ने चिज भनेको जुन शिक्षकले  मात्र बोल्ने शिक्षण पद्धति  थियो, हामीले त्यो विधिलाई हटाएर फरक किसिमले लागिरहेका छौं । अहिले हरेक समस्याको समाधान विद्यार्थीले नै गर्न सक्ने बनाएका छौँ । यो नै हाम्रो  सबभन्दा ठूलो उपलब्धि हो । त्यसको लागि शिक्षकहरू पनि रहरलाग्दो तरिकाले चयन भइसक्नुभएको छ । हाम्रा विद्यार्थीहरू किताबी  ज्ञानमा मात्र सिमित नभएर बाहिरी ज्ञानमा पनि पोक्स्त भइसकेका छन् ।


० निजी विद्यालयलाई  राज्यले  के गर्दिए अझ राम्रो  हुन्थ्यो जस्तो लाग्छ ?
तालिमहरूमा भेदभाव नगरे हुन्थ्यो । यसो भन्दै गर्दा हामी एकदम कमजोर भन्न खोजेको पनि होइन । तर हामी पनि कसैलाई तालिम दिन सक्ने भइसकेका छौँ । हामी पनि शैक्षिक क्षेत्रमार्फत देशको विकासमै होस्टे र हैंसे गर्दै आएको छौं ।  राज्यले पनि विद्यालयको शैक्षिक सामग्रीलगायत विद्यार्थीहरु बोक्ने गाडीहरु किन्दा राज्यले कमसेकम करमा छुट गर्दिए राम्रो हुन्थ्यो ।


० अन्त्यमा स्कुलका शिक्षक अभिभावक र विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?
बालकुञ्ज परिवर्तनको सम्वाहक बनेर अगाडि बढिरहेको छ । बालकुञ्जले  कुनै पनि अभिभावकहरूलाई निराश बनाएर पठाउँदैन । कुनै पनि विद्यार्थीलाई राम्रो  बनाउनको लागि समय लाग्छ । त्यसको लागि धैर्य गर्नुहोला भन्न चाहन्छौं । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
 

प्रतिकृया दिनुहोस