काठमाडौं । सहसचिवहरू पदमकुमार श्रेष्ठ र दिलीपकुमार गौतम अर्थ मन्त्रालयमा भित्रिएका छन । राजस्व समूहका यी दुवैजना केही समय अगाडि मात्र उपसचिवबाट फाइल बढुवा भएर सहसचिवमा बढुवा भएका हुन् । बढुवा भएपछि उनीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका थिए । जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा पहिलो र दोस्रो नम्बरमा रहेर बढुवा भएका श्रेष्ठ र गौतमको अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ । मन्त्रालयमा पदस्थापन हुनासाथ अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रेष्ठलाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा खटाएका छन् । मकवानपुरको प्रमुख जिल्ला अधिकारीबाट केही समय अगाडि अर्थमा भित्रिएका सहसचिव तीर्थराज चिलुवाललाई पनि मन्त्रालयले सोही विभागको उपमहानिर्देशको जिम्मेवारीमा खटाएको छ । सहसचिव गौतमलाई भने त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारीमा खटाइएको मन्त्रालयले जानकारी दिएको छ ।
२०६७ चैत ६ गते उनीहरु राजस्व समूहतर्फको उपसचिव बनेका थिए । २०८१ माघ ९ गतेदेखि जेष्ठता कायम हुनेगरी उनीहरु सहसचिवमा बढुवा भएका हुन् । उपसचिव हुँदा राजस्व प्रशासनमा काम गरेका उनीहरु सहसचिव बढुवा हुनासाथ पुन अर्थमै भित्र्याइएको थियो । अब उनीहरुलाई राजश्व प्रशासनमा काम गर्न अझ सहज हुने भएकोले पनि भाग्यमानी सहसचिवहरुको रुपमा हेरिएको छ ।
उता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत सहसचिव अर्जुन प्रसाद गौतमलाई भने सरकारले कर्णाली प्रदेशका लखेटेको छ । उनी खानेपानी मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदा तत्कालीन मन्त्री महेन्द्र प्रसाद राय यादवलाई असहयोग गरेको आरोपमा मधेस प्रदेशमा खेदिएका थिए । २०८१ भदौमा उनी मधेस प्रदेशबाट न्याम्समा सरूवा भएका थिए । तर, उक्त संस्थाको लागि आवश्यक औषधि, मेडिकल इक्विमेन्टलगायत सामग्रीको खरिद गर्दा उनी विवादमा तानिएका थिए ।
त्यसपछि गौतमलाई कर्णाली प्रदेशको सचिवमा लखेटिएको छ । उनलाई सहसचिव मनिता श्रेष्ठले विस्थापित गरेकी छिन । घाँटीको क्यान्सरका विरामी रहेका सहसचिव गौतमलाई यसअघि उपचारका लागिसमेत अनुकूल हुनेगरी न्याम्समा सरूवा गरिएको थियो । तरपनि उनले उपचार भन्दा खरिद प्रकरणमा आर्थिक लाभतर्फ बढी ध्यान केन्द्रित गरेको कारण देखाएर कर्मचारीका लागि कालापानी मानिएको कर्णाली प्रदेशमा सरुवा गरेर कारवाही गरिएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस