• बिहीबार-फाल्गुण-२९-२०८१

विकासले कसरी बाजी मारे ? : सबैलाई उछिनेर सचिव बने

 

काठमाडौं । ०८१ फागुन २१ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सचिवमा स्वास्थ्य सेवा विभागमा महानिर्देशक रहेका डा. विकास देवकोटालाई बढुवा गरेको छ । गएको फागुन १२ गते स्वास्थ्य सचिव डा. रोशन पोखरेलको विशिष्ठ श्रेणी सचिवको पाँचवर्षे सेवाअवधि पूरा गरेर अनिवार्य अवकास गएका थिए । त्यसपछि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले स्वास्थ्य सेवातर्फ रिक्त सचिव पदमा बढुवाका लागि देवकोटासहित १२औंं तहका डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।  


सचिव बढुवाका लागि सरकारलाई एकहप्ता भन्दा बढी समय लागेको थियो । यो बिचमा सचिव बढुवा हुनका लागि तीनजना प्रतिस्पर्धीहरुका बिचमा ठूलै रस्साकस्सी चलेको थियो । ठुलै दौडधुपकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा सिनियर १२ औं तहकी निमित्त सचिव संगितालाई पछि पार्दै जुनियर सहसचिव देवकोटाले सचिवमा बाजी मारेका छन । मन्त्रालयमा कौशल भन्दा ११ महिना जुनियर दाङ निवासी देवकोटाले मन्त्री प्रदिप पौडेलको विश्वास जितेर सचिवमा बाजी मार्न सफल भएको बताइन्छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मिश्रलाई सचिव बनाउन चाहाना गरेका थिए । तर, मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार, स्वास्थ्य बीमाको उपचार रकम एक लाखबाट  पाँच लाख पुर्याउन, मुटु, मृगौला, फोक्सो, क्यान्सर, इन्जाइमर, हेडइन्जुरीलगायतका जटिल रोगको उपचारमा दिदै आएको रकम दोब्बर बढाउनका लागि अर्थ मन्त्रालयमा समन्वयकारी भुमिका खेल्नसक्ने भन्दै देवकोटालाई प्राथमिकता दिएर बढुवा गर्न सफल भएका छन । संघीय अस्पतालहरूमा पाँच सय चिकित्सकको दरबन्दी थप्नका लागि पनि आफू अनुकूलको सचिव आवश्यक रहेको महसूस मन्त्री पौडेलले गरेका थिए ।


उनको सो चट्टानी अडानलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि जिल्लाबासी देवकोटालाई सचिव बढुवामा साथ दिएको बताइन्छ । जुन कारणले गर्दा जुनियर रहेतापनि देवकोटा नै स्वास्थ्य सचिवमा बढुवा हुन सफल भएका हुन । स्वास्थ्य मन्त्रालयलाई संघीय मन्त्रायलका २१ मन्त्रालयहरुमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । तर, हाल मन्त्रालयको व्यवस्थापन भद्रगोल हुन पुगेको गुनासो बाहिर आएका छन । जसलाई सुधार गर्न अनुभवी र कार्यक्षमताका आधारमा अब्बल कहलिएका नवनियुक्त सचिव देवकोटाको लागि अग्नि परीक्षा हुने बताइएको छ ।


नर्स, ल्याव कर्मचारी, टेक्निसियन र चिकित्सक कर्मचारीहरू काठमाडौं उपत्यका र प्रदेश राजधानीबाहेक अन्यत्र सरूवा भएर जान नमान्ने प्रबृत्ति मौलाएको छ । प्राय सुविधा सम्पन्न निकायमा बस्न नरुचाउने र सरूवा गरिएको खण्डमा राजीनामा दिएर विदेश पलायन हुने प्रवृत्ति बढ्दो रहेको छ । दक्ष, अनुभवी र वरिष्ठ नर्स, ल्याव कर्मचारी, टेक्निसियन, चिकित्सकलाई पेशामा अडाएर राख्न पनि मन्त्रालयका लागि चुनौती थपिएको छ । यो अवस्थामा सरकारले चिकित्सकको तलव बढाउन खोज्दैछ ।


पछिल्लो समय मन्त्रालय कर्मचारी व्यवस्थापनमासमेत कमजोर देखिएको गुनासाहरु बाहिर आएका छन् । पछिल्लो समय स्वास्थ्य उपकरण खरिदमा पनि मन्त्रालय नै विवादमा तानिएको छ । स्वास्थ्यकर्मीहरूको वृत्ति विकास, सेवा सुविधा तथा स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रभावकारी कदम चाल्न नसकेको गुनासो बढेको छ । यस्तो अवस्थामा नतव नियुक्त सचिव देवकोटाको भूमिका आगामी दिनमा कस्तो रहला चासोका साथ हेरिएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
 

प्रतिकृया दिनुहोस