• बिहीबार-फाल्गुण-२९-२०८१

राजनीतिक दलहरूका लागि मिनी युवा जनमत :चैत ५ गते स्ववियु निर्वाचन, कडा प्रतिस्पर्धा  

 

काठमाडौँ ।  २०८१ चैत ५ गते स्वन्त्र विद्यार्थी युनियनहरुको निर्वाचन गर्ने तयारी भइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ वटा आंगिक क्याम्पस र त्रिविविबाट सम्बन्धनप्राप्त तीन सयभन्दा बढी सामुदायिक तथा निजी क्याम्पसहरूमा  निर्वाचन हुन लागेको छ । त्रिविविको विद्यार्थी कल्याण तथा खेलकुद विभागले स्ववियु निर्वाचनका सम्बन्धमा २०८१ फागुन ९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्रिविविले आफ्ना ६२ वटै आंगिक क्याम्पसमा निर्वाचनका लागि समिति गठन गरिसकेको छ ।


त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेका छन् । सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पस २ लाख ३० हजार गरी कूल तीन लाख ९० हजार विद्यार्थी मतदाता रहेको बताइन्छ । स्ववियु निर्वाचनको उम्मेदवारको उमेरहद अधिकतम् २८ वर्ष तोकिएको छ । स्ववियु निर्वाचनका लागि २०८१ फागुन २१ गते मतदाता सूची प्रकाशन भइसकेको छ । हिजो २०८१ फागुन २५ गते मतदाता सूचीमाथि दावी विरोध र अन्तिम मतदाता नामावली पनि प्रकाशन भइसकेको छ ।


आज फागुन २६ गते सोमवार उम्मेदवारहरूलाई मनोनयन फारम वितरण गर्ने कार्य रहेको बताइएको छ । २०८१ फागुन २७ गते मंगलबार उम्मेदवारीको मनोनयनपत्र दर्ता र नामावली प्रकाशन, फागुन २८ गते उम्मेदवारी दर्ताविरूद्व दावी विरोधको कार्यक्रम रहेको छ । फागुन २९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन र चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ ।


पच्चिस वटा संघ–संगठन 
निर्वाचनमा सहभागी

यसपटकको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघ–संगठनहरूकाबीचमा प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार २०८१ चैत ५ गते हुने स्ववियु चुनावमा सहभागी हुन २०८१ फागुन १९ गते मुलुकभरका क्याम्पसहरूमा निर्वाचनमा भाग लिन चाहने २५ वटा विद्यार्थी संघ–संगठनहरूले आ–आफ्नो सूची दर्ता गराइसकेका छन् ।


स्ववियु निर्वाचनमा भाग लिन केन्द्रमा विभिन्न राजनीतिक दल सम्वद्ध भातृ संगठनहरु लागि परेका छन् । जसमा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजबादीनिकट अनेरास्ववियू समाजवादी विद्यार्थी संगठनले चुनावमा भाग लिनका लागि यूनियन दर्ता गरेका छन । यसैगरी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रबादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।


त्यस्तै, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू (पाँचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्चलगायतका २५ संगठन दर्ता भएको समिति स्रोतले जानकारी दिएको छ ।


२०७९ चैतमा भएको स्ववियु निर्वाचनमा १९ वटा विद्यार्थी संघ–संगठनले मात्र भाग लिएको बताइन्छ । निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा विद्यार्थी संगठन÷समूह दर्ता हुनुपर्ने कानूनी व्यवस्था गरिएको छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनले प्रायः सबै क्याम्पसमा अध्यक्ष, सचिव, सदस्यलगायतका पदमा उम्मेदवारको घोषणा गरिसकेका छन ।


ठूला दल निकट संगठनहरुका
बिचमा नै प्रतिस्पर्धा

  स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन २७ गते मुलुकभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामावली दाखिला सोही दिन हुनेछ ।  उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ सम्मको समय कायम गरिएको छ ।


आगामी चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान समय तोकिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित भैसकेको छ । निर्वाचनका लागि त्रिविविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको २ वर्षे कार्यकाल सकिन लाग्दा त्रिविवि कार्यकारी परिषद्ले निर्वाचनको कार्यक्रम सुरू गरेको छ । स्ववियु निर्वाचनलाई आगामी २०८४ को आम निर्वाचनको लागि युवा जनमतको भावना बुझ्ने मिनी निर्वाचनका रूपमा हेरिएको छ ।


जसले गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । तरपनि मुख्य ठूला राजनीतिक दल निकट विद्यार्थी संगठनहरुका बिचमा नै प्रतिस्पर्धा हुने बताइएको छ ।


 दलहरुका लागि युवा जनमत
यद्यपि, रास्वपाले भने विद्यार्थी संगठन गठन गरेको छैन । उसको भातृ विद्यार्थी संगठन नभएकाले रास्वपाको अभिमत स्ववियु निर्वाचनमा प्रतिविम्बित नहुने भएको छ । स्ववियु निर्वाचनमा विगतमा जस्तै नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का बीचमा नै मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । मधेसमा जसपा, लोसपा र जनमत विद्यार्थी संगठनका बिचमा पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक विद्यार्थी संगठनहरुका बिचमा तालमेल भएको छैन ।


एक्लाएक्लै स्ववियु निर्वाचनमा भिड्ने परिस्थिति निर्माण भएकोले विद्यार्थी संगठनहरुकाबीचमा कुन संगठन बलियो छ भन्ने प्रष्ट आँकडा बाहिर आउनेछ साथै, राजनीतिक दलहरुका लागि स्ववियू निर्वाचन युवा जनमत हुने भएको छ । त्रिविविका आंगिक ठुला क्याम्पसमा पकड जमाउन नेविसंघ, अनेरास्ववियु र अखिल(क्रान्तिकारी)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । विगतमा एमाले अनेरास्ववियुविरूद्ध नेविसंघ, अखिल (क्रान्तिकारी ) र अखिल समाजवादीबीच तालमेल र गठबन्धन हुँदा नेविसंघ, अखिल (क्रान्तिकारी) र अखिल समाजवादीले धेरैजसो क्याम्पसमा निर्वाचनमा जित हासिल गरेका थिए ।


यसपाली एक्लाएक्लै लड्दा परिणाम फरक आउन सक्ने विश्लेषण भैरहेको छ । तरपनि यसपटकको स्ववियु निर्वाचनमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनहरूले बर्चस्व कायम गर्ने बताइन्छ । मधेस प्रदेशमा जसपा, लोसपा र जनमत पार्टी निकट विद्यार्थी संगठनबीच मुख्यप्रतिस्र्धा हुने विश्लेषण भइरहेको छ । सत्तारूढ दल निकट नेविसंघ र अनेरास्ववियुले काठमाडौं उपत्यकाका त्रिविवि केन्द्रीय क्याम्पस कीर्तिपुर, आर.आर.क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसको निर्वाचन परिणामलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् । 


यसैगरी, उनीहरुले शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल व्यवस्थापन क्याम्पस, थापाथली ईन्जिनियरिङ क्याम्पस, पब्लिक युथ क्याम्पस, पिपुल्स क्याम्पस, पशुपति क्याम्पस, महाराजगन्ज मेडिकल क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, वीरअस्पताल नर्सिङ क्याम्पस, पाटन संयुक्त क्याम्पस र पुल्चोक ईन्जिनियरिङ क्याम्पसको स्ववियू निर्वाचनलाई पनि मिनी युवा जनमतको रुपमा हेरेका छन । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
 

प्रतिकृया दिनुहोस