१) २०६५ सालको सेना दिवसको दिन टुँडिखेलमा विमोचित पुस्तक ‘‘नेपालको सैनिक ईतिहास भाग–२’’ को पृष्ठ ३५१ देखि ३६० सम्म नेपाली सेनाको जन्म मितिको बारेमा त्यही जंगी अड्डाले पिएस्ओज बैठक राखी, प्राज्ञ–विज्ञसँग अन्तक्र्रिया गरी निक्र्योल गरेर छापी सकेको छ । त्यो पुस्तकमा वर्तमान सेनाको जन्ममिति वि.सं. १६१६ र लिगलिग कोट गोर्खा नै किटान गरिएकोछ । त्यसपछिका प्रधान सेनापतिहरुको इच्छा र मन परेका लेखकहरुबाट फेरि हालसम्म कहिले वि.सं. १८०१ कहिले वि.सं. १८१९ लेखन र लेखाउन थालिएको छ ।
एउटा सत्य के हो भने १,२ जना इतिहासकारहरुले गोर्खाली सेना, बडामहाराज पृथ्वीनारायण शाह लगायतलाई उपत्यकाका हरुवा मल्ल राजा भन्दा कमजोर बनाइ लेख्न खोज्छन–बोल्न खोज्छन् । अनि काठमाडौं अर्थात् कान्तिपुर जितेपछि मात्र वि.सं. १८२५ मा गोर्खाली सेना नेपाली सेना भएको भन्ने कपोलकल्पित भाष्य निर्माण गरेका छन् भने नेपाल एकीकरण होइन भनेर लेख्छन्–बोल्छन् । तर, विक्रम सम्वत १८२५ सम्म काठमाडौं उपत्यकामा नेपाल भन्ने छुट्टो राज्य कहाँ थियो देखाउन सक्दैनन् । हो त्यहाँ कान्तिपुर, पाटन र भक्तपुर देश थियो ।
जनजिब्रोमा मात्र यो उपत्यकालाई नेपाल भनिन्थ्यो । जमिनमा छुट्टै नेपाल नामको देश कहीँकतै थिएन । बृहत् नेपाल टुक्रिएर झण्डै ६५ वटा जति साना देश भए र ती सबै नेपाल थिए भने गोर्खा पनि नेपाल नै थियो । त्यो जमाना अनुसार जब राज्यको जन्म हुन्थ्यो अनि राजा जन्मिन्थे । राजा जन्मना साथ धर्म शास्त्र अनुसार देश अर्थात् राज्यलाई चाहिने काजी, सेना, राजगुरु, पुरोहित आदिको जन्म भै हाल्थे अर्थात् नियुक्ति दिने प्रचलन सबै राज्यमा थिए ।
२) सोही अनुसार वि.सं. १६१६ भाद्र २५ गते राजा द्रब्य शाह लिगलिग कोटका राजा बनेपछि अन्य काजीहरुको साथै सेनापति काजी भागीरत पन्तको नियुक्ति हुन्छ । तिनै राजा र सेनाको पहलमा अरु भूगोल(राज्य) जितेर गोर्खा देशको जन्म हुन्छ । त्यही गोर्खा देशका सेनाले काठमाडौं उपत्यकालगायतका राज्यहरुमा सैनिक मद्दत् दिए । उत्तरमा तिब्बतको कुकुर घाटसम्म कब्जा गरे । अनि तिनै सेनाले नुवाकोटमा हार खाए र पछि तेस्रो पटक जिते । तिनै सेनाको क्रमिकतामा पूर्वमा टिस्टा र पश्चिममा झन्डै कास्मिर पुगे ।
वि.सं. १६१६ देखि बि स २०६३ सालसम्म न त त्यो गोर्खा शाह बंश टुक्रियो न त सेना नै टुक्रियो ? हो, नेपाली सेनाको आधुनिक तालिम, संरचना, पोशाक, समयक्रमसँगै आधुनिक हतियारको विकास हुँदै गयो । बञ्चरा, खुर्पा, घुयत्रो, खुकुरी, तरबार, खँुडालगायत घरेलु हतियार लिएर र धोती, कछाड बाँधेर, भोटो लगाइ खाली खुट्टा युद्ध लडेर पछिसम्म पनि नेपाली जनताले यस्तो प्रकृतिको सेनामा काम गरे । नेपालको माटो बढाए । के थोत्रा लुगा लगाउने, डोको बोक्ने मेरा बाजे, बराजुलाई मैले अब अहिले आएर कोट, टाइ, कमिज, जुत्ता लगाउने भएपछि तिनीहरुलाई मेरा बाजे बराजु नमान्ने त ? के नेपाली सेनाले राइफल बोकेर कम्पनी संगठनमा काम गर्ने फौजको सुरुआत भएपछि मात्र नेपाली सेना मान्ने त ? यो नेपाली सेनाको विकासक्रममाथि ठुलो अन्याय हुनेछ र भएको छ ।
३) संसारले मानेको र नेपाली सेनाले मान्नै पर्ने राजनैतिक परिभाषा के हो भने जब राजनैतिक इतिहासको क्रमभंग हुन्न अन्य ईतिहासको क्रमभंग हुनै सक्दैन । राजनीतिक ईतिहासभित्र नै पलाउने हुन : धार्मिक, सामाजिक, धार्मिक, आर्थिक, सैनिक, आदि ईतिहास । तसर्थ जबसम्म द्रब्य शाहदेखि राजा ज्ञानेन्द्रको ईतिहास टुक्रिन सक्दैन भने नेपाली सेनाका ईतिहास कहिले कुन साल, कहिले कुन सालमा स्थापना दिवस लेखी किन टुक्र्याइन्छ ? विशेषगरी नेपाली सेनाका जिम्मेवार व्यक्तिले आफ्नो संगठनको सैनिक ईतिहासप्रति रुची नराख्ने, नपढ्ने, नलेख्ने अनि र राम्रै माम् र दाम हात पार्न गैरसैनिक इतिहासकारहरुले प्रधान सेनापतिलाई खुसी पार्न प्रधान सेनापतिको भनाइ अनुसार प्रमाण देखाइ अनि लेखी दिने गर्दा नेपाली सेनाको जीवनीमा एउटा वर्वादी भएको छ ।
जो जो नेपाली सेनाका पत्यारिला इतिहासकार हुनुहुन्छ, कृपया संसारले मानेको विधि विधानमा सेनाको जन्ममिति लेखी दिनुस् । नेपाली सेनाको स्थापना विक्रम सम्वत १६१६ भाद्र २५ गते नै भएको हो । वि.सं. १८१९ किमार्थ होइन । अनि वि.सं. १८०१ पछि र वि.सं. १८१९ अगाडिको अवधिका बडामहाराज पृथ्वीनारायण शाह, वीरगति प्राप्त सेनाहरु, तिनले जितेका भूगोलहरु जस्तै ः नुवाकोटको विजय, बेलाकोट, दहचोक, शिवपुरी, नगरकोट, काभ्रे, धुलिखेल, चौतारा, जहर सिंह पौवा अर्थात् द्वारे टोललगायतका सयांै गाउँ, बस्ती जित्ने र नेपाल राज्यमा गाभ्ने को त ? यो श्रेय कसलाई दिने त ? गज्जबको कुरो त बडामहाराजको आधा जीवन बेवारिसे गराइ आधा जीवनको स्वामित्व नेपाली सेनासँग जोडिने गरी सैनिक ईतिहास लेखिने काम सरासर र शतप्रतिशत गलत हो । अनि बडामहाराजलाई मात्र फुत्त अगाडि सारेर ती भन्दा अगाडिका राजाहरु र सेनालाई बिर्सेंर कहिले पनि सैनिक ईतिहास पूरा हुने छैन । आजको दिनबाट हामी विक्रम सम्वत १६१६ को गोर्खा लिगलिग कोट फर्किनै पर्छ ।
७) मैले विक्रम सम्वत २०५३ सालदेखि आजको दिनसम्म यही क्षेत्रमा सोधखोज गर्दै आएकोछु । हो, म पूर्ण छैन । अनि यही अकाट्य तथ्यहरु बारे मैले १ बर्ष अगाडिसम्म नेपाली सेनालाई आन्तरिक पत्रचारहरुबाट २०औं पटक र पत्रपत्रिकामा २५औं पटक लेखेकोछु । पटक पटक सैनिक ईतिहास लेखेर २०४६ साल देखि जंगी अड्डाका पत्यारिला गैरसैनिक लेखकहरुले किन भएका तथ्यलाई ध्यान नदिएका र यसमा के रहस्य र स्वार्थ लुकेको छ ? यस बारे निर्णय लिने त फौजका बर्दिधारी र बहालवालाहरुले नै हो । विक्रम सम्वत १६१६ बाट आजको दिनसम्म नेपाली सेनाको आयु ४६५ वर्ष पुगेको छ । सत्य र तथ्य यही हो । –सहायक रथी डा. प्रेमसिंह बस्न्यात (अ.प्रा), बुढानीलकण्ठ–८, काठमाडौं ।
प्रतिकृया दिनुहोस