काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग आफ्नो सम्बन्ध बिग्रिएको संकेत गरेका छन् । श्रेष्ठले सार्वजनिकरुपमै त्यो प्रकट गरेपछि प्रचण्ड भने दवावमा परेका छन् । उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मालाई एकसाथमा राखेर सम्बन्ध सुधारको प्रयासमा रहेका प्रचण्डलाई श्रेष्ठको आक्रोशले तनाव थपेको खबर छ । शर्मा पछिल्ला दिनमा अध्यक्ष प्रचण्डसँग निकै पर पुगिसकेका थिए । उनीहरुबीच केही सम्बन्धमा सुधार आएपछि उपाध्यक्ष श्रेष्ठ समूहप्रति प्रचण्डले उपेक्षात्मक व्यवहार देखाउँदा उनी रिसाएको स्रोत बताउछ । उपाध्यक्ष श्रेष्ठले प्रचण्डनिवास खुमलटारमा पटकपटक पोखेको रिस शान्त नभएपछि झापामा पुगेर छताछुल्ल भएको छ ।
तराई मधेश जागरण अभियान सुरु गरेकै दिन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झापामा बेजोडले रिसाए । बोल्दाबोल्दै मञ्चबाट फन्केर हिंडेका श्रेष्ठलाई अध्यक्ष प्रचण्डले फकाउने प्रयास भने गरेका थिए । विहान रिसाएर भाषण गर्दागर्दै बाउँठिएर मञ्च छोडेर हिंडेका श्रेष्ठले साँझको कार्यक्रम समेत बहिस्कार गरेको घटना बाहिर आयो । यद्यपि, भोलिपल्ट चितवनमा आएर श्रेष्ठले माफी भने मागे । तर, त्यसरी सार्वजनिकरुपमा आक्रोश पोख्नुलाई माओवादीभित्रमात्र होइन, बाहिर पनि चासो र आश्चर्यको रुपमा हेरिएको थियो । माओवादीको महत्वकांक्षी अभियानलाई खल्लो बनाउने गरी उपाध्यक्ष श्रेष्ठ बेजोडसँग किन रिसाए ? भन्ने चाहिँ अहिले चासो र चर्चाको विषय बनेको छ । माओवादी केन्द्र स्रोतका अनुसार, सार्वजनिक मञ्चमा त्यसरी आक्रोश पोख्नुमा त्यसदिनकोमात्रै घटनाभन्दा पनि त्यसभन्दा पहिलाका प्रचण्डसँग विकसित भएको तितो सम्बन्धले काम गरेको स्रोतहरुको भनाई छ ।
मुख्यगरी, माओवादी नेताहरुको कार्यविभाजनदेखि नै श्रेष्ठ प्रचण्डसँग रुष्ट रहेका थिए । नेताहरुका अनुसार, श्रेष्ठले मधेश प्रदेशको इञ्चार्जमा गिरिराजमणि पोखरेललाई ल्याउन खोजेका थिए । पोखरेलको निर्वाचन क्षेत्र महोत्तरी हो र पहिलादेखि नै पोखरेल मधेशकै नेतृत्वमा थिए । त्यही कारण पोखरेललाई मधेशकै इञ्चार्ज बनाउन खोजेका थिए । श्रेष्ठ समूहका रहेका पोखरेललाई प्रचण्डले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज बनाएर खेदे । र, मधेशमा मातृका यादवलाई इञ्चार्ज बनाएका छन् । यादव र पोखरेलको गुटबन्दी चर्को रहेको छ ।
चुनावको बेलामा समेत एकले अर्को समूहको उम्मेदवारलाई असहयोग होइन, हराऊ अभियानै चलाएका थिए । एकले अर्को समूह सहभागी भएको पार्टी कार्यक्रम नै बहिस्कार गर्ने गरेका थिए । पोखरेल सहभागी भएको कार्यक्रममा मातृका नजाने र मातृका सहभागी भएको भएको कार्र्यक्रममा पोखरेल नजाने प्रवृत्ति थियो । अझ, महाधिवेशनको बेलामा त पोखरेललाई कारबाही गर्नुपर्छ भनेर मातृका यादव समूहका नेताहरुले हलमै प्रस्ताव पेश गरेका थिए ।
त्यही प्रस्तावपछि पोखरेलले महाधिवेशन नै बहिस्कारसमेत गरेका थिए । त्यसरी गुटबन्दी चर्को रहेका कारण मधेशका हार ब्यहोर्नु परेको प्रचण्डको बुझाइ थियो । त्यहीकारण केही समय मातृकालाई कर्णाली प्रदेश पठाएका थिए । तर, अहिले मातृकालाई मधेशको इञ्चार्ज बनाएपछि श्रेष्ठ समूह रुष्ट भएको छ । त्यो आक्रोश श्रेष्ठले प्रचण्डसमक्ष राखिसकेका थिए । त्यही रिस मनमा भइरहेका बेलामा झापामा सानो कुरामा श्रेष्ठ रिसाएको हुन सक्ने पनि बताइन्छ । झापाका जिल्ला अध्यक्ष राज कार्कीले कार्यक्रम चलाउने क्रममा श्रेष्ठले बोल्दै गर्दा छेऊमा उभिएको सानो निहुँमा बहिस्कार गरेका थिए ।
त्यसो त, अहिले पोखरेललाई सुदूरपश्चिमको इञ्चार्जबाट हटाउन पनि खोजिएको छ । प्रचण्डनिकट भनिएका केही प्रदेश सांसदहरु पोखरेलको विकल्प दिन प्रचण्डलाई दबाब दिइरहेका छन् । उनीहरु प्रचण्डकै बुहारी विना मगरलाई इञ्चार्ज बनाउन माग पनि गरिरहेका छन् । सोहीकारणले पनि श्रेष्ठलाई बढ्ता नै आक्रोशित बनाएको पनि चर्चा गरिन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस