ललितपुर । राजस्व अनुसन्धान विभागले बुद्ध लामा, कुमार श्रेष्ठ र नौल बहादुर तामाङबिरुद्ध उच्च अदालत पाटन ललितपुरमा अभियोग पत्र दायर गरेको छ । २०८१ फागुन ११ गते उनीहरुविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरेको अभियोगमा आरोपपत्र दायर गरेको विभागकी उप–महानिर्देशक एवम् प्रवक्ता कृष्णकमारी श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकी हुन् । विभागले रसुवा नाकाबाट तीन हजार ३ सय ७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला लिशंखुपाखर गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भएका बमजन इन्टरप्राइजेजका प्रोपाइटर बुद्ध लामालाई मुख्य प्रतिवादी बनाइएको छ ।
उनलाई दुई करोड ८० लाख ६६ हजार ७ सय ५९ रुपैयाँ विगो कायम गरी बिगो जफत तथा बिगोको शतप्रतिशत जरिवाना र राजश्व ऐनको दफा २३ (१) (ख) बमोजिम कैद सजायको माग दाबी लिएको छ । चोरी पैठारीका जुत्ता खरिद गर्ने लामा र पैठारी गर्न लगाउने गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं. ५ स्थायी घर भएका कुमार श्रेष्ठलाई एक करोड २५ लाख ६७ हजार नौ सय ३४ रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना र कैद सजाय माग दाबी गरिएको छ । प्रतिवादी लामालाई चोरी पैठारी गर्न साथ र सहयोग गरेको आधारमा अर्का प्रतिवादी भन्सार एजेन्ट नौल वहादुर तामाङलाई मतियारलाई हुने सजायको मागदावी गर्दै अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।
प्रस्तुत कसुरमा उल्लिखित प्रतिवादीहरुबाट कुल १० करोड ८४ लाख ६ सय ७४ रुपैयाँ माग दावीसहित अभियोगपत्र दायर गरिएको छ । साथै, प्रस्तुत राजस्व चुहावटको कसुरमा प्रयोग भएको ना ३ ख ७०१ नम्बरको ढुवानी साधन तथा सो साधनमा रहेका जुत्ता जफत गर्नसमेत अदालतसमक्ष मागदावी गरिएको छ । जाँचपासमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कर्मचारीहरुलाई विभागीय कारबाहीको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भन्सार विभागमा लेखी पठाइएको विभागले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस