• मंगलबार-फाल्गुण-२०-२०८१

वीर अस्पतालको नयाँ निर्देशक बन्न रहर गर्नेहरु !

 

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो र ठुलो वीर अस्पतालको निर्देशक पदका लागि रहर गर्ने आधा दर्जन चिकित्सकहरूको दौडधुप सुरू भएको खबर छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले कार्यकाल पूरा गरेर केही समय अगाडि बाहिरिएका थिए । त्यसयता केही महिनादेखि अस्पतालको निर्देशक पद रिक्त रहेको छ । निर्देशकमा पुन नियुक्तिको लागि पौडेलले पनि चाहना गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीसहित नेपाली कांग्रेस र नेकपा एमालेनिकट चिकित्सकहरूले निर्देशक बन्नका लागि तीव्ररुपमा दौडधुप सुरू गरेको स्रोतले दावी गरेको छ ।


निर्देशक पद हात पार्नको लागि यतिखेर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा रहेका डा. समाज गौतम, डा. दिलीप शर्मा, डा. अनुपमा कार्की र सन्तोष पौडेल दौडधुपमा लागेका छन् । तर, यीमध्ये डा. गौतम र डा. शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको बताइन्छ । अस्पतालको निर्देशक नियुक्तिमा मन्त्री प्रदीप पौडेलको भूमिका निर्णायक हुनेछ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्न खोजेको खण्डमा भने डा. शर्मा निर्देशक बन्ने सम्भावना पनि उत्तिकै रहेको स्रोत बताउँछ । तर, मन्त्री पौडेलको चाहना भने हाल निमित्तको जिम्मेवारीमा रहेका गौतमलाई निर्देशक बनाउने रहेको बुझिएको छ ।


 निमित्तको जिम्मेवारीमा गौतम नै रहेकोले कांग्रेसवृत्तमा उनले नै कन्फर्म निर्देशकको जिम्मेवारी पाउने बलियो सम्भावना रहेको चर्चा छ । यता, प्रधानमन्त्री ओली भने शर्माको पक्षमा रहेको बताइन्छ । डा. शर्माले प्रधानमन्त्री ओलीको निजी चिकित्सक र नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको जिम्मेवारीमासमेत रहेर काम गरिसकेका छन् । डा. शर्माले चिकित्सा शिक्षा आयोगको निर्देशकलगायतको जिम्मेवारीमा पनि रहेर काम गरिसकेकोले उनको संभावना पनि उत्तिकै बलियो रहेको बताइन्छ ।


त्यसकारण पनि प्रधानमन्त्री ओली शर्माकै पक्षमा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । एमाले निकट चिकित्सकहरू भने डा. पौडेललाई पुन अस्पतालको निर्देशकमा दोहोर्याउनुपर्ने पक्षमा लबिङमा लागेको बताइएको छ । निर्देशकको लागि महिला आकांक्षी कार्की पनि सशक्त दाबेदार रहेको मन्त्रालयस्रोतले दावी गरेको छ । प्रधानमन्त्री ओली भने आफूले चाहाना गरेका शर्मालाई बनाउन नसकेकोको खण्डमा महिलालाई नेतृत्व दिन अग्रसर देखिएका छन । (साँघु साप्ताहिक, २०८१ फागुन १९)

प्रतिकृया दिनुहोस