• मंगलबार-फाल्गुण-२०-२०८१

भावी आईजीपीमा कसको पल्लाभारी ? 

 

काठमाडौं । नेपाल प्रहरीका ३०औं आईजीपी बसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर २०८१ चैत्र ५ गते(अब पन्ध्र दिनपछि)अनिवार्य अवकाशमा जाने छन् । योसँगै ३१ औं आइजीपीमा कसले बाजी मार्ला भन्ने जिज्ञासा यतिखेर प्रहरी संगठनभित्र र बाहिर पनि चासोको रुपमा हेरिएको छ । २०८१ चैत्र ५ गते अर्थात् आगामी दुई सातापछि संगठनले भावी नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) पाउनेछ । आईजीपी कुवँरसँगै प्रशासनका एआईजी टेकप्रसाद राई, मानवस्रोतका दुर्गा सिंह, कार्य विभागका बुद्धिराज गुरूङ, अपराधका कुबेर कडायत र प्रदेश समन्वय विभागका जनकराज भट्टराई पनि अनिवार्य अवकासमा एकै साथ जानेछन् ।


प्रहरी अस्पतालसहित नेपाल प्रहरीमा ९ जना एआईजीको दरबन्दी रहेको छ । आईजीपी कुँवरसहित उमेरहदका कारण पाँचजना एआईजी पनि अनिवार्य अवकासमा जानेछन् । त्यसपछि केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख रहेका दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी  एकेडमी) का प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङमध्येबाट एकजना भावी आईजीपीमा नियुक्ति हुनेछन् । राजनीतिक क्षेत्र, समाज र फोर्सले समेत रुचाएका वरिष्ठ एआइजीपी थापा सम्भावित आइजीपी हुन् । एआइजीपी थापा, गिरी र तामाङ दुबै जनाले आइजीपी कुँवरकै टोलीसँगै २०५१ चैतमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका थिए ।


उनीहरूको नाम सय जना भित्रै निस्किएको थियो । तर, पहिलो लटमा ६० जनालाई मात्रै नियुक्ति गरिएको थियो । बाँकी ४० जनाको नाम प्रतीक्षा सूचीमा राखिएको स्रोतको भनाई रहेको छ । पहिलो लटको ६० जनाबाट पनि ८ जनालाई बैकल्पिक सूचीमा राखिएको थियो । उनीहरू ८ जनालाई हालका प्रधानमन्त्री केपी शर्मा ओली गृह मन्त्री हुँदा २०५२ भदौ ११ गते प्रहरी निरीक्षकमा नियुक्ति दिइएको स्रोतको भनाई छ । आईजीपी कुँवरको सिं स. १०८ ब्याचका सबै ५२ जना प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् ।


  त्यसकारण थापा, गिरी र तामाङमध्ये एकले सेवा अवधिअनुसार ६ महिना ५ दिनका लागि भएपनि संगठनको नेतृत्व गर्ने अवसर  पाउने भएका छन् । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेसहितको व्यवस्था लागु गर्नेगरी संघीय प्रहरी विधेयक २०८१ संसदमा पेस भइसकेको छ । यदि उनीहरूको कार्यकालभित्रै विधेयक पारित भएर नयाँ प्रहरी ऐन कार्यान्वयनमा आएमा उनीहरू तीनै जनाको कार्यकाल केही वर्ष थपिने संभावना पनि उत्तिकै रहेको बताइन्छ । तर, यही कानूनी व्यवस्था रहेको खण्डमा भने आगामी २०८२ भदौ ११ गते तीनैजना अधिकारीहरू स्वत अवकाश हुनेछन् ।


छोटो कार्यकालको लागि मात्रै आईजीपीको नियुक्ति हुने भएकोले पनि यो पटक आईजीपी बन्न अस्वाभाविक चलखेल र प्रतिस्पर्धा कमै हुने अनुमान भइरहेको छ । आईजीपी नियुक्तिको मिति नजिकिँदै जाँदा कार्यक्षमता, दक्षता, जिम्मेवारी, जेष्ठता, सन्तुलनकारी भूमिका, निष्कलंक छविका  आधारमा सबैभन्दा बलियो सम्भावित प्रतिस्पर्धीमा एआईजी दीपक थापा रहेका छन् । उनी प्रतिस्पर्धी एआईजीहरू गिरी र तामाङ भन्दा ७ दिन सिनियर रहेको स्रोत बताउँछ । काभ्रे साँगाका पब्लिक फिगर एआइजीपी थापाको वर्तमान सत्तागठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग पनि विशेष र सुमधुर सम्बन्ध रहेको बताइन्छ ।


काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख र केन्द्रीय अनुसन्धान व्युरो प्रमुख रहँदा विवादरहित भएर कार्यसम्पादन गरेका थिए । एआइजीपी थापाले ती निकायमा कार्यरत रहँदा गठबन्धन सरकारसँग पनि सम्बन्ध बलियो बनाइसकेको बुझिएको छ । 


यी कारण एआईजी थापाको एमाले–कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध बनेको प्रष्ट भएको छ । त्यसैले पनि थापा नै भावी आईजीपीका बलियो दावेदार रहेका छन् भन्ने प्रष्ट भएको बताइन्छ । अर्काेतिर, उनी नै भावी आईजीपीको बढुवामा अगाडि रहेका छन् भन्ने आधारहरु प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन २०८१ फागुन ११ गते बालुवाटारबाट नै प्रष्ट भइसकेको छ । अरु प्रहरी अधिकृतहरू जन्मदिनको शुभकामना दिन बाहिर पुष्पगुच्छा बोकेर लाइन लागेका थिए ।


तर, एआईजी थापा भने प्रधानमन्त्री ओलीसँग लामो समयसँगै बसेर बिताएको स्रोत बताउँछ । जसबाट थापाप्रति प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा  र सरकार कति सकारात्मक छ भन्ने कुरा प्रष्टरुपमा बुझ्न सकिन्छ । एआईजी थापा वरिष्ठ एआईजी, दोस्रो कार्य सम्पादन मूल्यांकन उत्कृष्ट, जिम्मेवारी बहन र क्षमताले सक्षम र अगाडि देखिएका छन् । तेस्रो वर्तमान सत्ता गठवन्धन कांग्रेस र एमाले जस्ता दुवै ठुला दलका नेताहरूसँग सम्बन्ध राम्रो भएकाले उनको विकल्प अरू नरहेको  स्रोतको दावी छ ।


एआइजीपी थापा २०७९ चैत ६ गते उनीभन्दा अगाडि आईजीपी कुँवर र तेश्रो नम्वरमा टेकप्रसाद राई बढुवा भएका थिए । उनीसँगै बढुवा भएका आईजीपी कुँवर र एआईजी राई दुवैजना चैत ५ गते अवकाश हुन लागेका छन । एआइजीपी थापाभन्दा पछि २०७९ चैत १३ गते गिरी र तामाङ एकैसाथ एआईजीमा बढुवा सिफारिस भएका थिए । अघिल्लो पटक नै आईजीपीका दावेदार रहेका एआईजी थापा यसपटक भने आईजीपीमा बाजी मार्ने नै अवस्थामा रहेको गृह स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८१ फागुन १९) 
 

प्रतिकृया दिनुहोस