काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनले केही दिनदेखि सार्वजनिक रुपमा एकीकृत समाजवादी (एस)सँग पार्टी एकता गर्ने कुरा गरिरहेका छन् । उनीहरुले सार्वजनिक रुपमा नै एससँग एकता गर्न लागेको भन्दै सार्वजनिक बोल्नुलाई अर्थपूर्ण हेरिएको छ । एस पछिल्ला दिनमा निकै तनावपूर्ण अवस्थामा रहेको छ । पार्टी सञ्चालन र बचाउनमै समस्या देखिएको बेलामा प्रचण्डले माधव नेपालमाथि थप दबाब बढाउने नीति लिएको हुनसक्ने बताइन्छ । सार्वजनिक रुपमा बोलेर एसभित्रको मनोविज्ञानलाई थप कमजोर बनाउने र विभाजित गराउन खोजेको अर्थमा हेरिएको छ ।
वामदेव गौतमसँग रहेका धेरै नेताहरु माओवादी जाने तयारीमा रहेका थिए । जब गौतम एमालेमा जाने निर्णयसहित केपी ओलीसँग भेटघाट र छलफलमा लागेका थिए । त्यतिबेला केही नेताहरु माओवादी केन्द्रमा जाने निर्णयमा पुगेका थिए । ती नेताहरुले पत्रकार सम्मेलन गरेर नै भनेका थिए भने गौतमले पनि सोही कुरा उल्लेख गरेका थिए । तर, गौतम अहिले ‘केपी ओलीले हामीलाई सिध्याए’ भन्दै घर न घाटको अवस्थामा पुगेका छन् ।
गौतम एसमा जानेगरी अन्तिम निर्णयमा पुगेका बेला केपी ओलीले रोक्ने नीति लिएर एमालेसँग संवाद गराएका थिए । त्यसमा अलमलिएका गौतम न एमालेमा जान सके न एसमा । त्यसैले अहिले गौतम कसैको पनि विश्वासमा रहेका छैनन् । त्यही अवस्थामा रहेको एसका नेताहरु पनि एमालेमा फर्किने वा माओवादीतिर जाने दुईधारमा देखिएका छन् । एसलाई पार्टीको रुपमा विकास गर्न नसकिने भन्दै एसका नेताहरु ०८४ को चुनाव कुरेर बसेका छन् । त्यही कमजोर मनोविज्ञान भएको बेलामा प्रहार गरेर प्रचण्डले माधव नेपाललाई दबाबमा राख्ने गरी एकताका लागि दबाब दिन खोजेको अर्थमा पनि हेरिएको छ ।
प्रचण्डले सुर्खेत पुगेर एससहितका पार्टीसँग एकता गर्ने बताएका थिए । पछि वर्षमान पुनले पनि बताएका थिए । तर, अहिले एसभित्र उक्त विषयमा छलफल नै भएको छैन । विगतमा छलफल भएर पनि रोकिएको यो एकताको वार्ता तत्काल सुरु हुने संभावना पनि नदेखिएको एसका नेताहरु बताउँछन् । नेपाल आफै पनि एकता गर्ने पक्षमा नरहेको बताइन्छ । तर, प्रचण्ड भने निरन्तर नेपालमाथि दबाब बढाइरहेका छन् । त्यही दबाब बढाएर एमालेभन्दा पनि माओवादीमा ल्याएर शक्ति आर्जनको रणनीतिमा प्रचण्ड लागेको पनि बताइन्छ । एसको स्थायी कमिटी बैठकको ठिक अघि प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । त्यसैले पनि एसभित्र तरंग पैदा गर्ने टिप्पणी भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस