काठमाडौं । २०८१ फागुन महिनामा नेपाल सरकारका तीन जना विशिष्ट श्रेणीका सचिव अनिवार्य अवकासमा जाने तयारीमा रहेका छन् । अवकाश हुनेहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यतर्फका प्राविधिक सचिव डा. रोशन पोखरेल अग्रपंक्तिमा परेका छन् । उनीसहित तीनजना सचिव फागुन महिनाभित्रै सेवानिवृत्त हुनेछन् ।
पोखरेलसहित भुटानी शरणार्थी ठगी प्रकरणमा हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा परेपछि अतिरिक्त समूहमा राखिएका सचिव टेकनारायण पाण्डे पनि अवकाश हुँदैछन् ।
हाल, राष्ट्रिय योजना आयोगमा कार्यरत रहेका सचिव मधुकुमार मरासिनी पनि फागुनभित्रै अवकाश हुँदैछन । स्वास्थ्य सचिव रहेका पोखरेल, मन्त्रालयमा कार्यरत अर्का अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह र निलम्बित सचिव पाण्डे २०८१ फागुन १२ गते एकैदिन सेवा निवृत्त हुने सूचीमा परेका छन् ।
योजना आयोगका सचिव मरासिनी भने फागुन १६ गते अनिवार्य अवकास हुँदैछन । स्वास्थ्य सचिव पोखरेल सेवानिवृत्त भएसँगै फागुन १३ गतेपछि स्वास्थ्य सचिवमा कसले बाजी मार्ला भन्ने कौतुहलता बढेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार, हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेकी १२औं तहकी डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र टंक बाराकोटी सचिव बढुवाको प्रतिस्पर्धामा रहेका छन् । वाराकोटी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निवासी हुन् ।
त्यसकारण पनि यी तीनजना प्रतिस्पर्धीमध्ये कसले सचिवमा बाजी मार्ला अहिले नै अनुमान गर्न गाह्रो हुने स्रोतको भनाई रहेको छ ।
यही महिनामा आधा दर्जन बढी सहसचिवहरुसमेत उमेरहदका कारण अनिवार्य अवकासमा जाने भएका छन । शिक्षा सेवातर्फका सहसचिव दीपक शर्मा २०८१ फागुन २ गते शुक्रवार नै सेवानिवृत्त भइसकेका छन ।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह हाइवे उपसमूहका सहसचिव राजेन्द्रप्रसाद दास अर्कोसाता २०८१ फागुन ११ अवकाश हुनेछन् । सरकारी वकिलतर्फका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल पनि आगामी फागुन १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा दर्ज भएका छन् ।
प्रशासन सेवाका सहसचिव सूर्यप्रसाद सेढाई फागुन १६ गते र हाल विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव राजेन्द्र पराजुली पनि २०८१ फागुन १९ गते अवकासमा जाने भएका छन् । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस