काठमाडौँ । ०८१ माघ २९ गते मंगलबार सर्वोच्च अदालतले उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेको भन्दै पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । जसले गर्दा ताप्लेजुङस्थित पाथीभरा मन्दिर निर्माणमा जुटेको केवुलकार निर्माणकर्ताहरुको मनोवल उच्च हुन पुगेको छ । केवुलकार निर्माण गर्न नदिने आन्दोलनकारी पक्षलाई आघात पुग्ने गरी सर्वोच्च अदालतले मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ गर्न अस्वीकार गरेको छ ।
आदिवासी कानुन व्यवसायी संघकातर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । सर्वोच्च अदालत नियमावलीको नियम १८ (२) मा ‘उही विषयमा निम्न विषय उल्लेख गरिएको छ । जसमा कसैले यस्तै विषयमा यसअघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्था रहेका छ ।
सोही कानुनी व्यवस्थालाई आधार मानेर अधिवक्ता तामाङले पेश गरेको निवेदन दरपीठ भएको अदालत स्रोतले जनाएको छ । उता, पाथीभरा केवलकार निर्माणका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललगायतका व्यवसायीक समूहले लगानी गरेका छन् । पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार सञ्चालन तथा व्यवस्थापन गरिरहेको आईएमई ग्रुप तथा महासंघका अध्यक्ष ढकाल हजारौंलाई रोजगारी दिन लगानी गर्ने राष्ट्रिय पुँजीपति हुन् ।
उनी सम्वद्ध समूहले काठमाडौंको चन्द्रागिरी, नवलपरासीको मौलाकाली र लुम्बिनीलगायतमा केवलकार यातायात सेवाको व्यवसाय सफल रुपमा संचालन गरिरहेका छन् । सोही समूह पाथीभरा छिरेपछि यतिखेर हलचल मच्चिएको छ । स्थानीय तहमा रोजगारी सिर्जना गर्ने परियोजनाको नियोजित रूपमा विरोध गरिएको स्रोत बताउँछ । ढकालको समूह पाथीभरा छिरेदेखि नै स्थानीय बासिन्दाले विवाद सुरु गरेको बताइन्छ । काफ्ले पाटीदेखि पाथीभरा देवी मन्दिर नजिक करिब २.५ किलोमिटर लामो केवलकार बनाउन लागि परेका ढकालको समूहले उक्त क्षेत्रमा रोजगारी सिर्जना गर्नेगरी उपस्थिति जनाएको छ । उक्त केवलकार निर्माणका लागि पाथीभरा क्षेत्रमा आन्दोलनका घटना बढेपछि सुरक्षा व्यवस्था भने कडा बनाइएको स्रोतले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंक जनताको बैंक
यस्तै मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न अल्टिमेटम दिएका छन् । यी संस्थाहरूले ढकालको नेतृत्वमा चलिरहेको पाथीभरा दर्शन केवलकार प्रा.लिद्वारा पाथीभरामा केवलकार निर्माणको प्रयासलाई तत्काल रोक्नुपर्ने र स्थानीय जनताको धार्मिक आस्थामा अवरोध पु¥याउने कार्य बन्द गर्नुपर्ने माग गरेका छन् ।
उक्त समूहले ग्लोबल आइएमई बैंक जनताको बैंक भन्ने नबुझेर थोरै सेयर भएका चन्द्र ढकालको बैंक भन्दै भ्रम सिर्जना गरेर जनताको बैंकमाथि आक्रमण गर्ने उद्देश्यले बैंकका शाखा प्रबन्धकलाई पत्र लेखेर २०८१ माघ १९ गतेभित्र शाखा बन्द गर्न कानुन विपरीत अल्टिमेटम दिएका छन् ।
तीन अर्बमा केवलकार : आठदलीय मोर्चाको बिरोध
करिब तीन अर्ब रूपैयाँ लागत लाग्ने दावी गरिएको उक्त केवलकार हिमालयन कन्ट्रक्सनका ईन्द्र केदेमले १५ महिनाभित्र निर्माण सक्नेगरी काम अगाडि बढाएका छन् । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने उद्देश्यले त्यहाँ पुगेका यति ग्रुपका संस्थापक आङछिरिङ शेर्पा र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । यतिखेर ढकालको समूहले उक्त केवलकार निर्माणको जिम्मा लिएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस