• शनिबार-फाल्गुण-१०-२०८१

अर्थसहित सत्र सहसचिवको सरुवा : फेरि ठुलै लटमा सरुवा गर्ने तयारी

 

काठमाडौँ । ०८१ माघ २८ गते बसेको मन्त्रिपरिषद बैठकले १७ जना सहसचिवहरुको सरुवा गरेको छ । अर्थ मन्त्रालय र मातहत विभागमा कार्यरत दुई महानिर्देशकसहित थप तीन जना सहसचिवहरुको अन्यत्र सरुवा गरिएको छ । राजश्व प्रशासनका मुख्य निकाय मानिने आन्तरिक राजश्व र भन्सार विभागमा कार्यरत असक्षम दुई महानिर्देशक हरिशरण पुडासैनी र रामप्रसाद आचार्य एकै लटमा सरुवा गरिएका छन् । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यी दुई विभागमा कार्यरत असक्षम महानिर्देशकहरुलाई मन्त्रालयमा समेत नराखेर अन्यत्र निकायमा सरुवा गरेपछि यतिखेर अर्थ मन्त्रालयमा खैलाबैला नै मच्चिएको बताइन्छ ।


उता, सरकारले हालै जेष्ठताका आधारमा बढुवा गरिएका, विभिन्न मन्त्रालयमा रिक्त रहेका र स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतहरुमा खटाउनको लागि ठूलै लटमा सहसचिवहरुको सरुवा गर्ने तयारी गरिरहेको बुझिएको छ । केही दिन अगाडि बढुवा भएका सहसचिवलाई जिम्मेवारी दिन तत्परता नदेखाएको सरकारले विभिन्न निकायमा कार्यरत सहसचिवहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सूची तयार गरेर सरुवा गर्ने तयारी गरेको चर्चा सिंहदरवार परिसरमा हुने गरेको छ ।


माघ २९ गते मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम सरुवा भएकाहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका सहसचिव रामप्रसाद आचार्यलाई अर्थबाट बाहिर खेदेको छ । उनलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक रहेका सहसचिव हरिशरण पुडासैनीलाई भने राष्ट्रिय योजना आयोगमा फालिएको छ ।


अर्थ मन्त्री पौडेल र एमालेको रोजाईंमा परेर ती विभागको नेतृत्वमा खटाइएका दुवै सहसचिवलाई विभागबाट मात्र नभएर मन्त्रालयबाटै बाहिर खेदिएकाले पनि मन्त्रालयमा खैल्लाबैल्ला मच्चिएको समाचार स्रोतले बताएको छ । यस्तै, मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव दीर्घराज मैनालीलाई पनि मन्त्रालयबाट कामकाजविहीन राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ । वित्तीय क्षेत्र हेर्ने महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका नारायणप्रसाद रिसाललाई भने गृह मन्त्रालयमा खटाइएको छ । यसरी अर्थ मन्त्रालयबाट अन्यत्र सरुवा गरिएका तीन सहसचिवको दरवन्दीमा भने नयाँलाई भित्र्याइएको छ ।


अर्थमा भित्रिने भाग्यमानी सहसचिवहरुवमा मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका तीर्थराज चिलुवाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीचन्द्र साह र महिला आयोगमा कार्यरत सहसचिव पार्वती अर्याल रहेका छन् । साह सूचना प्रविधि विज्ञ सहसचिव मानिन्छन् । संघीय मामिला मन्त्रालयका सूचना प्रविधि विज्ञ राजकुमार गोइतलाई भने शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव पुष्कर प्रसाद पोखरेलको पनि सरुवा शहरी विकास मन्त्रालयमा गरिएको छ ।


कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट प्रेमकुमार सिंहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा खटाइएको छ । लुम्बिनी प्रदेश भूमि मन्त्रालयमा कार्यरत सचिव नम्रता सिंहको सरुवा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गरिएको छ । परराष्ट्र मन्त्रालयमा कार्यरत सहसचिव उदय बहादुर रानालाई बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवमा खटाइएको छ ।


सहसचिव राम चरित्र मेहेतालाई इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट संघीय युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयबाट इञ्जिनियरिङ सेवातर्फका सहसचिव पुष्करप्रसाद पोखरेल र राजकुमार गोइतलाई भने शहरी विकास मन्त्रालयमा खटाइएको छ । राष्ट्रिय सूचना आयोगमा कार्यरत सहसचिव कमल प्रसाद भट्टराईलाई भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।


संघीय मामिला मन्त्रालयबाट सूचना प्रविधि विज्ञ सहसचिव आदेश खड्कालाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ । योजना आयोगमा कार्यरत रहेका सहसचिव यज्ञराज कोइरालालाई भने कृषि तथा पशुपंक्षी मन्त्रालयमा खटाइएको छ । राष्ट्रिय किताब खानामा उपमहानिर्देशक रहेका युवराज पौडेललाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा सरुवा गरिएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
 
 

प्रतिकृया दिनुहोस