काठमाडौं । सानोतिनो कुरामा ढंगमा नपुग्दा कतिसम्म हानी हुन्छ भन्ने कुरा पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनमा भएको दुर्घटनाले देखाएको छ । शनिबार उद्घाटनको क्रममा बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
उद्घोषकले भनेअनुसार रिमोटबाट दीप प्रज्वलन गरेपछि आचार्य भ्रमण वर्षको लोगो अनावरण गर्नतर्फ लाग्दा बेलुनलाई झिरझिरेले भेट्यो र पड्कियो । बेलुन पड्किसकेपछि महानगरप्रमुख आचार्यको गालामा आगोको लप्काले भेट्यो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्काले भेट्यो ।
महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगेर प्राथमिक उपचार गरिसकेपछि अहिले काठमाडौँ ल्याएर बर्न अस्पतालमा उपचार गरिरहेको बताइन्छ । दुर्घटना कहिले पनि चाहेर र मिति तोकिर हुँदैन । तर पनि कतिपय कुरामा अगाडि नै सम्यमित भइएन भने त्यसले ठूलो क्षति हुन सक्छ ।
झिरझिरे बलिरहेको ठाउँमा हाइड्रोजन ग्यासले भरिएको बेलुन छेउमा लैजाँदा उक्त दुर्घटना हुन पुगेको जानकारहरु बताउँछन् । जिम्मेवार व्यक्तिलाई ज्ञान नभएर वा आयोजक टिमले ध्यान नदिँदा यस्तो भएको यो भने खुल्नै बाँकी छ ।
कतिपयले त बेलुन कतै नियोजित त होइन ? भन्दै शङ्का गर्न थालेका छन् ।
यधपी यो दुर्घटना हुनुको मुख्य कारण जिम्मेवार व्यक्तिबाटै हेल्चेक्र्याइँ भएको धेरैको टिप्पणी छ ।



