काठमाडौं । सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुको गुटगत सम्बन्ध रोचक मोडमा पुगेको छ । संस्थापन इतर समूहमा रहेको नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धमा त फरक आउन थालेकै थियो तर पछिल्ला दिनमा अर्को महामन्त्री विश्वप्रकाश शर्मा पनि फरक देखिन थालेका छन् ।
पछिल्ला दिनमा सरकारलाई सफल बनाउने प्रयासमा महामन्त्री थापा सक्रिय रहेका थिए । सरकारका हरेक महत्वपूर्ण निर्णयमा थापाको सक्रिय भूमिका हुने गरेको थियो । बीआरआई कार्यान्वयन सम्झौता गर्ने बेलामा होस् वा अध्यादेश ल्याउने बेलामा होस् । ती सबै भूमिका महामन्त्री थापा अगाडि देखिएका थिए ।
थापाले कानून व्यवसायी सेमन्त दाहाललाई अगाडि सार्ने गरेका थिए । महामन्त्री थापाले यस्तो गर्नुको मुख्य कुरा चाहिँ सभापति शेरबहादुर देउवालाई फकाउनेसँग जोडिएको थियो । सभापति देउवालाई फकाएर आफूले विश्वास जित्न सकेको खण्डमा आउने महाधिवेशनमा सभापतिको उम्मेदवार हुन पाइन्छ कि भन्ने थापाको लाइन देखिन्छ । यो कुरा बजारमा सहज र सकरात्मक प्रतिक्रिया आएपछि गगनले ती काम गर्वका साथ स्वीकार गरेका थिए र विरोधको प्रतिवाद पनि गरेका थिए ।
कतिपय सन्दर्भमा सेमन्त दाहाललाई अगाडिसारेका पनि थिए । तर, पछिल्ला दिनमा उनी हच्किएका छन् । सरकारले ल्याएका कतिपय विवादका विषयमा भने उनी पर सर्ने र चोखो बन्न खोज्ने शैली अपनाउन थालेका छन् । अहिले सामाजिक सञ्जाल विधेयकको विरोध भएपछि गगनले पनि आलोचना गरेका छन् ।
तर, पुरै विरोध गर्ने कित्तामा पनि उभिएका छैनन् र समर्थन गर्न पनि सकेका छैनन् । अर्को महामन्त्री विश्वप्रकाश शर्मा भने उक्त विधेयकको चर्को विरोधमा देखिएका छन् । यो विषयमा यी दुई महामन्त्रीवीच दुई धारजस्तो देखिएको छ । शर्मा चर्को विरोधमा देखिने र थापा विरोध त गर्ने तर चर्को नगर्ने लाइनमा रहेका छन् । किनभने सरकारको अपजसको भारी चाहिँ आफ्नो पोल्टामा नपरोस् भन्ने लाइनमा देखिएका छन् ।
त्यसैले गगन थापाको दोहोरो चरित्रको चर्चा सरकारको सन्दर्भमा मात्रै भइरहेको छैन । आफ्नै गुटमा पनि भइरहेको छ । गगन शेखर कोइराला समूहबाट अलग भएर गतिविधि गरिरहेका छन् । अनि त्यही समूहमा भएको पनि बताइरहेका छन् ।
कोइरालाले गुटको भेला नगरेको गगनको प्रतिक्रिया रहेको छ तर कोइरालाले बोलाउँदा पनि गएका छैनन् । कोइरालासँग एक वर्षदेखि बोलाचालसमेत नगरेका थापाले आफ्नै गुट निर्माणको प्रयास पनि गरिरहेका छन् । कोइराला समूहमा रहेको आफ्नो पक्षका नेताहरुलाई साथमा लिएर नयाँ गुट बनाउने अभियानमा लागेका थापाको मक्सद सरकारलाई गर्ने व्यवहारमात्र होइन, उपचुनावको समयमा पनि स्पष्ट देखिएको कांग्रेसभित्र चर्चा हुन थालेको हो ।
त्यसैले, अहिले कोइराला समूहबाट छुुट्टिने र नयाँ गुट निर्माण गर्ने वा सभापति देउवाकै विश्वास जित्न लाग्ने वा कोइरालालाई नै फकाउने कि यी तीनथरी सोचमा महामन्त्री गगन थापाले काम गरिरहेको पनि कांग्रेसमा चर्चा भइरहेको छ ।
शेखर कोइराला समूहले हिजोजस्तो विश्वास गर्न भने छोडेको छ र यो समूहले उनलाई नेता मानेर कार्यक्रममा बोलाउन पनि छोडेको छ । त्यसैले, अहिले गगन आफ्नै शक्ति निर्माणको प्रयास गर्न थालेका छन् । त्यो प्रयास मुख्यगरी आउने स्ववियुको चुनावमा प्रकट हुने संभावना रहेको पनि बताइन्छ । उनले छुट्टै समूह बनाएर स्ववियु चुनावमा नेविसंघभित्र राजनीति गर्ने संभावना देखिन थालेको चर्चा भइरहेको छ । त्यसो भएमा चाहिँ शेखर कोइराला समूह छोडेको पुष्टि हुनेछ ।
प्रतिकृया दिनुहोस