काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई किनारा लगाउन थालिएको छ । पार्टीले जारी गरेको अपानिमासमेत भुसाललाई कमजोर बनाएको भन्दै एकीकृत समाजवादीमा चर्चाको विषय बनेको छ । दुुई साता अघि एस दलले अपानि जारी गरेको थियो । भुसाललाई महासचिव भएर पनि संगठन विभागको जिम्मेवारी दिइएको छैन । उक्त विभागको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ ।
बेदुराम भुसालले उक्त जिम्मेवारी पाएपछि अध्यक्ष माधव नेपालले घनश्यामलाई कमजोर बनाउने रणनीति सफल भएको ठान्ने गरेका छन् । एसभित्र चलेको चर्चा अनुसार, अध्यक्ष नेपालले महाधिवेशन अघि नै भुसाललाई कमजोर बनाउन खोजेका थिए । जुन दिन अध्यक्षका लागि भुसालले प्रयास गरेका थिए, त्यही दिनदेखि नेपालले उनलाई किनारा लगाउने प्रयास थालेका थिए । स्रोतहरुका अनुसार, त्यतिबेला नै पनि नेपालले भुसालबारे ‘पर्खाैं न’ भन्दै महाधिवेशनमा नेताहरुलाई सुनाउने गरेका थिए ।
अध्यक्षका लागि अन्तिमसम्म सहमतिमा ल्याउन प्रयास गरेका नेपालले अहिले भुसालमाथि नै बज्र प्रहार गर्न थालेपछि उनीनिकटका नेताहरु भने आतंकित हुन थालेका छन् । भुसालनिकट नेताहरुको जिम्मेवारी खोस्ने काम पनि अध्यक्ष नेपालले गरेका छन् । आरती लामा भुसाल निकट भएकै कारण उनको जिम्मेवारी अपानिमार्फत खोसिएको पनि बताइन्छ । लामासहित तीनजना केन्द्रीय सदस्यको जिम्मेवारी खोसिएको एसका नेताहरु बताउँछन् ।
यता, भुसाललाई कमजोर बनाउन उनलाई जिम्मेवारी त दिइएन नै निकट नेताहरुको जिम्मेवारीसमेत खोसिएपछि एसका नेताहरुमा भने अब जसोतसो एमालेमा फर्किने संभावना बढेको चर्चा भइरहेको छ । (साँघु साप्ताहिक,२०८१ माघ २८)
प्रतिकृया दिनुहोस