काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा तीन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) रिक्त हुन पुगेको छ । ०८१ माघ २१ गते सोमबार नौ नं पशुपति बाहिनीका बाहिनीपति डिआईजी किशोर प्रधान पाँचवर्षे पदावधि पूरा गरेर अनिवार्य अवकास गएका छन् । उनले एआईजी दरबन्दी थप गरेर बढुवा हुन तीव्र रुपमा लबिङ र चलखेल नगरेका पनि होइनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखक सकारात्मक नहुँदा उनको इच्छा भने पूरा हुन सकेन ।
०८१ भदौ १६ गते डिआईजीहरू अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिकै कारण अनिवार्य अवकास गएका थिए । यी दुई डिआईजी पदमा ५ महिना भन्दा बढी समयदेखि बढुवा नगरी रिक्त राखिएको छ । अब भने सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले रिक्त तीन डिआईजी बढुवाका लागि प्रकृया अगाडि बढाउने तयारी गरेको बुझिएको छ । सो पदमा बढुवाका लागि सबै भन्दा वरिष्ठ एसएसपी कृष्णराज पाठक, मनिष थापा, कृष्ण ढकाल, प्रदीप कँडेलले जोडबल गरिरहेको बताइएको छ । उनीहरुका अलावा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ दीपेन्द्र बहादुर कुवँरले पनि शक्तिको बलमा जोड गरिरहेको स्रोत बताउछ ।
एसएसपी पाठकसँगै एसएसपीमा बढुवा भएका व्याजीहरू सुरेश श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह, पुरूषोत्तम थापा, दीपक अधिकारी डिआईजी भएको दुई वर्ष बितिसकेको छ । तर, पाठकलाई भने बढुवामा पछि पारिएको गुनासो संगठनभित्र हुने गरेको छ । तल्लो ब्याचका एसएसपी दीपेन्द्र बहादुर कुँवरलाई डिआईजीमा बढुवा गर्ने योजना मुताबिक लामो समय दुई डिआईजी दरबन्दी रिक्त राखिएको आशंका पनि फोर्सभित्र चल्दै आएको छ ।
२०८१ भदौ १६ गतेदेखि डीआईजीको दरबन्दी खाली राखेर हालसम्म सरकारले बढुवाको निर्णय किन गर्न सकेको छैन भन्ने प्रश्न पनि उठ्दै आएको छ । अब हुन लागेको तीन डिआईजी बढुवाका लागि सशस्त्र प्रहरीकै पहिलो ब्याच सि. सं. १ टोलीका चार जना सिनियर एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइएको छ । यो टोलीका प्रतिस्पर्धीहरुलाई प्राथमिकता नदिई सबै भन्दा जुनियर एसएसपी कुँवरलाई एक नम्वर डिआईजीमा बढुवा गरेर संगठनमा भावी आईजीपीको लाइनमा राख्ने योजनामा सरकार स्वयम् लागेको आरोप केही प्रहरी अधिकृतहरुले लगाएका छन् । (साँघु साप्ताहिक, २०८१ माघ २८)
प्रतिकृया दिनुहोस