काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया विवाद झन्भन्दा झन् चर्किन थालेको छ । उपकुलपति रहिसकेका भोला थापा र रजिस्टार तथा कामु उपकुलपति अच्युत वाग्लेका कारणले विवाद छताछुल्ल भएको पनि चर्चा भइरहेको छ । एमाले र कांग्रेसले लगाएको भाग अनुसार काठमाडौं विश्वविद्यालय कांग्रेसको भागमा परेका कारणले पनि समस्या भएको हो । प्रतिस्पर्धी र दलहरुवीच विवाद नमिलेका कारण उपकुलपतिको नियुक्ति प्रक्रिया नै लम्बिएको छ । वाग्ले–थापाको विवाद लम्बिरहेका बेलामा अन्य प्राध्यापकहरु पनि मैदानमा उत्रिएका छन् । अहिलेको छनौट समितिविरुद्ध ७ जना प्राध्यापकहरु खुलेर विरोधमा आएका छन् । १६ जना प्रतिस्पर्धी प्राध्यापकहरुमध्ये ७ जनाले कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
छनौट समितिका संयोजक सुरेशराज शर्माको विभेदपूर्ण व्यवहारका कारणले उनीहरु विरोधमा देखिएका हुन् । शर्माले भोला थापाको पक्षमा लविङ खुलेआम गरेपछि वाग्लेहरुले अनौपचारिक रुपमा विरोध गरेका थिए । तर, अहिले वाग्लेबाहेका ७ जना जनाले पत्र नै बुझाएपछि भने अर्को समस्या थपिएको छ । थापालाई उपकुलपति बनाउँदा पहिला पनि केपी ओली नै प्रधानमन्त्री थिए । एमाले सांसद गोकुल वास्कोटाको पहलमा उनी उपकुलपति भएका थिए । अहिले भने बास्कोटा मौन बसेका छन् । हुनलाई आर्थिक सम्बन्धसहितको प्रभाव आरजु देउवामार्फत कांग्रेससँग निकट रहेर थापाले काम गरिरहेको भएपनि सभापति शेरबहादुर देउवा भने अहिलेसम्म थापाको पक्षमा देखिएका छैनन् । सोहीकारण नियुक्ति प्रक्रिया अगाडि नबढेको स्रोत बताउछ । स्रोतका अनुसार, एमाले र कांग्रेसको नेतृत्व भने संयोजक शर्माको राजीनामा पनि कुरिरहेका छन् ।
शर्मा संयोजक भएपछि तीन चारवटा विवादमा एकसाथ देखिएका छन् । धुलिखेल अस्पतालको विवाद सल्टाउनका लागि रामकण्ठ माकाजु र भोला थापावीचको विवाद मिलाउने, भााञ्जालाई प्रतिस्पर्धीको सूचीमा पारेको र भोला थापालाई कामु उपकुलपति बनाउन पनि लिखित पत्र नै बुुझाएको लगायतका कारणले शर्मा विवादमा तानिएका थिए । उनको निष्पक्षतामा प्रश्न उठाएर प्रतिस्पर्धीले लिखित पत्र प्रधानमन्त्रीलाई बुझाइसक्दा पनि शर्माले राजीनामा दिएका छैनन् । शर्माको राजीनामा कुरिरहेको सरकार भने तत्काल हटाउन पनि चाहेको छैन ।
शर्माको बद्नामी हुन दिनुभन्दा आफै छोडुन भन्ने भएकोले पनि अहिले समस्या भएको बताइन्छ । प्रक्रिया लम्बिरहेका कारणले केयु विश्वविद्यालयभित्र पनि राजनीति घुस्न थालेको आरोप लाग्न थालेको छ । त्रिविमा अति राजनीति भएको भन्दै आलोचना भएका बेलामा काठमाडौं विश्वविद्यालयमा पनि त्यही अवस्था आउन थालेको भन्दै प्राध्यापकहरु भने चिन्तित रहेको बताइन्छ । आफैले बनाएको विश्वविद्यालयमा आफैले बद्नामीको बिउ रोप्ने बाटोमा लागेको भन्दै शर्माको आलोचना प्राध्यापकहरुबाटै हुन थालेको छ । (साँघु साप्ताहिक, २०८१ माघ २८)
प्रतिकृया दिनुहोस