• शुक्रबार-माघ-२५-२०८१

नेपालमा रोहिंग्या किन बढे ?

 

काठमाडौं । म्यान्मारबाट सन् २०१२ देखि खेदिएका रोहिंग्या मुसलमान शरणार्थी नेपालमा आउनेक्रम नरोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । अघिल्लो सातामात्र मोेरङ जिल्लासिथत विराटनगरको जोगवनी नाका हुँदै अवैध रूपमा शेवकात अरा, जमिला खातुन र मोरीउम खातुन नामका तीन जना महिला काठमाडौं भित्रिएका छन् । उनीहरुले संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायोगमा नाम दर्ता गराएको बुझिएको छ । त्यसपछि उनीहरु अवैध रूपमा कपन क्षेत्रमा बसोबास गर्न थालेको नेपाल प्रहरी निकट स्रोतले जानकारी दिएको छ ।


नेपाली भाषा नजान्ने र हिन्दी भाषा पनि बोल्न नजान्ने ती महिलाहरु २०, २२ र ७० वर्षे उमेरका रहेको बताइएको छ । उनीहरु विराटनगरदेखि रात्री बसमा काठमाडौं आइपुग्दा पनि कुनै पनि सुरक्षा निकायहरूले सूचना नपाएको बताइन्छ । त्यसकारण पनि उनीहरू पक्राउ पर्नुको साटो सजिलै काठमाडौं भित्रिन सफल भएका छन् । सुरक्षा निकायले पक्राउ गरी जताबाट आएको हो उतै फिर्ता गर्न नसक्नुले मुलुकको सुरक्षा व्यवस्था कस्तो छ भन्ने विषयलाई छर्लङ्ग पारिदिएको छ । 


काठमाडौंको कपन र ललितपुरको सुनाकोठीमा अहिले ४ सय ५० भन्दा बढी रोहिंग्या शरणार्थीहरू अवैध रूपमा बसोवास गरिरहेको गृह स्रोतले दावी गरेको छ । तीमध्ये २५ जना शरणार्थीहरू मधेस प्रदेशतिर गएर उतै हराएको पनि सुरक्षा स्रोतले दावी गरेको छ । उनीहरू भारत प्रवेश गरे कि नेपालका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका मुस्लिम बाहुल्य क्षेत्रमा बसोवास गरिरहेका छन् एकिन हुन सकेको छैन । उनीहरुले पनि तिब्बतियन र भुटानी शरणार्थीहरूले जस्तै नेपाली नागरिकता लिएको दावी स्रोतको रहेको छ । त्यति हुँदासमेत यो विषयमा सुरक्षा निकायहरूले पत्ता पाउन नसकेको विषयलाई आश्चर्यको रुपमा हेरिएको छ ।


नेपालमा विगत १३ वर्षदेखि अवैध रूपमा बस्दै आएका म्यान्मारका रोहिंग्या मुसलमान शरणार्थीहरूलाई युएनएचसिआर, अमेरिका, बेलायत, चीन, साउदी अरब, पाकिस्तानजस्ता मुलुकहरूले सहयोग गर्दै आएका छन् । यसको अलवा अन्तर्राष्ट्रिय रेडक्रसले आर्थिक, शैक्षिक, भौतिक पूर्वाधार, खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आएको छ । कतिपय मुलुकहरुले उनीहरुलाई आफ्नो मुलुकको भू–राजनीतिक गतिविधिमा प्रयोग गर्ने गरेको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ माघ २१) 
 

प्रतिकृया दिनुहोस