• शुक्रबार-माघ-२५-२०८१

माओवादीमा नन्दकिशोर पुनको हंगामा !

 

काठमाडौं । माओवादी केन्द्रमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको राजनीतिक सक्रियताको विषय निरन्तर पेचिलो बन्दै गइरहेको छ । पुनलाई पार्टीमा के जिम्मेवारी दिने भन्ने विषयमा सहमतिको बिन्दु भेटिएको छैन । पुनको विषय पेचिलो बन्दै गएका कारणले नै माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गर्न नसकेको पनि बताइन्छ । केही साताअघिको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा माओवादी नेताहरुको कार्यविभाजन गर्ने सहमति जुटेको थियो । 


कार्यविभाजन गर्न सहमति जुटेको त्यो बैठकमा नन्दकिशोर पुनको बसाईले माओवादीभित्र अहिलेसम्म हंगामा गराएको छ । नन्दकिशोर पुनलाई अध्यक्ष प्रचण्डले त्यसदिनको बैठकमा उपाध्यक्ष सोसरहको कुर्सीमा बसाएका थिए ।  त्यही बसाईपछि माओवादीभित्र अन्य नेताहरु चर्को विरोधमा देखिएका छन् ।  विरोध बढ्दै गएका कारणले कार्यविभाजनमा समस्या आएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्मा र वर्षमान पुन अहिले नन्दकिशोर पुनको जिम्मेवारीको विषयमा एक ठाउँमा उभिएका छन् ।

 

उपाध्यक्ष सोसरहको कुर्र्सीमा बसाएका कारण वर्षमान र जनार्दनले आफूभन्दा जुनियरलाई किन उपाध्यक्ष सोसरहको कुर्सीमा राखेका भनेर प्रश्न उठाएका छन् । दुई कार्यकालसम्म उपराष्ट्रपति हुने अनि अहिले सीधै उपाध्यक्ष बनाउने प्रयासको चर्को आलोचना गर्नेमा अहिले वर्षमान र जनार्दन शर्मा देखिएको माओवादी स्रोतको भनाइ छ । उनीहरुले पार्टीमा काम नगरेको, संवैधानिक सुविधा लिएको र जुनियरलाई उपाध्यक्ष स्वीकार्न नसकिने बताइरहेका छन् । त्यसैकारणले प्रचण्ड पछिल्ला दिनमा अलमलमा परेको पनि बताइन्छ । नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको प्रयासमा जनार्दन र वर्षमानले सभामुख अग्नि सापकोटालाई पनि एक्कासी उपाध्यक्ष बनाउने भन्दै आलोचना गरिरहेका छन् । 


त्यसैले, अहिले नन्दकिशोर पुनले माओवादीभित्र लफडा ल्याउने स्थिति बनेपछि पुनले पनि जनार्दन शर्मा र वर्षमान पुन पटकपटक मन्त्री र सांसद भएर पाएको सुविधामाथि प्रश्न उठाएका छन् । नन्दकिशोर पुनले जम्माजम्मी एकपटक उपराष्ट्रपति भएर सरकारी सुविधा लिएको तर जनार्दन र वर्षमानले प्रचण्डसँग बार्गेनिङ गरेर पटकपटक मन्त्री भएको भन्दै पुनले पनि पार्टीभित्र प्रश्न उठाएका छन् । 


 त्यसैले, एकले अर्कोमाथि अवसरको प्रश्न उठाएर माओवादी नेताहरुले एकले अर्कोलाई खुइल्याउने र कमजोर बनाउने प्रयास गरिरहेका छन् । त्यसमा प्रचण्डले पनि आनन्द लिएर नै नेताहरुको कार्यविभाजनप्रति मौनजस्तै देखिन थालेका छन् । प्रचण्डको मौनताले गर्दा वर्षमान र जनार्दन पनि नन्दकिशोरलाई पन्छाउन सकिएको बुझाइमा बसेका छन् । (साँघु साप्ताहिक, २०८१ माघ २१) 

प्रतिकृया दिनुहोस