काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जडित छ । नेपाल प्रहरीका २६औं महानिरीक्षकका रूपमा सेवा दिएका खनालका परिवारका सदस्यहरू पनि प्रमुख राजनीतिक भूमिकामा थिए । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजनीतिक पृष्ठभूमि हरेक हिसावले नेपाली कांग्रेससँग जोडिएको पाइन्छ ।
सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६औँ प्रहरी महानिरीक्षक हुन् । उनका सहोदर दाजु सुवीर खनाल गिरिजा प्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका थिए । सर्वेन्द्र खनालका आफ्नै सुसुरा पूर्व गृह सचिव पदम प्रसाद पोखरेल गिरिजा प्रसाद कोइरालाका प्रिय रहेका थिए । जसले गर्दा पोखरेल भन्सार विभागको डीजी र पछि गृहसचिव समेत गिरिजा प्रसाद कोइरालाकै कृपाले भएका थिए ।
पूर्व आइजीपी सर्वेन्द्र खनालका आफ्नै सुसुरा पूर्व गृह सचिव पदम प्रसाद पोखरेल र दाजु सुवीर खनालको शक्तिका कारण प्रहरीका विभिन्न पदमा रहँदा अनेक अवसर हासिल गर्नुका साथै नेपाल प्रहरीको २६औँ प्रहरी महानिरीक्षक बन्न सफल पनि भए ।
पूर्व आइजीपी सर्वेन्द्र खनाल खनाल २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरे लगत्तै अध्यक्ष केपी ओलीको प्रिय पात्र बनेर सर्वेन्द्र खनाल(हाल ५८ वर्षीय) २०७९ साल मंसिरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट काठमाडौं–६ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भए । फेरि २०८० वैशाख १० गते सम्पन्न तनहुँ–१ उपनिर्वाचनमा अध्यक्ष केपी ओलीले एमालेका सबै त्यागी नेताहरु, कार्यकर्ताहरूलाई पन्छाउँदै एमालेको तर्फबाट सर्वेन्द्र खनाललाई नै टिकट दिएर उम्मेदवार बनाए ।
केही समय अघिदेखि सरकार, प्रधानमन्त्री ओलीका विरुद्ध मिडियामा उग्र र धुँवाधार मन्तव्य दिंदै आएका सर्वेन्द्र खनालले एक महिना अघि २०८१ पुस २१ गते एमाले त्यागेको बताएका थिए । सर्वेन्द्र खनालले एमाले त्यागेको घोषणा गरेको केही हप्तापिछ नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रिय पात्र बन्न सफल भएका छन् र महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रको उच्च् स्रोतका अनुसार, अध्यक्ष प्रचण्डसँगको भेटघाट र छलफलपछि पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माओवादी केन्द्रमा औपचारिक रुपमा प्रवेश गरेका छन् र हाललाई यो कुरा गोप्य राख्ने सहमति भएको माओवादी केन्द्रको विश्वस्त स्रोतले साँघु संवाददातलाई बतायो ।
स्रोतका अनुसार, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले माओवादी केन्द्रमा प्रवेशका साथसाथै उनले विशेष महत्वको जिम्मेवारी समेत पाएका छन् । स्रोतका अनुसार, माओवादी केन्द्रले अब गर्ने आन्दोलन(सडक संघर्ष)मा पूर्व प्रहरी महानिरीक्षक खनालले पूर्व सुरक्षाकर्मी परिचालनको जिम्मेवारी पाएका हुन् ।
स्रोतका अनुसार, पूर्व प्रहरी महानिरीक्षक खनालले माओवादी केन्द्रबाट हुने सडक संघर्षमा पूर्व सुरक्षाकर्मी परिचालनको जिम्मेवारी पाएपछि उनी पूर्व सुरक्षाकर्मी परिषद नेपालमा पनि प्रवेश गरेका छन् ।
नेपालमा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र स्थापनाका लागि संघर्षरत अध्यक्ष कोमल बहादुर राउत(केबी) तथा पदाधिकारीहरूसँग भेटघाट र छलफल गरेर पूर्व सुरक्षाकर्मी परिषद् नेपालको संरक्षक पदवी समेत हासिल गरेको पूर्व सुरक्षाकर्मी स्रोत बताउछ ।
माओवादी केन्द्रमा प्रवेश गरेका र महत्वपूर्ण जिम्मेवारी पाएका पूर्व सुरक्षाकर्मी परिषद् नेपालको संरक्षक पदवी समेत हासिल गर्न सफल पूर्व प्रहरी महानिरीक्षक खनालले अहिले सडक संघर्ष चर्काउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा भने नबोकौं भनेर पूर्व सुरक्षाकर्मी परिषद् नेपाललाई सुझाव दिएको स्रोत बताउछ ।
यसरी, पूर्व आइजीपी खनालको राजनीतिक यात्रा एकदमै चक्रीय रहेको देखिन्छ, जहाँ उनले एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रमा नयाँ भूमिका लिएका छन् । अब, उनका आगामी कदमहरूले नेपाली राजनीति र विशेषगरी माओवादी केन्द्रको भविष्यलाई कस्तो प्रभाव पार्ने छ भन्ने कुरा चाहिं प्रतिक्षाको विषय भएको छ । (साँघु साप्ताहिक, २०८१ माघ २१)
प्रतिकृया दिनुहोस