• शुक्रबार-माघ-२५-२०८१

संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्तावका लागि समिति गठन 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ । विहीबार नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले वोर्ड वितरण गर्ने निर्णय गरेको हो ।


 शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको हो । यसका लागि ३१३ थान बोर्डहरु खरिद गरिएका छन् । 


वैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । 


यसमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये एकजना, स्थायी शिक्षकहरुमध्ये आधारभूत र माध्यमिक तहबाट एक जना पर्ने गरी २ जना सदस्य शिक्षा समितिले मनोनयन गर्ने व्यवस्था छ । यसअनुसार बाल व्यवसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गाना, कुलेश्वर माध्यमिक विद्यालयका माध्यमिक तहका गणित शिक्षक मञ्जु मगराती र विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका निम्न माध्यमिक तहका नेपाली शिक्षक विष्णुहरि अधिकारी मनोनित भएका छन् ।

यस्तै संस्थागत विद्यालयका शिक्षकहरुमध्ये ज्ञानमन्दिर माध्यमिक विद्यालयका शिक्षक रविन वस्नेत र अभिषेक ज्ञान मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्याम योञ्जन मनोनयन भएका छन् । समितिको सदस्य सचिवमा विभागबाट परीक्षा हेर्ने अधिकृत रहने छन् । 

 

समितिले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्ताव समिति गठन गरेको छ । शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष चिनीकाजी महर्जन, दिनेश महर्जन र विनोदकुमार राजभण्डारी समितिको सल्लाहकार हुन्  । 

 

आयोगका सहायक विज्ञ सस्मित पोखरेल, शिक्षा अधिकृत रुक्मिला इटनी, अभिभावक संघको अध्यक्ष वा सदस्य वा त्यस्तो संघ नभएमा अभिभावकहरुमध्ये २ जना मनोनित, महानगरपालिका स्तरीय प्याब्सन, एनप्याब्सन, शिक्षा विभागको इञ्जिनियर समितिको सदस्य हुन् । समितिको सदस्य सचिवको काम शिक्षा विभागका प्रमुखले गर्नेछन् । 


मापदण्डका आधारमा विद्यालयको वर्गीकरणको प्रारुप तयार पार्ने, शुल्क सम्बन्धी शिफारिस तयार पार्ने, शुल्कबमोजिम सेवा सम्बन्धी अवस्था अध्ययन गरेर शिक्षा समितिमा पेश गर्ने दायित्व समितिलाई दिइएको छ । समितिले अभिभावकको भूमिका पहिचान गर्ने, विश्लेषण गर्नेछ । 

 

शिक्षक दरबन्दी मिलान सम्बन्धी प्रस्तावमा बैठकले छलफल गरेको थियो । काठमाडौँ महानगरपालिकाको दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम गठन गरिएको ‘दरबन्दी मिलान समिति’ ले शिक्षा समितिमा प्रतिवेदन पेश गरेको छ । प्रचलित व्यवस्था र शिफारिसका बुँदा आपसमा बाझिएकोले २०८१ वैशाख ९ गते बसेको नगर शिक्षा समितिको बैठकले सहरी योजना आयोगका विज्ञ सदस्य इञ्जिनियर झाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । यो समितिले प्रमुख समक्ष प्रतिवेदन पेस गरिसकेको छ । 

 

प्रतिवेदनको शिफारिस र प्रचलित व्यवस्थाबमोजिम शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण तालिकालाई स्वीकृतिका लागि नगर कार्यपालिकाको वैठकमा प्रस्ताव पेश गर्ने समितिले निर्णय गरेको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भाद्र ४ गतेको निर्णय, नेपाल सरकारको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ दरवन्दी मिलानसँग सम्बन्धी व्यवस्था हुन् । 
 

 

प्रतिकृया दिनुहोस