• शुक्रबार-माघ-२५-२०८१

बुढासुब्बा गोल्डकप फुटबल : उपाधिका लागि एनआरटी र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने

 

धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।

 

एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो । चर्च ब्वाइजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् । 


यस सिजनमा खेलेको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए । ‘यस सिजनमा हामी फर्ममा छौँ यस अगाडि खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भने ।’ चर्च ब्वाइज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए । 


यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए । 

 

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाई उपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताए ।  

 

धरान रङ्गशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस