• शनिबार-माघ-१२-२०८१

क्रान्तिकारीको महाधिवेशन नै भाँड्ने धम्की 

 

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन निकै रोचक हुने देखिएको छ । अध्यक्षका लागि दाबेदार पनि दर्जनभन्दा बढी नेताहरु देखिएका छन् । अनि, ३२ बर्ष उमेर हद लागु भएपछि बाहिरिएका नेताहरुको व्यवस्थापनले गर्दा पनि चुनाव रोचक बन्ने संकेत  देखिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनामा क्रान्तिकारीमा ३२ बर्षे उमेर हद लागु भएको हो । ३२ बर्षे उमेर हद  लागु भएपछि क्रान्तिकारीका ६ सयभन्दा बढी विद्यार्थी नेताहरु बाहिरिएका छन् । विद्यार्थी राजनीतिबाट बाहिरिएका ती नेताहरुको जिम्मेवारी अब के हुने ? त्यस आधारमा आगामी चुनावको रौनक बन्न थालेको हो । 


उमेर हदका कारण बाहिरिएका विद्यार्थी नेताहरुले पार्टी कमिटीहरुमा जिम्मेवारी खोजिरहेका छन् । पदाधिकारी भइसकेका विद्यार्थी नेताहरुले भने केन्द्रीय सदस्यमा दाबी गरेका छन् । उनीहरुको दाबीमा पार्टीले केही बोलेको छैन तर अघिल्लोपटक १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका कारणले त्यही नजिर देखाएर अहिलेका पदाधिकारीले दाबी गरिरहेका छन् । पार्टीमा जिम्मेवारी नपाउने हो भने क्रान्तिकारीको अधिवेशन नै विथोल्ने भन्दै हल्लाखल्ला भइरहेको छ । त्यसैले पनि अधिवेशन रोचक हुने चर्चा भइरहेको छ ।

 

त्यसो त, अध्यक्षका लागि कम्तीमा ६ जनाले दाबी गरिरहेका छन् । नविन उपाध्याय, रोशन थापा मगर, प्रविना अधिकारी, सुरेश राईलगायतका विद्यार्थी नेताहरुले अध्यक्षमा दाबी गरिरहेका छन् । योमध्ये सबैभन्दा सिनियर भने प्रविना अधिकारी हुन् । उनी उपाध्यक्ष रहेकी थिइन् । उपाध्यक्षहरुमध्ये अधिकारीमात्रै ३२ बर्षे उमेर हदभित्र परेकी नेतृ हुन् । ३२ बर्षे उमेर हद नाघेर विदाईमा परेका विद्यार्थी नेताहरुले पार्टीसँग बार्गेनिङ बढाउन थालेपछि माओवादी केन्द्रमा कार्यविभाजन प्रभावित हुने देखिएको छ । (साँघु साप्ताहिक, २०८१ माघ ७)

प्रतिकृया दिनुहोस