• शनिबार-माघ-१२-२०८१

क्षतिग्रस्त पुल निर्माणमा साढे दुई अर्ब लाग्ने : बाढीले बगाएका पुल कहिले बन्छन् सरकार ?

 

काठमाडौं । ०८१ असोज ११ देखि १३ गतेसम्म परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १६ रणनीतिक हिसावले महत्वपूर्ण पुलमा क्षतिग्रस्त हुन पुगेको थियो । यो सहित मुलुक भरका क्षतिग्रस्त पुल निर्माणका लागि २ अर्ब ५० करोड भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।

 

सडक विभागअन्तर्गतको पुल महाशाखाले विस्तृत अध्ययन गरी तयार पारेको प्रारम्भिक लागत अनुमानअनुसार क्षतिग्रस्त पुलको पुन निर्माण गर्न न्यूनतम रुपमा उक्त बजेट आवश्यक रहेको बताइएको छ । तर, यो अंक अहिले प्रारम्भिक अनुमान मात्रै रहेको र विस्तृत परियोजना प्रतिवेदन र डिजाइनपछि बास्तविक लागत खर्च अझै बढनसक्ने सम्भावना रहेको बताइन्छ ।


राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार बाढी र पहिरोका कारण सबैभन्दा बढी भौतिक पूर्वाधार संरचनातर्फ क्षति भएको थियो ।

 

प्राधिकरणको प्रतिवेदन अनुसार भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख ३५ हजार रुपैयाँ बरावरको क्षति भएको थियो । जसमध्ये विभिन्न महत्वपूर्ण राजमार्गअन्तर्गत १ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको ४४ वटा विभिन्न पुलहरु क्षतिग्रस्त भएको थियो । बाढी पहिरोका कारण मुलुकभरको सडकमध्ये ४१ वटा सडक खण्डमा क्षति पुगेको थियो ।


यस्ता सडक पुनः निर्माण गर्न कम्तिमा २७ अर्ब ९८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षमा क्षतिग्रस्त प्रमुख सडक खण्ड र पुल पुनर्निर्माण गर्न  बजेटको अभाव रहेको छ ।

 

बजेट अभावका कारण चालु आर्थिक बर्षमै क्षतिग्रस्त सडकसहित पुल निर्माण कार्य अगाडि  बढ्ने सम्भावना न्युन रहेको सडक विभागस्रोतले जानकारी दिएको छ । यसका लागि विभागले मन्त्रालयमार्फत ९ अर्ब ६६ करोड रुपैयाँको खाका बनाएर अर्थ मन्त्रालयसँग बजेट माग गरेको बताइएको छ ।


अहिलेसम्म बजेटको सुनिश्चितता आएको छैन । जसले गर्दा चालु आर्थिक वर्षमा खासै नयाँ ठेक्काको काम अघि बढ्ने अवस्था न्यून रहेको बिभागस्रोतले जनाएको छ । बजेटको जोहो भएपनि सबै प्रक्रिया पूरा गर्दा आगामी चैत मसान्त अगावै  टेण्डर आह्वान हुने सम्भावना न्यून देखिन्छ । टेण्डर गरेको खण्डमा पनि मूल्याकंन गरेर ठेक्का संझौता गर्दा नर्या आर्थिक वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।


कुन कुन जिल्लाका पुल क्षतिग्रस्त ?


विभागको अध्ययन र डिपीआर प्रतिवेदनअनुसार ओखलढुङ्गाको सुनकोशी खोला पुल, खार्ते खोला पुल र मोलुङ्ग खोला पुल क्षतिग्रस्त भएको छ । भोजपुरको सुनकोशी खोला पुलको हालत पनि खराव हुन पुगेको छ ।

 

खोटाङ्ग, उदयपुर र सिन्धुलीको एक–एक गरी तीनवटा पुलमा क्षती पुगेको प्रतिवेदनमा उल्लेख छ । सुनकोशी पुल, काभ्रेप्लाञ्चोकको रोशी खोला पुल, चितवनको त्रिशुली खोला पुल पनि मर्मत गर्नुपर्ने डिपीआर प्रतिदेनमा जनाइएको छ ।


धादिङको त्रिशुली पुल, नवलपरासीको नारायणी पुललगायत बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको थियो । बाढी पहिरोले कोशी, वागमती र लुम्विनी प्रदेशमा सबैभन्दा बढी क्षति पुर्याएको बतााइन्छ । अबिरल वर्षापछि आएको बाढी र पहिरोले मुख्य राजमार्गसहित सहायक राजमार्ग र पुलमा ठूलो क्षति पुर्याएको प्राधिकरणले जनाएको छ ।  सडक बिभाग पुल महाशाखाका अनुसार क्षतिग्रस्त १६ पुलमध्ये सबैभन्दा बढी विपी राजमार्गमा पुलमा पुगेको छ ।


विपी राजमार्गमा मात्रै ३ वटा महत्वपूर्ण पुल निर्माण गर्न न्यूनतम ८७ करोड रुपैयाँ बजेट आवश्यक रहेको स्रोतले बताएको छ । विपी राजमार्गको १ सय मिटर लम्बाई भएको सुनकोशी खोला पुल निर्माण गर्न ३० करोड लाग्ने अनुमान गरिएको छ ।

 

मध्यपहाडी राजमार्ग र विपी राजमार्ग जोड्ने १ सय मिटरको सिन्धुरेटार पुल निर्माणका लागि करिव३० करोड लाग्ने प्रतिवेदनमा उल्लेखछ । सुनकोशी खोला ९० मिटर र खैरेनीघाट पुल निर्माण गर्न २७ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।


पुल महाशाखाले र डिजाइन, पुल निर्माण, एप्रोच सडक, रिटेनिङ्गवालसहित प्रति मिटर पुल निर्माण कार्यका लागि  न्यूनतम ३० लाख रुपैयाँको दरले थप लागत खर्च हुने दावी गरेको छ । यस्तै, पुल सेक्टर धरानअन्तर्गत दुई वटा पुल निर्माण गर्नुपर्ने भएको छ । १ सय २० मिटर लम्बाई भएको सुनकोशी नदी पुल फोक्सिङ्गटार निर्माण कार्यका लागि ३६ करोड लाग्ने अनुमान गरिएको छ । करिव ४५ मिटर लम्बाई भएको हेवा खोला पुल निर्माण गर्न १३ करोड ५० लाख लागत अनुमान गरिएको छ । 


यसैगरी, पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत तीनवटा पुल पुननिर्माण गर्नुपर्ने भएको छ । जसअनुसार २५ मिटर लम्बाई भएको फलामे खोला पुल निर्माण गर्न ७ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । २५ मिटर लम्वाई रहेको नुवा खोला पुल निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ लागत खर्च लाग्ने भएको छ ।

 

सोही राजमार्गअन्तर्गतको २० मिटर लम्बाई भएको ओयम खोला पुल निर्माण गर्न भने ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


यी स्थानको हालत पनि उस्तै


दोलखास्थित चरिकोट डिभिजनअन्तर्गत २७ करोड ६० लाख रुपैयाँ लागतमा तीन वटा पुल निर्माण गर्नुपर्ने जारी प्रतिवेदनमा उल्लेख गरिएको छ । लार्चा ४५ मिटर लम्वाई रहेको वेलीब्रीज मर्मतका लागि १३ करोड ५० लाखको लागत अनुमान गरिएको छ । उक्त पुल तत्कालै निर्माण कार्य गर्ने तयारी अगाडि बढाइएको छ । ३० मिटरको खाग्दल बेलब्रीजको लागि करिव ९ करोड लागत अनुमान गरिएको छ । १७ मिटरको लिपिङ्ग खोला पुल निर्माणको लागि ५ करोड १० लाख लागतमा अनुमान गरिएको छ ।


पुल महाशाखाका अनुसार बाढीका कारण क्षतिग्रस्त भएको कान्ति राजमार्गको ८७.५५ मिटरको बागमति वगुवा खोला पुल निर्माण गर्न २६ करोड २६ लाख ५० हजार लागत लाग्ने भएको छ । महेन्द्रनगरको ७ मिटर लामो सुदा खोला पुल निर्माण गर्न २ करोड १० लाख र उत्तर दक्षिण कोशी सडक अन्तर्गत २० मिटर लामो इकुवा खोला पुल निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । इलामस्थित ४९ मिटर लामो हेवा पुल निर्माण गर्न १४ करोड ७० लाख र ३५ मिटर लामो राते खोला पुल निर्माण गर्न १० करोड ५० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।


बिभागस्रोतले दिएको जानकारीअनुसार क्षतिग्रस्त भएको पुलका कारण यातायात अवरुद्ध भएको उक्त सडक खण्ड पुन सञ्चालनमा ल्याउन तत्कालको लागि एकमात्र बिकल्प बेलीव्रीज जडान नै बिकल्प रहेको छ । १६ वटा पुल पुननिर्माणका लागि स्रोत सुनिश्चित हुन सकिरहेकोे छैन । जसले गर्दा तत्काल निर्माण थालनी गर्ने अवस्था नभएको स्रोतले दावी गरेको छ ।

 

पुर्ननिर्माणको बिकल्पमा तत्काल ती स्थानमा बेलीव्रीज निर्माण गरेर यातायात सुचारु गर्नुपर्ने पुल महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वलाई सुझाव दिएको बताइन्छ । पुल महाशाखाको सुझावको आधारमा मन्त्रालयले केहि स्थानमा बेलीब्रीज जडान गरी अस्थायी डायभर्सन निर्माण गरी सडक सुचारु गरेको छ ।


यी १६ पुलमध्ये चरिकोटस्थित खाग्दल खोला र खुर्कोटअन्तर्गत सिन्धुरेटार खोलामा अहिले अस्थायी रुपमा बेलीब्रीज जडान गरी बाटो सुचारु गरिएको छ । बेलीब्रीज निर्माण गर्न पनि ४४ करोड बजेट आवश्यक पर्ने बताइएको छ । तर, अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गर्न नसक्दा निर्माण कार्यमा ढिलाई भइरहेको छ ।

 

भौतिक मन्त्रालयले भने अघिल्लो वर्षको दायित्व भूक्तानी गर्दा चालु आर्थिक वर्षमा नयाँ ठेक्का लगाउन सकिने अवस्था नरहेको बताउँदै आएको छ । निर्माण व्यवसायीहरुले अझै सरकारले निर्माण सम्पन्न भएको आयोजनाहरुको करिव १२ अर्व रकम भुक्तानी गर्न बाँकी रहेको दावी गर्दै आएका छन । (साँघु साप्ताहिक, २०८१ माघ ७) 
 

प्रतिकृया दिनुहोस